
काठमाडौँ- दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ को गीत ‘इन्द्रेणी’ सार्वजनिक भएको छ। स्मारिका फुयाँलको स्वर रहेको गीतमा प्रवेश मल्लिकले संगीत भरेका छन्।
धीरेन्द्र प्रेमर्शीको शब्द रहेको गीतकाे भिडियाेमा मधेशको सेटअपमा छायांकन गर्दै कथा वाचनको रुपमा प्रस्तुत गरिएको छ।गीतको भिडियामा फिल्मका प्रायः कलाकार देखिएका छन्। फिल्ममा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ।
फागुन २४ मा जनकपुरमा फिल्मको रेड कार्पेट प्रिमियर गरिएको थियो। प्रिमियरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार शाह, एसपी भूवनेश्वर तिवारी, चलचित्र विकास बोर्ड मधेश प्रदेशका कार्यवाहक अध्यक्ष अशोक दत्त, मानव अधिकारकर्मी, अभियन्ता र फिल्ममा आबद्ध जनकपुरका कलाकारहरुले हेरेका थिए।
फिल्म हेरिसकेपछि अधिकांशले प्रमुख पात्र ‘पूजा सर’को राम्राे बनेकाे प्रतिक्रिया दिए। उनीहरुले महिलाहरु पूजा, सर जसरी नै आँटिलो, जोशिलो अनि हिम्मतिलो हुनुपर्छ, अहिलेका महिलाहरु कमजोर छैनन् भन्ने देखाउन खोजेको बताए।
फिल्म आगामी चैत १ देखि देशैभरका हलमा लाग्नेछ।