
काठमाडौँ- प्रहरीले दक्षिणकालीबाट क्रिप्टो करेन्सी कारोबारमा संलग्न सात भारतीयलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकपोस्टबाट पक्राउ गरेको हो।
आरजे १४ टी जी २०२८ भारतीय प्लेट नम्बरको गाडीबाट हेटौँडा हुँदै काठमाडौँ आउँदै गरेका उनीहरूलाई जाँचको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए। पक्राउ परेकामध्ये ६ जना भारत राजस्थान राज्यको दोसा बस्वा नगरपालिका र एक जना अलवर राजगढ नगरपालिकाका हुन्।
पक्राउ पर्नेहरू दोसा बस्वा नगरपालिकाका २१ वर्षीय अजय सैनी, १८ वर्षीय हिमान्सु सैनी, २६ वर्षीय अंकित सैनी, १९ वर्षीय आर्यन सैनी, २० वर्षीय अभिषेक सैनी, बीरेन्द्र गुर्जर र अलवर राजगढका ४२ वर्षीय उमाशंकर शर्मा छन्।
बोहराले छानबिनका क्रममा उनीहरूले मोबाइलबाट १ करोड ८९ लाख ३३५ रुपैयाँ १२ पैसाको अवैध कारोबार गरिएको पाइएको बताएका छन्।
सातै जनाले आफ्नो मोबाइलबाट ‘बिनान्स एकाउन्ट’ खोली क्रिप्टो करेन्सी ‘यूएसडीटी’, ‘ईटीएच’, ‘बीटीसी’, ‘बीएनबी’, ‘टीआरएक्स’ र ‘एसओएल’ को नेपाली रुपैयाँमा यो परिमाणको अवैध कारोबार गरेको पाइएको उनले जानकारी दिए।
बोहराले उनीहरूको साथबाट ३२ थान मोबाइल बरामद भएको बताए। पक्राउ परेका सातै जनामाथि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।