
काठमाडौँ- अवैध आप्रवासीका रूपमा अमेरिकाबाट फर्काइएका नेपालीले अमेरिका जान भन्दा त्यहाँबाट फर्कँदा बढी कष्ट भोग्नुपरेको बताएका छन्। अवैध बसेका नौजना नेपालीलाई त्यहाँको परराष्ट्र मन्त्रालयले तीन दिनअघि नेपाल फिर्ता गरेको थियो। उनीहरू प्रहरीसँगको बयानमा फर्कंदा ज्यादै कष्ट सहनुपरेको बताएका हुन्।
अमेरिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलाई जिम्मा लगाएपछि अध्यागमनले फेरि प्रहरीलाई अनुसन्धानका लागि बुझाएको थियो। उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले बयान लिएर आफन्तको जिम्मा लगाइसकेको छ। तीन नेपालीले प्रहरीसँगको बयानमा ठूलो रकम खर्च गरेर गएको र त्यो ऋण तिर्ने बाँकी रहेको बताएका छन्। ब्युरोका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले अमेरिकाबाट फर्काइएका नेपाली डिप्लोमा र डिग्री सकेका युवा रहेको बताए।
अमेरिका बसाइभर खान र डेराको समस्या भएको र पुगेका सात महिनाभित्र स्वदेश फर्किनुपरेको बयान उनीहरुले दिएका छन्। ‘स्वदेश फर्किएका अधिकांशले उतै मारिदिएको भए ऋणको चिन्ता हुँदैन थियो भन्दै गुनासो गरे। नेपाल फर्काएपछि ऋण कसरी तिर्ने र कता जाने भन्ने समस्या थपिएको गुनासो उनीहरूको छ’, कुँवरले भने।
उनीहरूलाई अमेरिका जान पाँचदेखि सात महिना लागेको थियो। अमेरिका जान पटकपटक गरी एजेन्टलाई ७० लाख रुपैयाँसम्म तिरेको बयान उनीहरूले दिएका छन्। अमेरिका जानेको थोरै ४० लाख र बढी एकजनाले ७० लाख खर्च गरेको अनुसन्धानका क्रममा पाइएको ब्युरोका प्रहरी उपरीक्ष कुँवरले बताए।
अनुसन्धान संलग्न प्रहरीको सहयोगमा अमेरिकाबाट फर्काइएकामध्ये एक हुन् रुकुम पश्चिमका युवक। उनले आफ्नो नाम नबताउने सर्तमा आफ्नो अनुभव सुनाएका छन्। उनका अनुसार गत साता मध्यरातमा अमेरिकी सेनाले अमेरिकाकै सहर बाल्टिमोर नजिकको एउटा सानो गाउँमा छापा मारेको थियो। सेनाको छापामा वीरगन्जका एकजना साथी र आफू परेको ती युवकले बताए।
त्यो दिन अमेरिकी सेना दिनभर सादा पोसाकमा अवैध बसेका विदेशी नागरिकका बारेमा जानकारी लिँदै बसेका रहेछन्। उनले भने, ‘हामीसँग बसेका दुई नेपालीसहित ११ जना भागे पनि वीरगन्जका ती साथी र म भाग्न सकेनौँ।’ दुवैजना सेनाको घेरामा परिसकेकाले उम्कन नपाएको भनाइ ती युवकको छ।
उनले भने, ‘दुईजना नेपालीले थाहा पाएछन्। उनीहरूले भागौँ त भनेका थिए। एक महिनादेखि राति काम गरेका कारण अनिँदो र सेनाले घेरेको साइटमा परेका कारण भाग्न सम्भव नहुँदा पक्राउ परेका हौँ।’
सत्तामा डोनाल्ड ट्रमको पुनरागमनपछि अवैध रूपमा बसेका विदेशी नागरिक अमेरिकाको गाउँ हुँदै क्यानडातिर भागेको दाबी ती युवकको छ। उनले भने, ‘हामी पनि भाग्न सोच्दै थियौँ त्यहाँ बसोबास गर्दै आएका नेपालीले हामी छौँ, जोगाउँछौँ भनेर फसाए।’
बाल्टिमोरमा अवैध रूपमा अमेरिका पुगेका विदेशीको संख्या ठूलो रहेको ती युवकको दाबी छ। त्यही भएर अमेरिकी सेनाले त्यो सहरमा गस्ती बढाउँदा आफूहरू परेको गुनासो उनले गरेका छन्।
उनीहरूलाई सेनाले पक्रिएपछि राति नै हात, खुट्टा र तिघ्रामा फलामको साङ्लोसँगै नेल र हत्कडी लगाएको थियो। सोही अवस्थामा आफूहरूलाई रेल चढाएर विमानस्थल पुर्याएको ती युवकले बताए। त्यसपछि स्वास्थ्य परीक्षण गरेर फेरि साङ्लो लगाएर एकान्तमा लगेर राखेको उनले बताए। ‘खै कति बेला जहाज चढायो थाहा भएन। अमेरिकी अध्यागमनका कर्मचारीले आफ्नो देश भनेको आफ्नो हो भनेर कुरा सुनेपछि नेपाल फर्काएको थाहा भयो’, उनले भने।
उनले अमेरिका जाँदा एजेन्टलाई ४५ लाख रुपैयाँ तिरेका थिए। त्यसैगरी २० लाख रुपैयाँ अन्य खर्च भएको उनले बताए। उनले सात महिनामा जसोतसो १५ लाख रुपैयाँ कमाएका थिए। उनले भने, ‘जस्तो गएँ, त्यस्तै आएँ। जाँदा बरु अलिकति पैसा थियो। त्यो पनि सकियो।’
अमेरिकामा वैधानिक रूपमा बस्ने कागजात मिलेको र काम गर्न पाएको भए एक वर्षमा सबै ऋण तिर्न सक्ने दाबी उनको छ। ६० लाखजति ऋण कहाँबाट पैसा लिएर तिर्नु भन्ने चिन्ता थपिएको उनको गुनासो छ।
उनलाई प्रहरीले सञ्चारकर्मीसँग कुरा गर्न आग्रह गरेका थिए। ‘मैले अस्वीकार गरेँ। किनभने यति पढेको मान्छे अवैध बाटो भएर अमेरिका गएको भनेर बेइज्जत हुने डर छ’, उनले भने। सञ्चारमाध्यममा ठेगाना, फोटो र भिडियो आएको भए मर्नु न बाँच्नुको अवस्था हुने उनी बताउँछन्।
यसरी गयौँ अमेरिका
वीरगन्जका साथी र म काठमाडौँको त्रिचन्द्र क्यापसबाट एमएसी सकेपछि राहत कोटामा पढाउन वीरगन्ज गएका थियौँ। ती साथी मधेशका चर्चित नेताका छोरो भएका कारण जागिरका लागि समस्या भएन।
वीरगन्जमा दुई वर्ष पढाएपछि दुवै जना दाङको एउटा सरकारी विद्यालयमा विज्ञान विषय पढाउन गयौँ। ६ महिना पढाएपछि रोल्पाको एकजना विद्यार्थीले म अमेरिका जाँदै छु सर भन्यो।
मेरो साथी पनि अमेरिका कसरी जान सकिन्छ भनेर सोच्दै थियो। उसले त्यो विद्यार्थीबाट तल्लो बाटो जाने बताए। चार–पाँच महिना लाग्छ भन्ने जवाफ पाएपछि साथीले पनि अमेरिका पठाउने एजेन्ट भेटाउन विद्यार्थीलाई भन्यौँ।
उसले हुन्छ भनेको एक सातापछि अमेरिका पठाउने क्षेत्री थरका एजेन्टसँग भेट भयो। उनी रुकुपपूर्वका हुन्। उसले ४५ लाख रुपैयाँमा यूएई हुँदै अमेरिका पठाउने आश्वासन दिएपछि हामीले एजेन्टलाई तीन–तीन लाख रुपैयाँ बुझायौँ।
पैसा बुझाएको २० दिनपछि भिजिट भिसामा यूएई हुँदै ब्राजिल पुग्यौँ। ब्राजिल पुग्न सात दिन लागेको थियो। त्यहाँ अमेरिका हिडेका नेपालीसहित भारतीय नागरिकको संख्या धेरै थियो।
दुई महिना जति ब्राजिलमा बसेपछि पानामातिर लाग्यौँ। त्यहाँबाट अमेरिका पुग्न तीन महिना लागेको थियो। पानामाको जंगल हुँदै मेक्सिको गएर एक महिना बस्यौँ। अनि मात्रै अमेरिका छिरेका थियौँ।
यस अवधिमा २० लाखभन्दा बढी व्यक्तिगत खर्च भयो। एजेन्टलाई साथी र मैले ४५–४५ लाख रुपैयाँ बुझाएका थियौँ। अमेरिका गएपछि जिन्दगीले अर्कै मोड लिन्छ भनेर ठूलाठूला सपना बोकेका थियौँ। साथी र म पागलजस्तो भएका छौँ। दुई वर्षकी छोरी र श्रीमतीलाई कसरी अनुहार देखाउनु भनेर तनाव छ। अमेरिका जान जति कष्ट भोग्यौँ, त्यो भन्दा बढी आउँदा भोग्नुपरेको छ।