
काठमाडौँ– केही दिनयता राजसंस्थाको माग गर्दै सडक आन्दोलन भइरहेको छ। राजावादी समूह पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनरागमन गराउनुपर्ने माग राख्दै कहिले सडक र्याली त कहिले ‘विशाल’ जनप्रदर्शन गरिरहेका छन्। उनी जहाँ पुग्छन् त्यहाँ स्वागत र बिदाइमा पनि समर्थकहरूको भीड लागेको देखिन्छ।
समर्थकहरू ‘राजाको नासो, राजालाई नै फिर्ता गर्नुपर्ने’ मागसहित सडकमा उत्रिरहेका छन्। दलीय रूपमा राप्रपा र राप्रपा नेपालले साथ दिइरहेका छन्। वर्षौँसम्म शासनमा रहेको एउटा शक्तिका समर्थक पनि धेरै कालसम्म रहन्छन् नै।
२०६२/०६३ को आन्दोलनपछि भएको संविधानसभाको पहिलो चुनावले नेपालमा २४० वर्ष लामो शाहवंशीय राजतन्त्र अन्त्य भएको थियो। अन्तिम राजा ज्ञानेन्द्रले ‘जनताको नासो’ जनतालाई नै छाडेको भन्दै राजगद्दी छाडेका थिए। अहिले जनताको नासोको माग गर्दै राजावादी समूहहरू प्रदर्शनमा उत्रिएका छन्।
गणतन्त्र स्थापनामा अहिलेका प्रमुख दलहरूको जति भूमिका छ त्यति नै भूमिका गणतन्त्रप्रति जनतामा नैराश्य उत्पन्न गराउन दलहरूकै छ। त्यसैले राजनीतिक दलले सङ्लो र इमानदार राजनीति नगरेसम्म परम्परागत शक्तिले टाउको उठाउन खोज्नु अस्वाभाविक होइन। यहाँचाहिँ राजतन्त्र फर्कनेमा राजावादीहरूको कतिको विश्वस्त छन् भन्ने बारेमा चर्चा गर्न खोजिएको छ।
सडकको प्रदर्शन हेर्दा राजतन्त्र समर्थक जनलहर बाक्लो देखिन्छ। केही दिनअघ काठमाडौँमा राप्रपाले राजतन्त्रको समर्थनमा निकालेको मोटरसाइकल र्याली होस् वा आइतबार पोखराबाट काठमाडौँ उत्रिएका ज्ञानेन्द्रको स्वागतमा उत्रिएको भीड होस्। यी दुवै घटनाले राजतन्त्रका समर्थकहरूलाई बल पुगेको छ। तर राजतन्त्र पुनर्स्थापनाका लागि भनेजति सजिलो छैन।
प्रजातन्त्र दिवसका दिन फागुन ७ मा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको एक सन्देशले राजावादी समूह तातेको हो। ज्ञानेन्द्रले सन्देशमा देश संकट जाँदा चिन्ता परेको र टुलुटुलु हेरेर नबस्ने सन्देश छाडेका थिए। उनले राष्ट्र संकटमा रहेकाले संकट टार्न सबै एकजुट हुने बेला आएको बताएका थिए।
ज्ञानेन्द्रले देश जोगाउनका लागि आफूलाई साथ दिन समेत अनुरोध गरेका थिए। सोही सन्देशकै कारण तातेका राजावादीहरू पूर्वराजाको सन्देशलाई गम्भीरतापूर्वक लिन खबरदारी गर्दै सडकमा उत्रिएका छन्।
लामो समयदेखि राजतन्त्रको वकालत गरेका पूर्वपञ्चहरूको पार्टी राप्रपा र राप्रपा नेपाल सडक आन्दोलनमा छन्। मेडिकल व्यवासायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान खोलेका दुर्गा प्रसाई पनि सडक आन्दोलनमा छन्। यसका अतिरिक्त हिन्दु धर्मसँग सम्बन्धित विभिन्न संघसंस्था समेत राजाका पक्षमा सडकमा देखिएका छन्। राप्रपाको दुवै घटक जनमत दह्रो भएको पार्टी होइनन्। दुर्गा प्रसाई आफैँ विवादस्पद व्यवसायी हुन्। यिनै दुई समूह सनातन हिन्दुवादीहरूको आस्थामा बल पुग्ने खालका अभिव्यक्ति दिँदै आएका छन्। सोही कारण सडकमा राजावादीको भीड बढी नै देखिएको हो।
राजाको समर्थनमा आन्दोलन ज्ञानेन्द्रको अभिव्यक्तिपछि मात्र सुरु भएको चाहिँ होइन। राप्रपाले यसअघि नै महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको थियो।
राप्रपा अहिले सोही समितिमार्फत आन्दोलनमा छ। राप्रपाले सहरसहरमा जनलहर ल्याउने दाबी नेताहरूको छ। राप्रपाले आफू मात्र नभई अन्य राजावादी समूहलाई समेत सामूहित आन्दोलनमा होमिन आह्वान गरेको छ। सोही आह्वान मान्दै दुर्गा प्रसाई समूहसहित अन्य संघसंगठन पनि आन्दोलनमा मिसिएका छन्। राजावादीहरूको एकता सडकमा देखिएजस्तो सहज छैन न त आन्दोलनको मार्गचित्रै नै स्पष्ट छ।
इतिहासबाटै टुटफुट र विभाजन बनेका राप्रपा एक हुने सम्भावना छैन। यद्यपि पूर्वराजाको सन्देशलाई मान्दै एक बनेको दाबी गर्ने लहर छ। यही कारण पनि राप्रपा र प्रसाई समूह एकै पटक सडकमा देखिएका छन्। उनीहरू सार्वजनिक रूपमा अब निर्णायक आन्दोलनमा होमिएको र राजतन्त्र ब्युँताउने दाबी गरिरहेका छन्।
के राजतन्त्र फर्किन सम्भव छ? यदि फर्किए पनि यति छिट्टो सम्भव छ? यो प्रश्नको जबाफ राजावादी समूहहरूसँग पनि एउटै छैन। किनभने कुनै समूह तत्काल फर्किने आस गर्छ भने कोही एजेन्डा समाएर अघि बढेकाले कुनै दिन निष्कर्षमा पुगिने दाबी गर्छन्। यसका अतिरिक्त अर्को प्रश्न, के सडक आन्दोलनबाटै राजतन्त्र फर्किन्छ? यही प्रश्नको पनि कसैसँग एउटै जबाफ छैन।
एकताबद्ध आन्दोलन नै सकस
पूर्वराजा ज्ञानेन्द्रले राजावादी समूह एक भएर अघि बढ्नुपर्ने बताउने गरेका छन्। यही कारण राजावादीहरू सडकमा सामूहिक रूपमा प्रस्तुत हुने कसरतमा छन्। तर यो प्रयास सफल हुने सम्भावना देखिँदैन। पहिलो कुरा, राजावादी एजेन्डा बोक्ने राप्रपाभित्रै गुटको राजनीति छ। राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर जबराबीच असन्तुष्टि छ।
उनीहरू जसोतसो एक भएर आन्दोलनमा होमिएका छन्। काठमाडौँबाहिरका आन्दोलनमा उनीहरू छुट्टाछुट्टै छन। आगामी पार्टी अध्यक्ष हत्याउन उनीहरू ध्रवीकरणमा लागेको नेताहरूको बुझाइ छ।
राजावादी एजेन्डा बोक्ने राप्रपा नेपाल पनि अहिले आन्दोलनमै छ। लिङ्देन नेतृत्वको राप्रपासँग राप्रपा नेपालका अध्यक्ष कमल थापा ‘बाध्यात्मक’ साँठगाँठ मात्र गरिरहेका छन्। राप्रपा नेपालले अन्य पार्टीको ब्यानरमा नजाने निर्णय गरेको छ। यहाँ भुल्न नहुने कुरा के हो भने राप्रपा नेपालका अध्यक्ष कुनै बेला एमालेको चिह्नबाट चुनाव लडेका व्यक्तित्व हुन्।
राप्रपाले गरेको मोटरसाइकल र्यालीमा समेत राप्रपा नेपाल सहभागी नभएको अन्य समूहको दाबी छ। त्यो र्यालीमा प्रसाई समूह र लिङ्देन समूह एक थियो। राप्रपा नेपाल निकट स्रोत भने आफूहरू सहभागी भएको तर आन्दोलन ढिला भएकाले अन्तिमसम्म नबसेको बताउँछ।
यसअघि थापाले लिङ्देनलाई पार्टी एकताका लागि प्रस्ताव गरेका थिए। लिङ्देनले एकताको ठोस पहल गरेनन् भने सैद्धान्तिक रूपमा मात्र सहमति जनाएका थिए। यसपछि दुई राप्रपाबीच सम्बन्ध नबनेको नेताहरूको बुझाइ छ। राजावादी आन्दोलनमै हिँडिरहेका प्रसाई समूहलाई हेर्ने दृष्टिकोण पनि दुवै दलको फरक छ।
‘प्रसाईका समर्थक छन्। उनले भनेका कुरा बिक्छ। सामाजिक सन्जालमा उनको कुरा खपत हुन्छ,’ राप्रपा स्रोत भन्छ। यही कारण प्रसाईसँग साँठगाँठ गर्न सकिने राप्रपाको बुझाइ छ। तर राप्रपा नेपाल भने प्रसाईको शैलीको कारण राजतन्त्रको वातावरण बिग्रिने त्रासमा छ।
‘राजालाई अहिले नै ल्याएर राख्न सकिँदैन। प्रसाई हतार गरिरहेका छन्,’ राप्रपा नेपालका एक नेताले भने, ‘यो त प्रक्रियागत कुरा हो नि।’ प्रसाई भने अन्य पार्टी/समूहभन्दा आक्रामक सुनिँदै आएका छन्। उनी नेपालका ‘नेताको घुँडा भाँच्नुपर्ने, गाउँबाट निकाल्नुपर्ने’ अभिव्यक्ति दिइरहेका छन्। यद्यपि राजावादी नेताहरूका अनुसार प्रसाई पनि तत्काल राजतन्त्र फर्किनेमा आशावादी छैनन्।
‘प्रसाई राजा ल्याउनुपर्छ भन्नेमा भन्दा पनि अहिलेका नेताप्रति बढी आक्रामक छन्। उनी आफ्नै शैलीमा विरोध गरिरहेका छन्’, राप्रपाका एक नेता भन्छन्। यसरी हेर्दा राजावादी आन्दोलनमा धार प्रस्ट देखिन्छ। राजतन्त्र ल्याउन कस्ताकस्ता कार्यक्रम अघि बढाउने सामूहिक छलफलसमेत कुनै दलबीच भएको देखिँदैन। अहिले सबै दल/समूह सडक आन्दोलनमा मात्र होमिएका देखिन्छन्।
विकल्प सडक आन्दोलन मात्रै?
सहरबाट गाउँ केन्द्रित आन्दोलन लैजाने योजना राजावादीको छ। यसका साथै सामाजिक सन्जालका गतिविधि बढाउने तयारी तीब्र बनेका छन्। यसको मतलआ उनीहरू सडक आन्दोलनको भरमा मात्रै छैनन्। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजाका विषयमा सेना–प्रहरी बोल्नुपर्ने बताएका थिए। उनले देशमा विकरल अवस्था रहेकाले सुरक्षास्थितिबारे बोल्नुपर्ने जिकिर गरेका थिए।
मिश्रले सेना–प्रहरीले राजतन्त्रङ्कँ पक्षमा लाग्न सुझाव दिन अनुरोध गरेको बताइरहेका छन्। ‘हरेक आन्दोलनमा अगाडि रहेर ढुंगा खानुपर्ने, मारिनुपर्ने अनि तपाईंहरू हरेकचोटि यी भ्रष्ट नेता र सरकारलाई बचाउ गरेर कहिलेसम्म हिँड्नुहुन्छ ? विचार गर्नुस्,’ उनले सुरक्षाकर्मीलाई भनेका छन्। उनको बुझाइमा नेपालमा राजावादी समूह मात्र नभई सुरक्षाकर्मी समेत आन्दोलनको पक्षमा उभिनुपर्ने हुन्छ।
मिश्रले २०६२/०६३ मा समेत तत्कालीन सेनापतिहरूले ‘भूमिका खेल्दा’ गणतन्त्र आएको आरोप लगाएका छन्। उनले राजतन्त्र र हिन्दु धर्म मासिनुमा पूर्वसेनापतिहरूको भूमिका रहेको बताएका छन्। उनले नेपालमा राजतन्त्र फर्किएमा भारतलाई समेत सहयोग पुग्ने समेत बताएका छन्।
राजावादी नेताहरू सडक आन्दोलनले मात्रै निष्कर्ष ननिस्कने निष्कर्षमा छन्। उनीहरू कूटनीतिकदेखि अन्तर्राष्ट्रिय साथको जरुरी रहेको बताउँछन्। किनभने उनीहरू नेपालमा लोकतन्त्र र धर्मनिरपेक्षता आउनुमा बाहिरी हात बलियो रहेकोमा विश्वस्त छन्। ‘यो चरणबद्ध रूपमा अघि बढाउनुपर्छ। हामी निर्णायक आन्दोलनमा होमिएका हौँ। तर निष्कर्ष निस्किन्छ’, राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला भन्छन्। पूर्वराजा पक्षधर भने नेपालमा राजतन्त्रवादी आन्दोलन अघि बढ्नुपर्ने पक्षमा छ। ‘एउटा सन्देशले नै धेरै प्रभाव पार्यो नेपालभित्र,’ ज्ञानेन्द्रका संवाद सचिव फणिराज पाठक भन्छन्, ‘त्यो सन्देश पनि त्यतिकै आएको त होइन होला नि।’
‘ठूला दल घच्घच्याउन बाँकी नै’
सडकमा राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाई समूह छन्। राजावादी समूहले कूटनीतिक पहलकदमी गर्ने प्रयत्न पनि गर्दैछ। नेताहरू लामो समयसम्म सत्तामा हरेका नेता–व्यक्तित्वलाई समेत राजतन्त्रको पक्षमा वातावरण बनाउन आग्रह गरिरहेका छन्।
यसमा कांग्रेस-एमालेकै नेताहरू समेत राजतन्त्रको पक्षमा आउने उनीहरूले बुझेका छन्। अहिले पनि ठूला दलमा केही नेता राजतन्त्रको पक्षमा छन् तर पार्टीको विधानका कारण बोल्न नसकेको बुझाइ छ। ‘दलको रोकटोकले मुखमा बन्देज लगाइएको छ। त्यो खेल्ने काम गर्ने छौँ,’ राप्रपाका एक नेता भन्छन्, ‘जोजो हिन्दु धर्मको वकालत गर्दै आएका छन् उनीहरूलाई समेत हामी राजाको पक्षमा आउन अनुरोध गर्छौँ।’
राजावादीको दाबी : गणतन्त्रको चर हल्लियो
प्रजातन्त्र दिवसको अवसरमा ज्ञानेन्द्रले दिएको एक सन्देशले नै ‘तहल्का’ पिटेको राजावादी नेताहरूको बुझाइ छ। एक सन्देशले देशका प्रधानमन्त्री, विपक्षी दलका नेता साथै सदनमा कुरा उठ्नुलाई सकारात्मक रूपमा लिनुपर्ने उनीहरू बताउँछन्। यसैगरी फागुन २५ मा काठमाडौँमा राजतन्त्रको पक्षमा उत्रिएको भीडलाई राजावादीहरूले ठूलो सफलता र शक्तिका रूपमा बुझेका छन्।
‘दलका नेताहरू आफ्नो असफलता, अकर्मण्यतादेखि डराइरहेका छन्। उनीहरूले जुन अहिले रोजीरोटी गरिरहेका छन्। त्यो खोसिने डर छ’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला भन्छन्, ‘हामी लुटतन्त्र टिकाइरहनुपर्ने पक्षमा छैनौँ। स्वयं राजाले पनि यसैका विरुद्धमा सन्देश छाड्नुभएको हो।’
बर्तौला अब नेपालमा अभिभावकीय राजा हुनुपर्ने दाबी गर्छन्। ‘हामीले १८ वर्ष त लोकतन्त्रको हविगत हेर्यौँ नि। के भयो त विकास?’ उनी थप्छन्, ‘हामी त अहिले अभिभावकविहीन छौँ। त्यो स्थान हामीले राजालाई दिन खोजेको हो।’
राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती पनि राजतन्त्रका पक्षमा वातावरण बनिरहेको दाबी गर्छन्।
‘हामी (राप्रपा) चैतमा मात्र आन्दोलन गर्ने भनेर पूर्वतयारीका साथ बसेका थियौँ तर पूर्वतयारीमै लहर निस्कियो’, उनी भन्छन्, ‘हामीले भनेको भन्दा बहुत धेरै जनता राजतन्त्रको पक्षमा देखिए। यो आन्दोलन स्वेच्छापूर्वक अघि बढिरहेको छ।’