
काठमाडौँ- काठमाडौँ महानगरपालिका-३ रानीबारीस्थित श्री रानीदेवी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ। भवनको उद्घाटन वडा नम्बर ३ का अध्यक्ष प्रेम थापाले गरेका हुन्।
उद्घाटन समारोहमा अध्यक्ष थापाले विद्यालयको विकासका लागि धेरै व्यक्तिले योगदान दिएको बताए। उनले भने, ‘धेरैले यो स्कुलको उन्नयन र प्रगतिमा योगदान दिनुभएको छ। हामी त यहाँ एउटा इँटा थप्न मात्र आएका हौँ। विद्यालयलाई भवन आवश्यक थियो, जुन हामीले नेतृत्व गर्दै पूरा गरेका छौँ।’
महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष खेमराज तिवारीले सरकारी विद्यालयका विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन आवश्यक रहेको बताए। उनले भने, ‘सरकारी विद्यालयको शिक्षा गुणस्तरीय, वैज्ञानिक र व्यवहारिक हुनुपर्छ। यस विद्यालयका विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ।’
विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले २०८२ सालको शैक्षिक सत्रमा ५०० विद्यार्थी भर्ना गर्ने लक्ष्य रहेको जानकारी गराए। उनले भने, ‘विद्यालयको पूर्वाधार अझै पर्याप्त छैन। हामीलाई कम्प्युटर ल्याब र पुस्तकालय आवश्यक छ। हामी प्रविधियुक्त शिक्षा दिन अगाडि बढिरहेका छौँ। प्रत्येक कक्षाकोठामा आईसीटी प्रविधिमार्फत पठनपाठन गराउन स्मार्ट बोर्डको राख्ने तयारीमा छौँ।’
गौतमले आगामी दिनमा आवश्यक पूर्वाधार निर्माण गर्न सकेमा सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास अझै बढ्ने धारणा राखे। उनले समाजका प्रतिष्ठित व्यक्तिहरूले विद्यालयको गुणस्तर अभिवृद्धिमा सहयोग पुर्याउनुपर्नेमा पनि जोड दिए। विद्यालयको स्थापना २०३२ सालमा भएको हो।
याे पनि