
सुर्खेत- जाजरकोटमा आगलागीमा परेर एक बालकको जलेर मृत्यु भएको छ। जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ८ साँक्ट निवासी जनकबहादुर रोकायको घरमा आइतबार राति करिब १२ बजे खाना पकाउने चुलोबाट आगो सल्किएर आगलागी हुँदा रोकयाका १२ वर्षीय छोरा अमर रोकायको मृत्यु भएको हो।
आगलागीमा परि रोकाया र उनकी श्रीमती बिजुली रोकाय समेत घाइते भएका छन्। ७ जनाको परिवार रहेको घरमा अरू सबै भागेर ज्यान बचाउन सफल भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार आगलागीबाट ढुंगा, माटो र खरले छाएको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट खाद्यान्न, लत्ता कपडासहित १ लाख २५ हजार नगदसमेत जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।
घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरिक्षक हरिराम डाँगीको कमाण्डमा ७ जनाको टोली खटाइएको छ।