
काठमाडौँ– पहलमानसिंह स्वाँर साहित्य विशेष ‘टीकापुर साहित्य महोत्सव’ को दोस्रो संस्करण शनिबारदेखि सुरू भएको छ। शनिबारदेखि सुरू भएको महोत्सव २६ गतेसम्म चल्ने छ।
टीकापुरका सामाजिक विकासमन्त्री युवराज खड्का प्रमुख अतिथि रहेको महोत्सव विभिन्न विज्ञहरुको स्वागत मन्तव्यबाट सुरु भयो।
महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशीले टीकापुर साहित्य महोत्सवलाई सांस्कृतिक जागरणको अभियान भएको बताए।
प्राध्यापक अभि सुवेदीले भने, ‘टीकापुर साहित्य महोत्सव टीकापुरमा प्राण हाल्ने र सृजनात्मक शक्ति आर्जन गर्ने प्रयास रहेछ।’
महोत्सवका संयोजक तथा अध्यक्ष मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहले अहिले देशभर साहित्य महोत्सव भइरहेको र यसले देशभरि साहित्यको ग्ल्यामर बढाएको बताए।
द्वन्द्वको विषम परिस्थिति भोगेको सहर भएकोले पनि टीकापुरमा साहित्य महोत्सवलाई निरन्तरता दिएको उनको भनाइ थियो। ‘साहित्यमार्फत सामाजिक सद्भाव’ नारा बोकेको महोत्सवको उद्घाटन सत्रमा उनले भने, ‘बिस्तारै टीकापुरको चेतना जागृत होला।’
महोत्सवको विद्वत प्रवचन दिँदै विश्लेषक हरि शर्माले संसदमा लोकतन्त्र महसुस गर्न नसकेको वर्तमान अवस्थामा यस्ता महोत्सवहरुले ‘मिनी लोकतन्त्र’ को अभ्यास गर्ने अवसर दिएको विचार राखे।
महोत्सवको उद्घाटनकै क्रममा चित्रमय टीकापुर महोत्सव २०७९ स्मारिकासमेत सार्वजनिक गरिएको थियो।
महोत्सवमा २१ वटा वहस सत्र रहनेछन्। जसमा आख्यानकार नारायण ढकाल, केशव दाहाल, बुद्धिसागर, सरस्वती प्रतीक्षा, प्रगति राई, सगुना शाहलगायतले नेपाली आख्यानका विविध विषयहरूमा बहस गर्नेछन्।
त्यसैगरी लेखकहरू विन्दु सुवेदी, युवराज नयाँघरे, प्रतीक ढकाल, मोहन मैनाली, घनश्याम खड्काले नेपाली गैरआख्यान र जीवन दर्शनबारे विचार विमर्श तथा विश्लेषण गर्नेछन्।
समालोचक लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारी, ब्रतराज आचार्यका साथै सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति अम्मरराज जोशी तथा धनन्जय तिमिल्सिनाले नेपाली साहित्यमाथि आलोचनात्मक विचार प्रस्तुत गर्नेछन्।
मीन भाम, दीया मास्के, केकी अधिकारी, प्रदीप भट्टराई, रवीन्द्रसिंह बानियाँ, घिमिरे युवराज, सुशीला तामाङलगायतले सिनेमा, नाटक र कलाका विविध विषयमा छलफल गर्नेछन्।