
काठमाडौँ- चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला क्रिकेट कपमा आज नेपालले दोस्रो खेल खेल्दैछ। आज घरेलु टोली युगाण्डा र नेपालबीच खेल हुँदैछ। यो नेपाल र युगान्डाकै यो शृंखलामा दोस्रो खेल हो। खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ।
शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो। युगाण्डाले भने शनिबार हङकङलाई हराएको थियो। शनिबारको खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित बनेको थियो।
नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याइरहने क्रममा वर्षाले केही समय अवरोध भएपछि खेललाई ‘डीएलएस’ विधिबाट १५ ओभरमा झारिएको थियो। खेललाई १५ ओभरमा झारिएपछि लक्ष्य ७१ रनको बनेको थियो। नामिबियाले १४ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको हो।
नामिबियाका लागि मेकेलान्ये म्वाटिलेले सर्वाधिक २६ रन बनाइन्। उनले ३५ बलमा तीन चौकाको मद्दतले २६ रन बनाएकी हुन् । यस्तै, जुरिएन डियर्गाड्र्टले ‘नकआउट’ १३ रन बनाइन् । उनले सात बलमा एक चौकासमेत प्रहार गरिन्।
नामिबियाका लागि एडेल भान जिलले आठ, सुन विटम्यानले सात, यास्मिन खानले छ र विल्का म्वाटिलेले नकआउट पाँच रनको योगदान दिइन् । नामिबियाले अतिरिक्त छ रन प्राप्त गर्यो ।
नेपालका लागि कप्तान इन्दु बर्मा, कविता जोशी, पूजा महतो र ईश्वरी विष्टले समान एक-एक विकेट हात पारे। त्यसअघि ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ९२ रन बनाएको थियो।
नेपालका लागि सम्झना खड्काले ११ बलमा चार चौकाको मद्दतले सर्वाधिक १८ रन बनाएकी हुन् । ईश्वरी विष्ट ‘नकआउट’ हुँदै १७ रन, कविता जोशीले १६, पूजा महतोले १३ रनबाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। यो खेलमा नेपालले अतिरिक्त १५ रन प्राप्त गरेको थियो।
शृंखलाका अन्य खेल कहिले?
नेपालले यसपछि फागुन २६ मा हङकङसँग खेल्ने छ। त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ।
यी सबै खेलहरू सकिएपछि चारमध्ये शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् भने बाँकी दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।