स्थानीय तहले प्रभावकारी सेवा प्रवाह गर्नुपर्छ : देउवा

हिमाल प्रेस २३ फागुन २०८१ १८:०६
8
SHARES
स्थानीय तहले प्रभावकारी सेवा प्रवाह गर्नुपर्छ : देउवा

महोत्तरी– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह जनताका सबैभन्दा नजिकका सरकार रहेको बताएका छन्।

शुक्रबार महोत्तरीको भारतीय सीमावर्ती मनराशिशवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उनले यहाँबाट सम्पादन हुने सेवा सरल र सहज बन्नसके जनताले असल सरकारको अनुभूति गर्न सक्ने उल्लेख गरे।

‘स्थानीय तह जनताको पहुँचको पहिलो सरकार हो, यहाँबाट जनताले पाउने सेवा, सुविधा प्रविधिमैत्री र सरल हुनसके जनप्रतिनिधि र कार्यालयबारे सकारात्मक सन्देश प्रवाह हुनेछ,’ सभापति देउवाले भने।

स्थानीय तहको दैननदिन काममा जनतासँग सोझो सरोकार हुने हुँदा यहाँको प्रभावकारी सेवा प्रवाहमा जनप्रतिनिधि दत्तचित्त भएर लाग्नुपर्ने पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाको भनाइ थियो।

कृषि क्षेत्रको विकास, स्थानीय पूर्वाधार, प्राकृतिक तथा धार्मिक सम्पदाको संरक्षणदेखि जनताका दैनिक सरोकारका काम स्थानीय तहबाट सम्पादन हुने हुँदा यहाँको कामले केन्द्रीय र प्रदेश सरकारका काम पनि जनताकेन्द्रित हुँदै जाने उनको ठम्याइ छ।

संघीय सरकारका काम सफल बन्न स्थानीय तह सुदृढ हुनैपर्ने उनले बताए।

स्थानीय तहले स्थानीय कृषि उत्पादनको बजार प्रवर्द्धन र आधुनिकीकरणमा ध्यान दिनपर्ने उनको भनाइ छ। ‘स्थानीय सीपको प्रवर्द्धन, यसका लागि समुचित तालिमको व्यवस्था र रोजगारीका सम्भावना स्थानीय तहले पहिल्याउन पर्छ,’ उनले भने, ‘खासमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखी कृषि सडक, बजार र सिँचाइको प्रबन्धमा ध्यान दिन जरूरी छ।’

यस्ता काममा सरकारसँगको समन्वयमा आफूले पहलकदमी लिने उनले प्रतिबद्धता जनाए।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधिले महोत्तरी जिल्ला र मनराशिशवा नगर नेपालको प्रजातान्त्रिक आन्दोलनमा सपूत जन्माउने ठाउँ रहेको बताए।

‘मनराशिशवा नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा अमर सहिद मिथिलेश दुबेको जन्मभूमि हो,’ निधिले भने, ‘यहाँ स्थानीय तहले गर्ने काम उहाँको सहादतलाई सम्झेर गर्नुपर्छ।’

दुबेले २०३६ सालको ऐतिहासिक जनआन्दोलनमा मनराशिशवाकै कटैया थाना नजिक सहादत प्राप्त गरेका थिए।

नेपाल सरकार र मनराशिशवा नगरपालिकाको सात करोड २८ लाख ५० हजार रुपैयाँको लागतमा निर्मित नयाँ तीनतले प्रशासकीय भवन भूकम्प प्रतिरोधी र वातानुकूलित रहेको नगरप्रमुख मोहन पाण्डेले जानकारी दिए।

जम्मा २६ कोठे भवनमा तीन सय जना अट्ने क्षमताको सभाहल र दुईवटा बैठककक्ष छन्। भवन अपाङ्गता भएकाहरूका लागि सुविधायुक्त, महिलाका लागि नानीहरूलाई स्तनपानकक्ष र अग्नि नियन्त्रक र जल आपूर्तिको सहज व्यवस्था रहेको पाण्डेले बताए।

भवन निर्माणमा ५० प्रतिशत रकम नेपाल सरकारबाट प्राप्त भएको र बाँकी नगरले व्यवस्थापन गरेको नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिए।

नगरप्रमुख पाण्डेको अध्यक्षतामा सम्पन्न समारोहमा कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य महेन्द्रकुमार राय, मधेस प्रदेश सरकारमा शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी र कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले नयाँ भवन भव्य बनेझैँ सेवा प्रवाह उत्कृष्ट हुन सकोस् भन्ने शुभेच्छा व्यक्त गरे।

प्रकाशित: २३ फागुन २०८१ १८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast