कोटीहोम भूमिपूजनमा झडप, २७ जना घाइते

विजय नेपाल २३ फागुन २०८१ १८:००
18
SHARES
कोटीहोम भूमिपूजनमा झडप, २७ जना घाइते पोखरामा कोटीहोम महायज्ञका लागि भूमिपूजन गर्ने क्रममा भएको झडपका क्रममा घाइते भएकालाई उद्धार गरिँदै। तस्बिर : हिमालप्रेस

पोखरा- पाेखरामा कोटीहोम महायज्ञका लागि भूमिपूजन गर्ने क्रममा शुक्रबार झडप भएको छ। पोखराको लेकसाइडमा मानवसेवा फाउन्डेसनले आयोजना गरेको भूमिपूजनमा झडप भएको हो। झडपका क्रममा नगर प्रहरी र मानव सेवा फाउन्डेसनका स्वयंसेवक गरी २७ जना घाइते भएका छन्।

पोखरा महानगरपालिकाका नगर प्रहरीतर्फ १२ जना र महायज्ञ आयोजकतर्फबाट स्वयंसेवक १५ जना घाइते भएका हुन्। उनीहरूमध्ये अधिकांशको टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेको पोखराको गण्डकी मेडिकल कलेज, मेट्रो सिटीलगायत अस्पतालमा उपचार भइरहेको छ।

फाउन्डेसनले शुक्रबार बिहान कोटीहोम महायज्ञका लागि भूमिपूजनको तयारी गरेको थियो। पोखरा महानगरपालिकाले भने अनुमतिबेगर महायज्ञ गर्न लागेको भन्दै रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको हो।
महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले महानगरपालिकाको स्वीकृतिबिना कोटीहोम सञ्चालन नपाइने भन्दै आयोजकलाई सम्झाउन खोज्दै उल्टै नगर प्रहरीमाथि हातपात भएको बताए।

उनले भने, ‘हामी सम्झाउँदै थियौँ तर उहाँहरुले एक्कासि रडलगायतका हतियार प्रयोग गरर आक्रमण गर्दा हाम्रोतर्फ १२ जना नगर प्रहरीहरु घाइते भएका छन्।’ उनले धर्मका नाममा पोखराको मुख्य पर्यटकीय क्षेत्रमै आतंक सिर्जना लागेको आरोप लगाए।

फाउन्डेसनले भने महानगर प्रहरीले सामानहरू जफत गर्न खोज्दा झडप भएको जनाएको छ। फाउन्डेसनका मिडिया संयोजक लेखराज ढकालका अनुसार अदालतले आदेश गरिसक्दासमेत कोटीहोम रोक्न महानगरले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो भूमिपूजनका लागि शुक्रबार बिहान १० बजेर २१ मिनेटको साइत रहेको उनले बताए।

सो बमोजिम बिहानैदेखि तयारी भएकोमा भूमिपूजनको कार्य सकिएपछि महानगर प्रहरीले एक्कासि आफ्नो सामानहरु जफत गर्न खोज्दा झडप भएको ढकालको दाबी छ। फाउन्डेसनले १७ वैशाखदेखि फेवाताल किनार वाराहीघाट र क्याम्पिङ चौरमा श्रीगण्डकी शत् (सय) कुण्डीय गायत्री कोटीहोम विराट ज्ञानमहायज्ञ-२०८२ आयोजना गर्दैछ।

महानगर प्रवक्ता तिम्सिना भन्छन्, ‘उता चौतारीहरु ध्वस्त बनाउने, यता पर्यटकीय क्षेत्रमा आतंक सिर्जना गरिएको छ।’ नागरिक समाज तथा पर्यटन व्यवसायीहरुको विरोध हुँदाहुँदै ९२ दिनसम्म कोटीहोम गर्नु गलत भएको उनले बताए।

पालिकासँग स्वीकृति लिएर सञ्चालन गर्नुपर्नेमा अदालतको आदेशसँगै जबर्जस्ती महायज्ञ गर्न लागेको उनको दाबी छ। कोटीहोमका समीधा (दाउरा) आवश्यक पर्ने भन्दै फाउन्डेसनले पोखरामा वर्षौँ पुराना वर, पीपल, शमी जातका रुख तथा चौतारी नष्ट गरेको थियो। संकलित करिब ५० ट्रक दाउरा महानगरले जफत गरेको थियो। दुवै पक्षबीच विवाद बढेपछि पोखरा महानगरपालिका नगरकार्यपालिका बैठकले समेत वातावरणीय प्रदूषणको कारण देखाउँदै कोटीहोम गर्न नपाइने निर्णय गरेको थियो।

फाउन्डेसनका संस्थापक विजय भण्डारीले पोखरामा पत्रकार सम्मेलन गर्दै धर्मका लागि अधर्म गर्न पनि पछि नपर्ने भनी विवादास्पद अभिव्यक्ति दिएका थिए।

विवाद बढ्दै गएपछि दुवै पक्ष न्यायका लागि अदालत धाएका थिए। उच्च अदालत पोखराले भने गत सातामात्रै पोखरा महानगरपालिकाका नाममा कानुनी व्यवस्थाबाहेक अवरोध नपुर्‍याउन अन्तरिम आदेश जारी गरेको थियो।

प्रकाशित: २३ फागुन २०८१ १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast