नियात्रा

पदयात्रा, प्रकृति अनि मन्दिरसँगको साक्षात्कार

अमृतप्रसाद पौड्याल २४ फागुन २०८१ १६:३७
50
SHARES
पदयात्रा, प्रकृति अनि मन्दिरसँगको साक्षात्कार

काठमाडौँ उपत्यकाको पूर्वदक्षिण दिशामा रहेको साँगा भन्ज्याङबाट मूलकोट हुँदै शालीनदी पुग्ने मनसायले ‘हाईक फर हेल्थ’ नामक सामाजिक भित्तोमा आबद्ध हामी केही हिँडन्तेहरू साँगापोखरीको दाहिनेतर्फ रहेको एक चियापसलमा जम्मा भयौँ। त्यो दिन थियो २०८१ माघ २६ गते शनिबार। अरनिको राजमार्गअन्तर्गत साँगा भन्ज्याङ पार गर्नासाथ देब्रेतिर त्यहाँ पुग्दा बिहान नौ बजेको थियो।

कालीप्रसाद रोयसारा, पेशल अधिकारी, डा.उमेश खनाल, डा.गेहराज दाहाल, डा. प्रेम बसेल, डा.गोपाल सेढाईँ, डा.बादल कार्की र मसहित आठजनाको डफ्फा काठमाडौँबाट आआफ्नै तरिकाले त्यहाँ पुगेका थियौँ।  पानीमा पौडिरहेका विभिन्न आकर्षक एवम् रंगीन माछा हेर्दै चिया खाएपछि हामी नेपाल प्रहरीको शिक्षालयअगाडिको बाटो हुँदै उत्तरतर्फ लम्कियौँ।

नटारम्भेश्वर मन्दिर भनी देखाएको दिशातर्फ गइरहेको उक्त पिच बाटोमा केही समय हिँडेपछि दाहिनेतर्फको भिरतिर गोरेटोको धर्सा पछ्याउँदै उक्लन थाल्यौँ। ढुँगाका सिँढी  उक्लँदै पातलो जंगलको माथिल्लो भागतर्फ पुग्दा सिरसिर चलेको हावा, न्यानो घाम, रूखपातको सामीप्यले जुराएको प्राकृतिक स्वच्छताको आनन्दमा रमायौँ। थोरै देब्रेतिर देखिएको अग्लो मन्दिरको पछाडितर्फको भागसँगै रहेको खानेपानी ट्यांकीको वरपरको उबडखाबड सतहबाट सोही मन्दिर अगाडि भागमा पुग्यौँ।

नटारम्भेश्वर मन्दिर त्यहीँ रहेछ। केही बेर अगाडि छोडेको सडक मन्दिरको मूल ढोकाअगाडिसम्म आएको रहेछ। पर उत्तरतर्फ क्षितिजका केही थुम्काका पछाडिपट्टि चहकिलो हिमालका सेता चुचुरा सफा र नीलो आकाश चुम्दै उभिएका थिए। तिनै थुम्कासम्म पुग्ने गरी फैलिएको जमिनको सतहमा नाला, भक्तपुर र केही उचाइमा नगरकोट वरिपरिका बाक्लो बस्तीका दृश्य हेर्दै मन्दिरमा विराजमान महादेवप्रति श्रद्धा अर्पण गर्‍यौँ।

मन्दिरको मूलढोका अगाडि रहेका केही व्यक्तिहरूसँग नगरकोट वा मूलकोट जाने मार्गमा कहीँकतै गोसाईँकुण्डको पानी आएको मानिने पोखरी र नगरकोट पुग्ने मार्गका बारेमा सोधखोज गर्‍यौँ। त्यस प्रकारको पोखरी वा कुण्डबारे प्रस्ट जानकारी नआए पनि उभिएको ठाउँबाट उत्तरपूर्वतिर देखिएको राधाकृष्णको मन्दिर हुँदै जाँदा गुम्बामा पुगिन्छ। छेवैबाट नगरकोटतर्फ जान सकिने जानकारी पाएपछि हामी आफ्नै लयमा अगाडि बढ्न थाल्यौँ।

केही तल ओर्लेर फराकिलो बाटोमा हिँड्न थालेपछि पुराना घर देखिए पनि क्रमशः बढदै गएका आधुनिक घर अनि स्तरोन्नतिका क्रममा रहेका फराकिला सडकले सुसज्जित थिए। उक्त सेरोफेरोमा हिँड्दा कुनैकुनै घरका आँगनमा देखिएका बस्तुभाउ, बारीमा फलेका तरकारी, थरीथरीका फूल र फलफूलका बोटले ग्रामीण एवं आधुनिक परिवेशको मिश्रण महसुस गर्न पायौँ।

निर्माणाधीन अवस्थाका कतै धुलो र कतै निर्माण सामग्री थुपारिएका बाटोमा बेलाबेलामा केही सवारीसाधन ओहोरदोहोर भए पनि सायद शनिबारको दिनले गर्दा होला खुला थियो। हिँड्न सहज भइरहेको थियो। बाटो पछयाउँदै जाँदा दुइवटा मोड आयो। हामी बस्तीतिर नभई जंगलतिर सोझिएको बाटो अगाडि बढ्यौँ। टाढा देखिएको मन्दिर पछ्याउँदै पूर्वउत्तरतिर भिरबाट क्रमशः मथितिर फैलिएको जंगलको तल्लो भागको बाटोमा लम्किरह्यौँ। ‘उः त्यता मृग कराइरहेको जस्तो लाग्यो’, झाडीतिर देखाउँदै डा.उमेश बोल्दै हुनुहुन्थ्यो। ‘पक्कै यतातिर मृगहरू भेटिन्छन्’, डा. गेहराज सही थप्दै हुनुहुन्थ्यो।

उक्त बाटोले माथिबाट फैलिएर आएको जंगल र तल्लो तहमा रहेको गाउँलाई छुट्टयाएको देखिन्थ्यो। बाटोमुनि स्थानीयका खेतबारी थिए। केहीबेरमा सँगसँगै रहेका राधाकृष्ण र महाकालेश्वर महादेव मन्दिर रहेको सूर्यविनायक नगरपालिका-१० खड्कागाउँमा पुग्यौँ। जंगलको काखैमा रहेको राधाकृष्णको मन्दिर निर्माणाधीन अवस्थामा थियो भने महाकालेश्वर मन्दिर बनिसकेको थियो। माथि जंगल रहेकाले पर निस्कने बाटो छ कि भनी साथी कालीप्रसाद रोयसाराले मार्ग खोतल्न गरेको प्रयास सफल भएन। हामी महाकालेश्वरको बन्द मन्दिरमा रहेका भगवान्‌लाई बाहिरबाटै नमस्कार गरी  सिँढी झरेर फराकिलो बाटोमा पुग्यौँ।

नाला गुम्बा पुग्नुभन्दा केही वर गाउँमा डोजरले बाटो खनिरहेको भेटियो। बाटो पूरै डोजरले ओगटेकाले अगाडि बढ्न सकिएन। एकछिन छाड्न अनुरोध गर्‍यौँ। विपरीत मार्गबाट बच्चा बोकेर एक महिला आइरहनुभएको थियो। रोकिएको डोजरको छेवैबाट उहाँलाई पहिला जान दिई हामी अगाडि बढ्यौँ।

पूर्व दिशातिर बेसीमा रहेका खेत अधिकांश तरकारीखेतीका लागि बनाइएको टनेलले भरिएको देखियो। उपत्यकावासीले खाने तरकारी त्यही स्थानबाट समेत आउने हामीले अनुमान लगायौँ। केही बेरमा अमलडोल भन्ज्याङमा रहेको धाग्पो सेडरुवलिङ गुम्बाको प्रवेशद्वारअगाडि पुगियो। भक्तपुर नाला सडकको छेउमा हरियो जंगलको काखमा रहेको उक्त नाला गुम्बा आकर्षक देखियो। बाहिरबाटै त्यसलाई अवलोकन गरी नगरकोटतर्फ जान छेवैमा रहेको जंगलतर्फ उक्लिँदा बिहानको साढे १० बजेको थियो।

सल्लाका रूखले ढाकिएको मनमोहक नाला जंगलको बीचबाट टुप्पोतिर नउक्लिकन तलबाटै दाहिनेतिरबाट फन्को मार्दै अगाडि बढ्यौँ। बनेपा नगरपालिका-१ टुकुचामा रहेको नालागढी प्रवेशद्वार लेखिएको रातो रङको ढोकाबाट बाटोमा निस्कँदै सामूहिक फोटो लियौँ र सडकैसडक मूलाबारी लामिछाने गाउँ सिमलडाँडा हुँदै खावातर्फ लाग्यौँ। लामिछाने गाउँ वरपर हरियो गहुँ र पहेँलो तोरीका साथै तरकारी खेतीले ढाकिएका खेतबारीका गराले मन्त्रमुग्ध बनाए।

खावाबाट मूलकोट र नगरकोटतर्फ केही अगाडि पुगेपछि करिब १२ बजे एक होटलमा चिया र झोलामा बोकेका खानेकुरा खान बस्यौँ। गोसाईँकुण्ड पोखरी भेट नभए पनि पुगेको स्थान वरपर कतै महादेवपोखरी छ भन्ने बुझेर त्यहाँ भेटिएका व्यक्तिहरूसँग सोधखोज गर्‍यौँ। पिच पनि भएको कहीँकतै कच्ची पनि रहेको मिश्रित बाटोमा उक्लँदै गर्दा ओरालोतिरबाट हुइँकेर आएको ट्रकले उडाएको धुलोको कुइरीमण्डलमा केही बेर हराउन पुग्यौँ।

महादेव पोखरी नभेटे पनि कमलमसीमा बाटो छेवैमा रहेको महादेवको मूर्ति र सँगै रहेको पीपलबोटको चौतारोलाई फलामे डण्डीले घेरेर सिद्धार्थ गौतम जन्मिएपछि सात पाइला हिँडेको आकृति देखाउने कृत्रिम संरचनाको फोटो खिच्दै कमलमसी बसपार्कतर्फ लाग्यौँ। अनि बोजिनी ड्याम जाने बाटो देब्रेतिर पार्दै दाहिनेतिरबाट नगरकोटको टावर जाने बाटो समाइयो। उकालो र राम्रो पिच सडक भेटे पनि सकेसम्म पैदलमार्ग पछ्याउँदै चिलाउने, सल्लोलगायत अन्य वनस्पतिले ढाकिएको जंगलतिर पनि हिँडियो।

पहाडको बाटो एउटै ढिस्को घुमेर बनेकोमा बीचबाट सीधै उक्लँदा ठाउँठाउँमा आएको पिच सडक नाघ्दै झाडी बुट्यानको भित्रबाट हिँड्दाहिँड्दै बाटो हराएर एकछिन अलमल पर्दा पनि रमाइलो भएको थियो। करिब २ बजे हामी नगरकोटको टावरको तल्लोपटि रहेको रत्नचुडेश्वर महादेव मन्दिर परिसरमा पुग्यौँ। त्यहाँ ६४ शिवलिंग, महादेवकुण्ड र सफा एवम् चिसो पानीको कुवा थियो।

कुवाबाट उघाइएको चिसो एवं सफा जल सँगैको मन्दिरमा विराजमान महादेवको शिलामाथि झुन्ड्याइएको जलहरीमा चढाउने प्रचलन हामीले पनि पछ्यायौं। त्यसपूर्व हिँडाइले पसिना आइरहेको आफ्नै मुहार सोही चिसो पानीले भिजाएर शीतल एवम् स्वच्छ महसुस गरेका थियौँ। केही पल त्यहाँ बिताएपछि नगरकोट बसपार्कतिर लाग्यौँ। बाटा चिटिक्क र सफा अनि वरिपरिका भित्ता एवं कान्ला पनि सफा एवं रुखपातले भरिएर आकर्षक देखिएको थियो। पर्यटकीय स्थान, घमाइलो र बिदाको दिन भएकोले यात्रुहरूको आवतजावतले सवारीसाधनको ओहोरदोहोर बाक्लै थियो र दुई लेनको बाटो भए पनि घुम्ती भएकोले केही साँघुरो लागेको थियो।

करिब ३ बजे नगरकोट बसपार्कमा पुगेपछि साँखु जानका लागि एक सवारीसाधनको जोहो गरियो र तेलकोट हुँदै शाली नदीको बगरमा पुगेर ओर्लियौँ। किनारैकिनार मन्दिरतर्फ लाग्यौं। पानी बग्न मिल्ने गरी लहरै बोरामा माटो भरेर बनाइएको बोराको साँघुमाथि टेक्दै पानीको बहाव कम भएको हिउँदे शालीनदी पार गरी स्वस्थानीमा वर्णन गरिएको शाली नदी परिसर पुगियो। गोमाको कुटी भनी औँल्याइएको सानो झुपडीबाट सुरु भई भक्तालुहरू स्नान गर्न बनाएको दहतर्फ लाग्यौँ। एकातर्फ एकमहिने स्वस्थानी मेला लागेको र त्यो दिन शनिबार परेकोले मेला भर्न आउने भक्तजनहरूको घुइँचो थियो।

माघका मेला लाग्ने तीर्थस्थलको अवलोकन गर्दै हिँड्न पाउँदा हामी जस्ता हिँडन्तेका लागि अनुभवको एक अध्याय थपिएको थियो। दुवैतर्फ खुवाका पसलहरू, विभिन्न गरगहना, जुत्ता, सजावटका सामानलगायत अबिर, सिन्दूरका थुप्रा राखिएका छाप्राको बीचमा रहेको बाटोमा श्रद्धालु एवं यात्रुको भीड र होहल्ला र खरिदबिक्रीका कार्यले हाटबजारका झल्को दिइरहेको थियो।

हामी भर्‍याङ चढदै माथिपट्टि स्वस्थानी भगवान्को आकर्षक मन्दिर भएतिर आउँदा यात्रुहरूको भीड झन्झन् बढ्दो थियो। उक्त मन्दिर दर्शन गर्दै परिसरबाट बाहिर निस्कँदा भेटिएको फराकिलो पिच सडक त्यस दिन यात्रु, व्यापार र व्यापारीले ढपक्कै ढाकिएको थियो। सडकका दुवैछेउमा रहेका पसलमा ‘यहाँ शुद्ध शाकाहारी खानाका परिकारहरू पाइन्छ’ भनी लेखिएका खाजाघरदेखि मिठाई पसलहरू, थरीथरीका लुगा तथा जुत्ताका पसल, उपहार सामग्रीका पसल, मरमसला, अन्न तथा दाललगायत विभिन्न प्रकारका सामान सजाएर राखिएका पसल थिए।

मानिसको भीड, सामान किन्ने तथा बेच्नेका व्यस्तता, माइकमा बजिरहेका विभिन्न आवाजका विज्ञापनले बेच्न राखेका सामानको जानकारी, कतै विक्रेता स्वयं मुखले आफ्ना सामानको प्रचार गरिरहेका दृश्य मेलाका विशेषताका रुपमा चित्रित थिए। कतिपय विक्रेता सामान टाउकोमा तथा ढाडभरि बोकेर यत्रतत्र बिक्री गर्ने प्रयास गरिरहेका देखिन्थे। त्यसै रमझममा हाम्रो समूहका एकजना सदस्यले आफ्नो बालक छोराका लागि भनी बाँसको मुरली खरिद गर्नुभयो।

लगभग त्यस दिनको हिँड्ने क्षण सकिएको र त्यहाँबाट बस चढी काठमाडौँ पुग्नुपर्ने भएकोेले भीडभाडमा भन्दा कुनै अलिक खुला स्थानमा चियापान गर्नुपर्‍यो भनी चिया पसल खोजिरहेका थियौँ। शाली नदीतर्फबाट आउने मार्गको मुखमा उत्तरतिरको पालुबारी हुँदै आउने बाटोमा रहेका बसमा सयौं यात्रु चढ्दै थिए र हरेक बस एवं सवारी साधनहरू भरिएको र त्यहाँ रोक्दै यात्रु चढाउने गर्दा बस आएको तिर लामो जाम र बसको लामो लाइन देखिएको थियो। चियापसल खोज्दै हामी पनि बसको लामो लाइन भएतिर हिँड्दै थियौ। लगभग एक किलोमिटर जति हिँड्दा पनि उही बसको लाइन, आठ दसजना यात्रु एकै पटक बसमा उक्लने प्रयास गरेको देख्दा साँच्चै काठमाडौँ जान सकस हुन्छ जस्तो लागेको थियो।

जसोतसो धेरै पछाडि आएपछि एक चियापसलमा हामी आठजना अट्ने देखिएर छिर्‍यौँ। सडकसँगै जोखिएको पेटीमा रहेको कुर्सी समाएर बसिहाल्यौँ। चियासँगै बदाम र अन्य केही खानेकुरा खाएपछि खाली सिट भएको बस खोज्दै केही पछाडितिर हिँड्यौँ। लगभग मन्दिर जाने बाटोको मुखबाट डेढ किलोमिटर पालुबारीतिर गएपछि हाम्रो गन्त्यव्यमा जाने बस छानेर चढ्यौँ। हामी आठजना बसको पछाडितर्फ देब्रे लहरमा लहरै बस्यौँ। बिस्तारै बस गुड्न थाल्यो र अगि बढ्दै जाँदा यात्रुहरूले भरिन पनि थाल्यो।

केही क्षणमा सिटहरू भरिइसकेपछि यात्रुहरू भित्र छिर्दै उभिन थाले। केही क्षणपछि त यात्रुहरू यसरी भरिएको सिटमा बस्दा पनि छेउमा उभिने यात्रुहरूको ठेलमठेल महसुस भइरहेको थियो। भीड बसमा ठेलमठेल गरेर चढ्ने अनि भित्र पुगेपछि कति भीड भन्दै सहचालकसँग करकर गरेको पनि देखियो। केहीबेरमा भरिभराउ यात्रु लिएर साँखुबजारबाट चाबहिलतर्फ बसको चक्का हुइँकिदा साँझको पाँच बजिसकेको थियो।

प्रकाशित: २४ फागुन २०८१ १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast