
पोखरा– पोखराको तालचोकस्थित सूर्यतारा क्लबले दोस्रो संस्करणको सूर्यतारा खेल महोत्सव शनिबारदेखि सुरु गरेको छ। २४ फागुनदेखि २ चैतसम्म भण्डारढिक खेलमैदानमा सञ्चालन हुने महोत्सवमा पुरुष फुटबल प्रतियोगितालगायत विविध कार्यक्रम हुने छन्।
महोत्सवको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरे। उनले खेल क्षेत्रबाट पोखराको पर्यटनको विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले खेलको माध्यमबाट सम्बन्ध स्थापित गर्न सकिने बताए।
लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष एवं खेलकुद महोत्सवका मुख्य प्रायोजक कर्माचार्य वेक्स एण्ड फुड्स प्रालिका विक्रम कर्माचार्यले यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका खेल भएमा पर्यटन प्रवद्र्धनमा विकास हुने विश्वास व्यक्त गरे।
पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले वडाले खेललाई विशेष महत्व दिएको बताए।
महोत्सवमा विभिन्न ८१ संघसंस्था एवं महिला÷आमा समूहहरुले आफ्नो कला संस्कृति, परम्परा सहितको झाँकी प्रस्तुत गरेको क्लब अध्यक्ष एवं कार्यक्रम संयोजक विष्णु पुनले बताए।
मुख्य आकर्षण सूर्यतारा नेकोस कप पुरुष फुटबल प्रतियोगिताका विजेताले ४ लाख ४ हजार र उपविजेताले २ लाख २ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। विधागत पुरस्कारको पनि व्यवस्था छ। आयोजकले गत वर्ष तुलनामा विजेता र उपविजेतालाई एक–एक लाख पुरस्कार राशि बढाएको हो।
यस्तै, सामूहिक लोकनृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबल टेनिस र एथ्लेटिक्स, जातीय संघसंस्थाका झाँकी प्रदर्शनी प्रतियोगिता समेत हुने पुनले बताए। सबै प्रतियोगिताका विजेतालाई नगदसहित पुरस्कृत गरिने छ।
महोत्सव प्रचारप्रसार संयोजक शिवराज सुवेदीले प्रतियोगिता सफल पार्न विगतमा झैँ सहयोगको अपेक्षा गरे।
महोत्सवमा ८३ लाख खर्च हुने आयोजकको अनुमान छ। साथै, ३५ हजार जना प्रत्यक्ष रुपमा सहभागी हुने अपेक्षा गरिएको छ।