पोखरा कोटीहोम विवाद : अब के हुन्छ?

विजय नेपाल २४ फागुन २०८१ १६:२७
22
SHARES
पोखरा कोटीहोम विवाद : अब के हुन्छ?

पोखरा- पोखरामा हुन लागेको कोटीहोम महायज्ञ भूमिपूजनमा शुक्रबार भएको झडपको घटनाप्रति विश्व हिन्दू महासंघ नेपाल, कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साथै, कोटीहोममा अवरोध नगर्न पोखरा महानगरपालिकासहित सम्पूर्णमा अपीलसमेत गरेको छ।

शनिबार पत्रकार सम्मेलन आयोजना गरी महासंघ कास्कीले सनातन धर्मको प्रवद्र्धनका लागि गरिने अनुष्ठानमा कुनै पनि निकायबाट यो वा त्यो बहानामा अवरोध पुर्‍याइनु निन्दनीय भएको जनायो।

‘पोखरा महानगरका प्रहरीहरु र घूसपैठिया गुण्डाहरु प्रयोग गरी भूमिपुजनमा अवरोध खडा गरिनु उक्त भूमिपूजनमा अवरोध खडा गरेकोमा विश्व हिन्दू महासंघ गण्डकी प्रदेश समिति एवं कास्की जिल्ला समितिको ध्यानाकर्षण भएको छ,’ पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘आफैँ धामी, आफैँ बोक्सी भनेझैं आक्रमण गर्न पठाउने र आक्रमण गरे भनी नियोजित हल्ला गर्न सनातन धर्मावलम्बीहरुलाई दिग्म्रमित पारिएकोमा पनि महानगरको यो निच हर्कत र रवैयाको घोर भत्र्सना गर्दछौँ।’

महासंघ कास्की अध्यक्ष जगन्नाथ कोइरालाले पोखराको धार्मिक पर्यटनको विकासका लागि कोटीहोममा अवरोध नगर्न सबै पक्षसँग हार्दिक अपीलसमेत गरे। कोटीहोम विषयमा विश्व हिन्दू महासंघले आइतबार पोखरा महानगरमा धर्नासमेत दिने जनाएको छ। सोमबार महानगरसँग छलफल गर्ने तयारी छ।

विवादित गुरु विजय कृष्णमूति महाराज (विजय भण्डारी) संस्थापक रहेको मानव सेवा फाउण्डेशनले आगामी २०८१ साल वैशाख १७ देखि जेठ १६ सम्म पोखराको प्रमुख पर्यटकीय क्षेत्र फेवाताल किनार बाराहीघाटमा श्रीगण्डकी शत् (सय) कुण्डीय गायत्री कोटीहोम बिराट ज्ञानमहायज्ञ–२०८२ गर्दैछ। यसका लागि नेपाल पञ्चाङ््ग निर्णायक समितिले उपलब्ध गराएको शुक्रबार बिहान १० बजेर २१ मिनेटका साइतमा भूमिपूजनसमेत भयो।

भूमिपूजन कार्य हुँदै गर्दा महानगर प्रहरी र आयोजकबीच विवाद बढेकामा भूमिपूजन सकिनेवित्तिकै दुवै पक्षबीच हात हालाहालत तथा झडपको अवस्था सिर्जना भएको थियो। झडपमा दुवै पक्षबाट रड, ढुंगा, मुढा समेत प्रयोग गरिएकाले महानगर प्रहरी र फाउण्डेशनका स्वयंसेवक गरी दुई दर्जनजति घाइते भएका थिए।

महायज्ञजस्तो पवित्र कार्यमा झडपको सिर्जनाले यज्ञ हुने कि नहुने भन्ने शंकाको घेरामा छ। पोखरा महानगरले पालिकाको स्वीकृतिबिना यज्ञ सञ्चालन गर्न नपाइने चेतावनी दिएको छ भने फाउण्डेशनले उच्च अदालतले पोखरा महानगरपालिका नाममा कानूनी व्यवस्थाबाहेक अवरोध नपुर्‍याउन अन्तरिम आदेश दिएकाले यज्ञ भएरै छाड्ने प्रस्ट पारेको छ।

शनिबार पत्रकार सम्मेलनमा विश्व हिन्दू महासंघ नेपालका केन्द्रीय सहअध्यक्ष शंकर खरालले पोखरामा कोटीहोम भएरै छाड्ने कुरा दोहोर्‍ याए।

अदालतको गत १ फागुनमा अन्तरिम आदेश दिएकोमा उक्त आदेश खारेजको माग गर्दै पोखरा महानगरले दाबी गरेको ‘कानूनसम्मत्’ भन्ने वाक्यांश ‘अर्को आदेश जारी गर्नुपरेन’ भनी अदालतको दोस्रो आदेशले स्वतः निष्प्रभावी ठहर भएको खरालले बताए।

उनले वैदिक सनातन धर्म जलसँग प्रगाढ सम्बन्ध रहने भएकाले देवघाटधाम, जनकपुरधाम, त्रिवेणीधाम, मुक्तिक्षेत्र, गलेश्वर, पशुपतिनाथ, रुरुक्षेत्र, वराहक्षेत्र लगायत अनगिन्ती धार्मिक सम्पदा नदी, ताल किनारमा अवस्थित रहेको बताए।

‘फेवाताल किनारमा नै केदारेश्वर, फेवातालको बीचमा तालवाराही मन्दिर, सिरानमा थुम्की वराहा र सयौँको संख्यामा सानाठूला कुल देवताका मन्दिर, नागथान, झाँक्रीथान, भयरथान आदि रहेका छन्,’ उनले भने, ‘रामसार क्षेत्रमा नियम वैदिक सनातनी परम्परा, यज्ञ अनुष्ठान आकर्षित हुँदैन। यो विश्वव्यापी तथ्य हो। यदि यो नियम लागू भए भोलिका दिनमा हुने छठपूजा, बोलबम यात्रा, कोजाग्रत पूर्णिमाको मेला, एकादशी स्नान, मकर स्नान, ग्रहण स्नान, पर्यटन प्रवद्र्धनका लागि गरिने मेलामहोत्सव सबै विवादित हुनेछन्। यिनै तथ्यगत आधारमा अदालतले कोटीहोममा बाधा अवरोध नपुर्‍याउन आदेश गरेको हो।’

पोखराको धार्मिक पर्यटनमा टेवा मिल्छ भनी आफूहरुले पनि फाउण्डेशनको कोटीहोम सञ्चालनमा सहयोग गरेको उनले बताए।

कोटीहोमका लागि नेपाल ट्रस्टको मातहतमा रहेको वाराहीघाटको जग्गा भाडामा लिई रसिद समेत बुझाइसकेको, पोखरा वडा ६ कार्यालयबाट स्वीकृति लिइएको, अदालतले आदेश गरिसकेको अवस्थामा महानगरपालिकाले रोक्न खोज्नु आपत्तिजनक भएको महासंघले जनाएको छ।

पोखरामा कोटीहोम महायज्ञका लागि भूमिपूजन गर्ने क्रममा शुक्रबार भएको झडपका क्रममा घाइते भएकालाई उद्धार गरिँदै। तस्बिर : हिमालप्रेस

यता, पोखरा महानगरपालिकाले यथास्थितिमा कोटीहोम हुन नसक्ने चेतावनी दिएको छ। महानगर प्रवक्ता मोतीलाल तिम्सिनाले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पोखरा क्षेत्रका ऐतिहासिक महत्वका चौतारीमा रहेका सयौँ वर्ष पुराना वरपीपलका रुखहरू मास्ने कार्यमा समेत संलग्न मानव सेवा फाउन्डेसनले अनुमतिबिना वैशाखबाट गर्ने भनिएको कोटिहोम यथास्थितिमा हुन नसक्ने कुरा महानगरपालिका पुनः स्पष्ट पार्दछ।’

महानगरले कार्यक्रम स्थगन गर्न अनुरोध गर्दा अटेर गरी कार्यक्रम अगाडि बढाउनु प्रचलित कानून र स्थानीय सरकारको क्षेत्राधिकारमाथिको उल्लघंन हो भनेको छ।

‘धर्मको आवरणमा गुण्डागर्दी शैलीमा रड, लाठी र हतियारसहित पोखरा बाहिरका मानिसहरूसमेत जम्मा गरी सांघातिक आक्रमणमा उत्रनु निन्दनीय कार्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘जनप्रतिनिधिमाथि अशिष्ट, अमर्यादित, उत्तेजक र भ्रामक अभिव्यक्ति दिएर सुरुवातबाटै धार्मिक सहिष्णु भड्काउने, धर्मका नाममा समाजलाई विभक्त तुल्याउने, सनातन आस्थाप्रति घृणा फैलाउने, सदिऔँदेखि मिलेर शान्तिपूर्णरूपमा बसिरहेको पोखराको एकता र शान्ति खलबल्याउने कुत्सित मनसायसाथ गरिएका यस्ता हर्कत कानूनतः दण्डनीय छन्।’

यज्ञ आयोजक मानव सेवा फाउण्डेसनले कुनै पनि हालतमा यज्ञ नरोकिने स्पष्ट पारेको छ। फाउण्डेशनका संस्थापक विजय भण्डारीले यज्ञ कसैले रोकेर नरोकिने चेतावनी दिएका छन्।

उनले भनेका छन्, ‘कसैले छेकेर छेकिने छैन। कसैको डर, कसैको धाक, कसैको शक्तिले विजयकृष्ण मूर्ति पोखरा छोडेर जानेवाला छैन।’

फाउण्डेशनले कोटीहोमका समीधा (दाउरा) आवश्यक पर्ने भन्दै पोखरामा वर्षौँ पुराना बर, पीपल, शमी जातका रुख तथा चौतारी नष्ट गरेको आरोप छ। संकलित करिब ५० ट्रक दाउरा महानगरले जफत पनि गरिसकेको छ। दुवै पक्षबीच विवाद बढेसँगै पोखरा महानगरपालिका नगरकार्यपालिका बैठकले समेत वातावरणीय प्रदूषणको कारण देखाउँदै कोटीहोम गर्न नपाइने निर्णय गरेको थियो।

फाउण्डेशनका संस्थापक विजय भण्डारीले यसअघि पोखरामा पत्रकार सम्मेलन गर्दै ‘धर्मका लागि अधर्म’ गर्न पनि पछि नपर्ने भनी विवादास्पद अभिव्यक्ति दिएका थिए।

एउटा पक्षले कोटीहोम गरेरै छाड्ने र अर्को पक्षले रोक्न खोज्ने गर्दा विवाद बढ्दै गएपछि दुवै पक्ष न्यायका लागि अदालत धाएका थिए।

गत १९ फागुनमा उच्च अदालत पोखराले यसअघि फाउण्डेसन निवेदक रहेको अन्तरिम आदेशलाई नै सदर गरेको थियो। १ फागुनको सो आदेशविरुद्ध पोखरा महानगरपालिका नगरकार्यपालिकाको कार्यालयसमेत निवेदक रहेर अन्तरिम आदेश खारेज गरी पाउँ भनी माग गर्दै उत्प्रेषणयुक्त परमादेशको रिट निवेदन दायर गरेको थियो।

सो सम्बन्धमा न्यायाधीश दीपेन्द्र अधिकारी र उमेश कोइरालाको संयुक्त इजलासले पहिलेको अन्तरिम आदेशलाई नै सदर गरेको हो। १ फागुनमा मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले मानव सेवा फाउन्डेसनको निवेदनमा सुनुवाइ गर्दै बिराट कोटीहोम ज्ञानमहायज्ञ सञ्चालनमा कानूनबमोजिम बाहेक कुनै बाधाअवरोध उत्पन्न नगर्नू–नगराउनू भनी महायज्ञ सञ्चालनका लागि बाटो खोलिदिएको थियो।

धनराज आचार्य प्रमुख रहेको पोखरा महानगरले अदालतमा विचाराधीन कोटीहोमसँग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरु स्थगन हुनुपर्ने अडान छाडेका छैनन्। पोखरा महानगरले गत ३ फागुनमा ‘पोखरा भ्रमण वर्ष–२०२५’ घोषणासमेत गरी १ वर्षभित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। धार्मिक पर्यटक बढाउन कोटीहोमले सहयोग पुग्ने भए पनि पोखरा महानगरले असहयोग गर्नु गलत भएको हिन्दू धर्मावलम्बीहरुले आलोचना गरेका छन्।

प्रकाशित: २४ फागुन २०८१ १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast