
काठमाडौँ- नेपाली कांग्रेसले मिसन रोजगारी अभियान सुरु गरेको छ। पार्टी कार्यालय सानेपामा आइतबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मिसन रोजगारी अभियानको शुभारम्भ गरेका हुन्। राजनीतिक विमर्शको केन्द्रमा रोजगार–सरकारको प्राथमिकतामा रोजगार भन्ने लक्ष्यका साथ मिसन रोजगारी अभियान सुरु गरिएको महामन्त्री थापाले जानकारी दिए।
उनले यस क्रममा विषयगत र क्षेत्रगत रुपमा गोलमेच छलफल गर्ने उनले बताए। पहिलो चरणमा ६ महिना रोजगारीका विषयमा संवाद गर्ने र अध्ययनका लागि निचोड निकालिने थापाले बताए।
अर्का कांग्रेस महामन्त्री शर्माले कांग्रेस पार्टीले लिएको नीतिका कारण थोरै भए पनि देशमा रोजगारीको सिर्जना भएको दाबी गरे। देशमा बनेको रोजगारीको जग थप बलियो बनाउने र जनतामा देखिएको असन्तुष्टि समाधान गर्ने प्रयासस्वरुप रोजगारी अभियान सुरु गरिएको उनको भनाइ छ।
रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्थालगायतमा वर्षभर छलफल बहस गर्दै सरकारको प्राथमिकतामा रोजगारलाई राख्ने अवस्था सिर्जना गर्ने कांग्रेसले जनाएको छ।