श्रमिककै पैसामा तारे होटलमा रोजगार सम्मेलन!

रमेश भारती २६ फागुन २०८१ १५:५४
258
SHARES
श्रमिककै पैसामा तारे होटलमा रोजगार सम्मेलन! श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सोमबार काठमाडौँमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, श्रममन्त्री शरत्‌सिंह भण्डारीलगायत। तस्बिर : रासस

काठमाडौँ-  सरकारले आयोजना गरेकाे राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा  श्रमिककै पैसामा खर्च गरेको पाइएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा जम्मा भएको रकमबाट सम्मेलन आयोजना गरेको हो। कोषमा वैदेशिक रोजगारीमा गएका कामदारले रकम संकलन गर्दै आएका छन्।

सम्मेलनका लागि उक्त कोषको कम्तीमा सातदेखि १० करोड खर्च हुने अनुमान श्रम मन्त्रालयका अधिकारीहरूले गरेका छन्।

मन्त्रालयले भने कोषबाट खर्च गरेको विषयमा केही खुलाएकाे छैन। राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको स्रोत कहाँबाट जुट्यो र प्रायोजक को हो भन्ने जिज्ञासामा श्रम मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले केही बताएनन्। उनले सम्मेलनको खर्च र उपलब्धि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताए। गत वर्ष पनि तत्कालीन श्रममन्त्री डोलप्रसाद अर्यालले श्रमाधान मेलाका  लागि कोषकै रकम खर्च गर्दा आलोचित भएका थिए। कोषको रकम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कामदारको हकमा बाहेक अन्यत्र प्रयोग गर्न नपाइने व्यवस्था छ।

वैदेशिक रोजगार बोर्डका अधिकारीहरूका अनुसार सम्मेलनको खर्च कल्याणकारी कोषबाट गरिएको छ। कोषकै पैसाले रोजगार सम्मेलन गर्ने गरी छलफल भएको र सोहीअनुसार पैसा निकासीको तयारी भइरहेको बोर्डका एक उच्च कर्मचारीले जानकारी दिए। श्रम मन्त्रालयले यसअघि २०५४, २०६१, २०६९ र २०७६ सालमा श्रम तथा रोजगार सम्मेलन आयोजना गरिसकेको छ। यी सम्मेलनबाट श्रम मन्त्रालयले आन्तरिक रोजगारीमा महत्त्वपूर्ण भूमिका खेल्न सकेको छैन।

यसपटकको सम्मेलनमा रोजगारी सिर्जना गर्ने भूमिकामा रहेका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल होटल संघ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, ट्रेड युनियन प्रतिनिधि, नेपाल सुन–चाँदी व्यवसायी संघ, रिटर्नी कामदारलगायत करिब ३ दर्जन संस्था र विज्ञहरूसहित पाँच सयको सहभागिता रहेको श्रम मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले आन्तरिक रोजगारी वृद्धि गरी वैदेशिक रोजगारीमाथिको बढ्दो निर्भरता कम गर्ने उद्देश्यका साथ पाँचौँ  राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गरिएको बताए। पुष्कर सम्मेलन मूल समारोह समितिका संयोजक हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाडौँको याक एन्ड यती होटलमा सम्मेलन उद्घाटन गरे। प्रधानमन्त्रीले सम्मेलनले देशमा रोजगारीको नयाँ मार्गचित्रको सिर्जना गर्ने र यसबाट श्रमिकले फाइदा लिने बताए। आन्तरिक रोजगारीमा वृद्धि गरी वैदेशिक रोजगारीमाथिको बढ्दो निर्भरतालाई घटाउँदै जानुपर्ने बताउँदै प्रधानमन्त्रीले आन्तरिक रोजगारी सुधार्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन्।

मंगलबार समापन हुने सम्मेलनमा आन्तरिक रोजगारी सिर्जनाका लागि सम्भावित क्षेत्रको पहिचान र प्रवर्धनन, नेपालमा रोजगार सेवा तथा सुविधाको विकास र विस्तार, श्रम आप्रवासन व्यवस्थापनका विषयमा छलफल हुनेछ।

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन श्रमशक्तिको उपयोग गर्न सिर्जनात्मक रोजगारी बढाउने क्षेत्रको पहिचान तथा प्रवर्धन र वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको यथोचित प्रयोगमा केन्द्रित रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सचिव पुष्करका अनुसार रोजगार सम्मेलन रोजगारदाता, रोजगारी सिर्जना, सीप तालिम, सीप विकास, प्रविधिको सिर्जनात्मक अभ्यास, वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजी जोड्न लक्ष्यका साथ योजना बनाइएको छ।

श्रम सम्मेलनका सहभागी।

सचिव पुष्करले रोजगार सम्मेलन ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’का लागि भइरहेको बताए। सम्मेलनमा रोजगारी सिर्जना, सीप तालिम, प्रविधिको सिर्जनात्मक अभ्यास र पुँजीगत छलफल हुनेछ। सम्मेलनको उद्देश्य ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ रहेको उनको दाबी छ।

पाँचतारे होटलमा सम्मेलन गरेर उद्देश्य पूरा हुन्छ त भन्ने जिज्ञासामा उनले श्रमिकका र रोजगारीको विषयमा छलफल गरी त्यसका आधारमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्देश्यअनुसार काम हुने बताए। विगतमा पनि यसरी नै सम्मेलन भएको उनले बताए।

समितिले नेपालमा श्रम शक्तिको उपयोग गर्न सिर्जनात्मक रोजगारी बढाउने क्षेत्रको पहिचान तथा प्रवर्धन र वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको यथोचित प्रयोगमा केन्द्रित हुनुको सट्टा तारे होटलमा सम्मेलन आयोजना गरेर खर्च मात्रै बढी गरेको आरोप श्रम मन्त्रालयमाथि लागेको छ।

मन्त्रालयका अधिकारीहरू पनि राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन खर्चमै समिति हुने बताउँछन्। मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘सम्मेलनबाट केही प्रगति होला जस्तो देखिएन। कार्यक्रमको उद्देश्यविपरीत तारे होटलमा सम्मेलन आयोजना गरिएको छ।’

रोजगारविज्ञ डा. गणेश गुरुङ वैदेशिक रोजगारीमा लैंगिक मुद्दा, यस क्षेत्रका चुनौतीसँगै सुधारका विषय, पुँजी प्रविधिको उत्पादनमा प्रयोग, सूचना प्रविधिको विकासजस्ता विषयमा छलफल हुनु राम्रो पक्ष भएको बताउँछन्। उनले कतिपय विषय रोजगारी र श्रमिकका मुद्दाभन्दा पनि बाहिर गएर छलफल गर्न खोजिएको बताए। यसका कारण राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनले दिन खोजेको उद्देश्य पूरा नहुन सक्ने उनको बुझाइ छ। ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्नु राम्रो विषय हो। आयोजकले सम्मेलनको मार्गचित्रमा ध्यान दिनुपर्छ। उद्देश्यअनुसार सम्मेलन गर्नुपर्छ। हामीले सरकारलाई दिने सुझाव यही हो’, उनले भने।

प्रकाशित: २६ फागुन २०८१ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast