
काठमाडौँ- सातौँ संस्करणको पीएम कप क्रिकेट प्रतियोगिता–२०८१ आजदेखि सुरु हुँदैछ। इतिहासमै पहिलो पटक पीएम कपका सबै खेल काठमाडौँ बाहिर हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यो प्रतियोगिता लुम्बिनी प्रदेशका दुई जिल्ला रुपन्देही र दाङमा हुँदैछन्।
फागुन २५ गतेदेखि चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता रुपन्देहीको भेरहवास्थित सिद्धार्थ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदान र दाङको लमहीस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ।
प्रतियोगिता अन्तर्गत हुने ४६ खेलहरूमध्ये सिद्धार्थ रंगशालामा १७, एक्स्ट्राटेकमा १५ र लमहीमा १४ खेल खेलाइने क्रिकेट संघ हुनेछन्।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी कुल १० टोलीहरूको सहभागिता रहेको छ । खेलहरू सिंगल राउन्ड रोबिनका आधारमा खेलाइने छ । लिग चरणमा सबै टोलीले एक आपसमा खेलेपछि शीर्ष २ टोलीका बीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको पहिलो दिन फागुन २५ गते एकै पटक तीन वटै मैदानमा उद्घाटन खेल हुनेछन् । आइतबार सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश, एक्स्ट्राटेकमा बागमती प्रदेश र एपीएफ तथा लमहीमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ।