जलवायु परिवर्तनका कारण मुस्ताङमा शीतोष्ण फलफूलको फूल फुल्ने समयमा परिवर्तन

हिमाल प्रेस २६ फागुन २०८१ १४:११
12
SHARES
जलवायु परिवर्तनका कारण मुस्ताङमा शीतोष्ण फलफूलको फूल फुल्ने समयमा परिवर्तन

मुस्ताङ- मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा रहेका बोटहरूमा यसवर्ष झपक्कै फूल फुलिरहेका छन्। घरपझोङ–२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका विभिन्न प्रजातिका फलफूलका बोटहरू यतिखेर सेताम्मे भएका छन्। विगतका वर्षहरूमा भन्दा यसवर्ष शीतोष्ण फूलहरू केही हप्ता ढिलो फुल्न थालेका छन्।

मुख्य रूपमा, मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल र तरकारीको उत्पादन, बीउ र बिरुवा उत्पादन गर्ने कार्य गर्दै आएको छ। यस केन्द्रले जिल्लामा स्याउ खेतीको विकासको सुरुवात गरेको थियो। यो केन्द्रले मुस्ताङमा विभिन्न जातका फलफूलको बीउ र बिरुवा उत्पादन गर्ने साथै फलफूल उत्पादनमा पनि ध्यान पुर्याइरहेको छ। यहाँका कृषकहरूको आर्थिक विकास र जीवनस्तर सुधार्न केन्द्रले योगदान पुर्‍याइरहेको छ।

वसन्त ऋतुको आगमनसँगै यहाँका शीतोष्ण फलफूलका बोटहरू झपक्कै फूल फुल्न थालेका छन्। केन्द्रले उत्पादन गर्ने हाईचिलिङ जातका कागजी बदाम, आरु, आरुबखडा र खुर्पानी जस्ता फलफूलका बोटहरू फूल फुल्दै मुस्कुराउन थालेका छन्। यसरी अत्यधिक चिस्यान चाहिने फलफूलका बोटहरू फूल फुलेपछि पर्यटकहरू आकर्षित हुँदै आएका छन्। तर, यहाँका स्याउका बोटहरू चैत्र महिनाको अन्तिम वा वैशाख महिनामा मात्र फूल फुल्न सुरु हुने केन्द्रले जानकारी दिएको छ।

केन्द्र प्रमुख पद्मनाथ आत्रेयका अनुसार, जिल्लाको बागवानी विकास केन्द्र र अन्य किसानहरूले उत्पादन गर्ने फलफूलका अधिकांश जातहरू अहिले फूल फुल्ने चरणमा छन्। केन्द्रमा उत्पादन हुने फलफूलका जातहरूमा उच्च चिस्यानको आवश्यकता पर्ने जातहरू समावेश छन्, जसले ८०० देखि १,००० घण्टा चिस्यानको आवश्यकता पर्ने बताए। केन्द्रमा मुख्य रूपमा पाइने फलफूल जातहरूमा कागजी बदाम (ने प्लस अल्ट्रा जात), आरु (एक अर्ली रेड जात र ओराइन जात), आरुबखडा (मिथ्ले र सान्तारोजा जात) र खुर्पानी (सक्करपारा जात) पर्छन्।

समुद्री सतहदेखि १,८०० मिटर उचाइदेखि ३,००० मिटरसम्मका उच्च भूगोलमा उत्पादन हुने यी फलफूलहरूमा हालको जलवायु परिवर्तनले प्रतिकूल प्रभाव पार्न थालेको छ। आत्रेयका अनुसार, जलवायु प्रभावका कारण जमिनको तापमान वृद्धिका कारण फूल फुल्ने क्रम छिटो भएको छ। आत्रेयले भने, ‘बर्सेनि मुस्ताङको तल्लो क्षेत्रमा उत्पादन हुने फलफूलका जातहरू माथि सर्दै जान थालेका छन्।’ उनले अनुकूल समयमा एकदुई फेरि आंशिक हिउँ र तुषारोका कारण मार्फा र जोमसोम क्षेत्रमा यसको असर पर्न थालेको बताए।

केन्द्रले हरेक वर्ष गुणस्तरीय बिरुवा उत्पादन गर्दै आएको छ र यस प्रकारका फलफूललाई प्रशोधन गरी ब्रान्डी, जाम र सुकुटी तयार गर्ने कार्य पनि गर्दै आएको छ। साथै, आरुबखडाको वाइन र कागजी बदामको बिरुवा उत्पादन पनि केन्द्रले गर्दै आएको छ।

प्रकाशित: २६ फागुन २०८१ १४:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast