
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा फेरि अस्थिरता जन्माउन खेल भइरहेको बताएका छन्।
आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकमा विशेष सम्बोधन गर्दै उनले अस्थिरता जन्माउने खेल भएकाले प्रमुख राजनीतिक दलहरू यसविरूद्ध उभिएकामा धन्यवाद दिए।
प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा दिइएको अभिव्यक्ति आश्चर्यलाग्दो भएको उल्लेख गर्दै भावनामा बगेर देश नबने प्रस्ट पारे।
पूर्वराजालाई कुर्सीमा बसाउने हल्ला चलाइएको बताउँदै उनले कोही कसैलाई कुर्सीमा बसाइदिँदैमा शासक नबने जिकिर गरे।
‘पूर्वराजालाई लगेर सिंहासनमा बसाउने, नारायणहिटी छिराउने भन्ने पनि चलाइएको छ। कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ? जनताले मानिदिन परेन?,’ ओलीको प्रश्न थियो,‘राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएर राष्ट्रपतिका रूपमा हुनुहुन्छ। अरू कसैलाई कुर्सीमा राख्दैमा कोही राजा हुने हो र?’
प्रधानमन्त्री ओलीले वर्तमान संविधान कुनै वयक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताए।
उनले जनताको बलिदानपूर्ण र लामो संघर्षबाट बनाइएको संविधानले प्रबन्ध गरेको व्यवस्थाको मर्म र भावनालाई सम्मान गर्दै लोकतान्त्रिक विधि र पद्धतिमा हिँड्न सबैलाई आग्रह गरे।
ओलीले अहिले दुई ठूला दलको सहमतिबमोजिम सरकार बनेको र सहमतिबमोजिम आफूले पूर्वघोषणाअनुसार सत्ता हस्तान्तरण गर्ने दोहोर्याए।