
काठमाडौँ- मलेसियामा कार्यरत नेपाली युवाको सम्बन्ध विच्छेद दर उच्च रहेको पाइएको छ। नेपालका लागि मलेसियाका राजदूत डा. नेत्र तिम्सिनाले आफूले एक महिना अवधिमा ६० वटाभन्दा बढी सम्बन्ध विच्छेदको वारेसमा हस्ताक्षर गरेको जानकारी दिएका हुन्। उनले हिमालप्रेससँगको अन्तर्वार्तामा भने, ‘एक महिनामा ६०/६५ सम्बन्धविच्छेदको वारेसमा हस्ताक्षर गरेँ।’ उनले दैनिक सरदर तीनजनाले यस्ता कागज लिएर आउने बताए।
उनका अनुसार सम्बन्ध विच्छेद गर्ने अधिकांश युवकले ‘म आएको यतिका वर्ष भयो श्रीमती म अन्तै जान्छु भनेपछि कसरी रोक्ने?’ भन्ने गरेका छन्। कतिपयका श्रीमतीले आफ्ना श्रीमान्ले मलेसियामा इन्डोनेसियन केटीहरूसँग बिहे गरेको थाहा पाएर पनि सम्बन्ध विच्छेद गर्ने गरेको तिम्सिनाले बताए।
सम्बन्ध विच्छेदका लागि नेपालमा रहेका श्रीमतीबाट कागज पठाउँछन्। मलेसियामा कार्यरत श्रीमान्ले दूतावासमा वारेस दिन जाने गरेका छन्। दैनिक रूपमा बढीमा तीनजनाले यस्तो कागज लिएर दूतावासमा आउने गरेको राजदूत तिम्सिनाले बताए।
राजदूत तिम्सिनाका अनुसार मलेसियमा करिब चार लाख नेपाली छन्। उनीहरू सुरक्षा गार्ड, उत्पादन कम्पनी, कृषि र सेवाजन्य क्षेत्रमा काम गरिरहेका छन्। चिकित्सा, नर्सिङ, सूचना प्रविधि क्षेत्रमा काम गर्ने नेपाली पनि छन्।
मलेसियामा सामान्य व्यापार गरेर बस्ने नेपाली पनि रहेको डा. तिम्सिनाले बताए। ‘यहाँको हावापानी राम्रो छ भने कामदारको पारिश्रमिक पनि राम्रै छ। कतिपयले गलत सूचना पाउने हुनाले समस्या भएको हो। सही सूचना पाएर आएका कामदारलाई मलेसियामा समस्या छैन’, उनले भने।
मलेसियाका अर्बपतिहरू नेपालमा लगानी गर्न इच्छुक छन् : राजदूत डा. नेत्रप्रसाद तिम्सिना [अन्तर्वार्ता]