शिक्षा ऐन जारी नभएसम्म काठमाडौँमा शिक्षकहरूको आन्दोलन नरोकिने

हिमाल प्रेस २५ फागुन २०८१ १०:३१
2.6k
SHARES
शिक्षा ऐन जारी नभएसम्म काठमाडौँमा शिक्षकहरूको आन्दोलन नरोकिने

काठमाडौँ- नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको छ। महासंघको राष्ट्रिय समितिको बैठक आइतबार बस्दै छ। बैठकमा पहिलो चरणको आन्दोलनको समीक्षा गर्दै आगामी रणनीति तय गरिने छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले हिमालप्रेससँग भने, ‘शिक्षक, कर्मचारी, विद्यार्थी तथा गुणस्तरीय शिक्षामैत्री शिक्षा ऐन तत्काल जारी हुनुपर्छ। शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहन्छ।’

शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकलाई संसद्को चालु अधिवेशनमै ऐनका रूपमा पारित गर्नुपर्ने प्रमुख माग राखेको छ। महासंघका मागहरूमा शिक्षक तथा विद्यालय कर्मचारीहरूको हक, हित, सेवासुविधा र सुरक्षासम्बन्धी प्रावधान ऐनमा स्पष्ट रूपमा उल्लेख गरिनुपर्ने, सरकारले शिक्षक महासंघसँग गरेको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने, अस्थायी शिक्षकहरूलाई स्थायी गर्ने प्रक्रिया शीघ्र थालनी हुनुपर्ने, गुणस्तरीय शिक्षा र पूर्वाधार विकासमा सरकार गम्भीर हुनुपर्ने, पाठ्यक्रम परिमार्जन र डिजिटल शिक्षाको प्रवर्द्धन गर्नुपर्ने रहेका छन्। साथै, शिक्षक तथा विद्यालय कर्मचारीका लागि समयोचित तलब वृद्धि र ग्रामीण भेगका शिक्षकलाई थप सेवा-सुविधा उपलब्ध गराइनुपर्ने माग गरिएको छ।

शनिबार काठमाडौँमा भएको प्रदर्शनमा हजारौं शिक्षक सहभागी भए। प्रदर्शनमा शिक्षाको गुणस्तर सुधार, पेसागत अधिकारको सुनिश्चितता तथा ऐन निर्माण प्रक्रियालाई तत्काल टुंग्याउनुपर्ने माग गरियो। महासंघका अनुसार पहिलो चरणको आन्दोलनले सरकारलाई दबाब दिने प्रयास गरे पनि अपेक्षित नतिजा नआएकाले दोस्रो चरणको सशक्त आन्दोलन गर्न बाध्य हुनुपरेको हो। महासंघले बैठकपछि आगामी रणनीति सार्वजनिक गर्ने जनाएको छ। संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले शनिबार भएको आन्दोलनको समीक्षा गर्दै बैठकले आन्दोलनका नयाँ कार्यक्रम तय गर्ने जानकारी दिए। हिमालप्रेससँग थापाले भने, ‘पहिलो चरणको आन्दोलनको समीक्षा गर्छौं। दोस्रो चरणका कार्यक्रम तय गर्छौं जसमा ऐनका लागि पक्षीकरण, अन्तर्क्रिया पनि हुन्छन्। सडक आन्दोलन त छँदैछ।’

शिक्षा मन्त्रालयका एक अधिकारीले भने,‘शिक्षकहरूको जायज मागप्रति सरकार सकारात्मक छ। तर,केही मागहरू पूरा गर्न समय लाग्न सक्छ। वार्ताबाट समस्या समाधान गर्न सरकार पहल गरिरहेको छ।’ तर, महासंघ वार्ताबाट समस्या समाधान नभएको भन्दै अझ कडा आन्दोलन गर्ने तयारीमा छ। महासंघले सरकारले तुरुन्त ठोस कदम नचाले आन्दोलन देशभर विस्तार गर्ने चेतावनी दिएको छ।

प्रकाशित: २५ फागुन २०८१ १०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast