
सुर्खेत– दसौँ राष्ट्रिय खेलकुदका लागि मूल आयोजक सचिवालय उद्घाटन गरिएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित रंगशाला परिसरमा आइतबार सचिवालय उद्घाटन गरिएको हो।
जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ। युवा तथा खेलकुदमन्त्री एवम् मूल आयोजक समितिका संयोजक तेजुलाल चौधरी, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाललगायतको सहभागितामा सचिवालय उद्घाटन गरिएको छ।
मन्त्री चौधरीले अब निर्धारित समयमा प्रतियोगिता सञ्चालन हुने बताए। ‘पूर्वनिर्धारित समयमा प्राविधिक कारणले हुन सकेन’, उनले भने, ‘कर्णाली प्रदेशको खेलकुदलाई साहसिलो कदमका रूपमा लगानी गरिएको छ। रंगशालालगायतका खेल पूर्वाधार निर्माण गरिएको छ।’ टेन्डर प्रक्रिया, समिति गठन, खरिदलगायतका आवश्यक कार्यमा काम भइरहेको उनले जानकारी दिए।
कर्णालीका मुख्यमन्त्री कँडेलले निर्धारित समयमा प्रतियोगिता सञ्चालन गर्न जिम्मेवार व्यक्तिहरू अलमल हुन नमिल्ने बताए। जेठ हिना खेलकुद प्रतियोगिताको लागि मौसम अनुकूल नहुनेमा आशंका उठिरहेको भन्दै उनले खेलसम्बद्ध व्यक्तिले सकारात्मक धारणा जोगाउनुपर्नेमा जोड दिए।
सामाजिक विकासमन्त्री धनश्याम भण्डारीले सचिवालय उद्घाटनपछि प्रतियोगिता निर्धारित समयमा सञ्चालन हुने विश्वास जागेको जानकारी दिए। कर्णालीले राष्ट्रियस्तरको कार्यक्रम सञ्चालन गर्न सक्छ भन्ने सन्देश जानेगरी सकारात्मक धारणा बनाउन आग्रह गरे। उनले भने, ‘यो प्रतियोगिताले कर्णालीको खेलकुदको सम्भावना र खेलाडीको प्रतिभा पहिचान हुनेछ।’