
पोखरा– अवैधरुपमा क्रिप्टो करेन्सी कारोबार, अनलाइन जुवा सट्टेबाजीमा संलग्न रहेको आरोपमा पोखरामा ५ जना युवा पक्राउ परेका छन्। पक्राउ परेका सबै आफन्त नाताका पर्दछन्।
पर्वतको जलजला स्थायी घर भई हाल पोखरा–१४, अनुपमटोलस्थित ३१ वर्षीय रुपेन्द्र जिसीको घरबाट ती युवाले उक्त कारोबार गर्दैआएको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा जिसीसहित म्याग्दीको बेनी ५ का ३३ वर्षीय विक्रम बानियाँ, बेनी–२ का २२ वर्षीय सज्जन घिमिरे, म्याग्दीकै रघुगंगा–२ का १९ वर्षीय रोजन केसी र रघुगंगा–२ कै २८ वर्षीय सन्दीप कटुवाल छन्। विक्रम र सज्जन घरधनी रुपेन्द्रका फुपूको छोरा नाताका पर्दछन्। अर्का, रोजन सानीआमाको छोरा हुन् भने सन्दीप बहिनीज्वाइँ हुन्।
विक्रमले पोखराको चिप्लेढुंगामा फेन्सी पसल चलाउँछन् भने सन्दीपले फुट स्टेप नामक कन्सल्टेन्सी चलाउँछन्। अर्का, रोजन र सञ्जन स्नातक पढ्दै छन्।
पोखरा–१४, अनुपम टोलस्थित रुपेन्द्र जिसीको घरबाट उक्त कारोबार भइरहेको सूचनाका आधारमा नेपाल प्रहरीको प्रदेश कार्यालय पोखरा र कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाको कमाण्डमा संयुक्तमा प्रहरी टोलीले उनीहरुलाई शुक्रबार साँझ ५ बजे पक्राउ गरेको हो।
यसबारे जानकारी दिन आइतबार कास्की प्रहरीले पत्रकार सम्मेलन गरेको थियो। पत्रकार सम्मेलनमा कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले उनीहरुले आफ्नो र आफन्तको नाममा विभिन्न बैंकहरुमा खाता खोली अवैध कारोबार गरेको बताए।
सामाजिक सञ्जाल ह्वाट्स एप, टेलिग्राम, क्यास एप, क्राइम एप लगायतमार्फत तत्काल प्राप्त विवरणअनुसार सट्टेबाजीमा १५ करोड र अभौतिक मुद्राको १५ करोड गरी ३० करोड बराबर कारोबार भएको पाइएको छ।
१० वर्षदेखि अमेरिकामा काम गर्दैआएका रुपेन्द्र आइटी इन्जिनियर हुन्। पीएचडी गर्दै गरेका उनी १ महिनाअघिमात्र छुट्टीमा पोखरा आएको खुलेको छ।
उनी साढे तीनतले घरबाट दैनिक तीन सिफ्टमा उक्त अनलाइन खेल खेलाउने गर्दैआएका थिए। जसमा एक सिफ्टको ३ हजार डलरसम्म लिने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी शर्माले जानकारी दिए।
उनीहरुको साथबाट प्रहरीले ३१ थान मोबाइल बरामद गरेको छ। यस्तै, दुईवटा कम्प्युटर मनिटर, ३ थान सिपियू, ४ थान ल्यापटप लगायत विभिन्न उपकरण एवं ७२ हजार ५ सय नगद बरामद गरेको छ।
उनीहरुलाई अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको उनले बताए।