मलेसियाका अर्बपतिहरू नेपालमा लगानी गर्न इच्छुक छन् : राजदूत डा. नेत्रप्रसाद तिम्सिना [अन्तर्वार्ता]

चन्द्रशेखर अधिकारी २३ फागुन २०८१ १५:३४
200
SHARES
मलेसियाका अर्बपतिहरू नेपालमा लगानी गर्न इच्छुक छन् : राजदूत डा. नेत्रप्रसाद तिम्सिना [अन्तर्वार्ता]

मलेसियामा नेपाली राजदूतका रूपमा रहेका छन् डा. नेत्रप्रसाद तिम्सिना। उनले डेढ महिनाअघि मलेसियास्थित नेपाली दूतावासको प्रमुखको जिम्मेवारी सम्हालेका हुन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कृषि तथा पशुविज्ञान अध्ययन संस्थानबाट स्नातक र बेलायतको रेडिङ विश्वविद्यालयबाट राजनीतिक अर्थतन्त्र तथा प्राकृतिक स्रोत व्यवस्थापनमा स्नाकोत्तरसँगै पीएचडी गरेका उनी राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहको विकासको राजनीतिक अर्थतन्त्र र प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी नीति अनुसन्धानमा सक्रिय थिए।

नेपाल रेडक्रस विवादमा पर्दा तदर्थ समितिको कार्यकारीसमेत भएर नयाँ नेतृत्व चुन्न सफल भएका तिम्सिनासँग विभिन्न गैरसरकारी संस्थामा रहेर काम गरेको अनुभव छ। उनी तीन दशकदेखि दक्षिण एसियामा गरिबीका संरचनागत कारणहरू, असमानता र अन्याय जस्ता विषयमा आवाज उठाउँदै आएका छन्। राजदूत डा. तिम्सिनासँग मलेसिया भ्रमणका क्रममा हिमालप्रेसका चन्द्रशेखर अधिकारीले नेपाली दूतावासमा पुगेर गरेको वार्ता :

मलेसियामा राजदूत भएर आउनुभएको धेरै समय त भएको छैन। यहाँका राजनीतिक व्यक्तिसँग भेटघाट गरिसक्नुभएकाले यो मुलुकको महत्त्व केके छन् भन्ने बुझ्न पाउनुभयो कि भएन?

मलेसियालाई श्रमिक पठाउने मुलुकका रूपमा मात्र चिनिन्छ। यो बुझाइ गलत हो। मलेसिया आफ्नै गतिमा विकसित हुँदै गएको आसियान राष्ट्र हो। अहिले मलेसिया आसियानको अध्यक्ष छ। १३ हजार अमेरिकी डलर आयस्रोत रहेको मुलुक हो मलेसिया। कुल गार्हस्थ उत्पादन पनि ६ प्रतिशतभन्दा माथि छ। यहाँ मानव जीवनलाई आवश्यक पर्ने स्रोत सबै छन्। तेल, खनिज, बिजुली, कृषि जमिन र नदीनाला प्रशस्त छन्।

मलेसिया नेपालभन्दा तीन गुना ठूलो छ। यसको जमिन र पानी दुवै उत्तिकै उपयोग भएका छन्। यसले पूर्वी एसियाली मुलुकको समूह आसियनसँगको व्यापारमा अग्रणी छ मलेसिया। चीनसँग पनि सम्बन्ध विस्तार गरेको छ। त्यहाँ पनि उत्तिकै व्यापार गरिरहेको छ। यहाँ उत्पादन भएका सामान विश्वभर निर्यात गरिरहेको छ। यस क्षेत्रमा चीनपछि सबैभन्दा बढी समान उत्पादन गरेर बिक्री गर्ने मुलुक मलेसिया हो।

मुलुक सम्पन्न हुँदै गएपछि यसले आफ्नो प्राचीन इतिहास जोगाउने काम गरिरहेको छ। भाषा, संस्कृति, साहित्यमा पनि ध्यान दिएको देखिन्छ। शिक्षा र पर्यटनका क्षेत्रमा मलेसियाले निकै काम गरेको छ। सिंगापुर घुम्ने नेपाली मलेसिया भएर आउने र मलेसिया घुमेर सिंगापुर पनि घुम्ने गरेको देखिन्छ। प्रविधिमा मलेसिया निकै माथि पुगेको छ। यहाँ सूचना प्रविधि पढ्न विश्वभरबाट विद्यार्थी आउने गरेका छन्। मलेसिया सरकारले ‘माई हार्ट’ भन्दै पढेलेखेका नागरिकलाई मलेसिया फर्काउने काम गरिरहेको छ। उनीहरूका लागि काम दिन योजना सरकारले बनाएको छ।

मलेसियालाई हामीले हाम्रा श्रमिक जाने मुलुकका रूपमा मात्र लिन हुँदैन। हामीले सोचेभन्दा फरक छ। कूटनीतिक क्षेत्रलाई राम्रोसँग परिचालन गरेको छ। यहाँ रहेका ९१ कूटनीतिक नियोगलाई पनि उसले आवश्यक पर्दा परिचालन गर्दो रहेछ। मलेसियाले पटकपटक दूतावास सबैलाई आफ्नो क्षेत्र बढाउन र सहयोग माग्न पनि बोलाइरहन्छ। म आएको ६ सातामा यहाँको अवस्था बुझ्ने, जानकारी लिने, समस्या सल्टाउने काम गर्न थालेको छु। अब सुरक्षा क्षेत्रमा पनि कामदार आउने प्रक्रिया अघि बढेको छ।

मलेसियालाई ‘ट्रुली एसिया मलेसिया’ को नारा लगाएर पर्यटन भित्र्याएको विषयमा यहाँको बुझाइ के छ? नेपाल र मलेसियाबीच पर्यटन क्षेत्रमा सहकार्य हुन सक्दैन?

हो, निकै पहिला महाथिर मोहम्मद प्रधानमन्त्री हुँदा यो नारा लगाएर विश्वको पर्यटक र लगानीकर्ता भित्र्याउने काम भएको थियो। त्यो काम अझै कायम छ। यहाँ ‘पर्यटन वर्ष २०२८’ को प्रचार भइरहेको छ। मलेसिया चिनाउने र अधिकतम पर्यटक भित्र्याउने लक्ष्य मलेसियाले राखेको छ। पर्यटन उनीहरूको अर्थतन्त्रको एक खम्बा हो। अर्थतन्त्र थप बलियो बनाउन, मलेसियाको परम्परा नयाँ पुस्तालाई बुझाउन र मित्र मुलुकसँग सहकार्य गर्न उनीहरूले पर्यटन वर्ष मनाउन लागेका छन्। यसमा हामीले नेपाललाई जोड्न सके धेरै काम हुनेछ।

मलेसिया काठमाडौँबाट मलेसिया साढे चार घण्टाको हवाई उडानमा पुगिन्छ। हामीले व्यापारमा मलेसियासँग के गर्न सकिन्छ भन्नेबारेमा प्रयास गरिरहेको छु। यही पर्यटन वर्षमा हाम्रो भूमिका कस्तो रहने भन्ने विषयमा छलफल सुरु भएका छन्। त्यसमा म सहजीकरण गर्ने प्रयासमा छु। परराष्ट्र मन्त्रालयमा यस क्षेत्रमा काम गर्ने गरी आर्थिक कूटनीतिक विभागअन्तर्गत केही प्रक्रिया अघि बढ्ने देखिन्छ। यस वर्ष केही विषय मलेसियाले मस्यौदा गर्दैछ। उनीहरू यसतर्फ लाग्ने हुनाले मलेसियासँग हामीले नजिक भएर काम गर्न आवश्यक छ। आर्थिक क्षेत्रमा भारतपछि हामी मलेसियासँग सहकार्य गर्न सक्छौँ।

नेपालमा मलेसियाबाट पर्यटक भित्र्याउने कसरी त?

पर्यटनका विषयमा हामीले ध्यान दिनुपर्छ। मलेसियाले पर्यटन वर्ष मनाउँदै गर्दा त्यसअघि हामीले मलेसियाका नागरिकलाई नेपाल चिनाउन सक्नुपर्छ। नेपालीप्रति उनीहरू सकारात्मक छन्। त्यसैले मलेसियामा नेपालको मनमोहक दृश्यबारे प्रचार गर्न दूतावास लाग्नेछ। मलेसियासँग पर्यटनका विषयमा सहकार्य गर्न सकिन्छ। पर्यटक आउने मुलुक भएकाले त्यहाँ लैजान हाम्रो संस्कृति, परम्परा, हिमाल, नदीनालासँगै बहुजाति र बहुभाषी अध्ययनमा जोड दिन सकिन्छ। यस वर्ष त हामी अलिक ढिला भयौँ कि भन्ने लागेको छ। प्रयास भने जारी छ। हामीले पर्यटन बोर्ड, हाम्रा व्यापारिक निकाय एफएनसीसीआई, सीएनआई र अन्य समूहसँग पनि सहकार्यका लागि छलफल गराउने गरेका छौँ।

यतिबेला मलेसियामा कति नेपाली छन्? उनीहरू के कसरी कुन क्षेत्रमा काम गरिरहेका छन्?

यहाँ करिब चार लाख नेपाली छन्। यहाँको सरकारले उपलब्ध गराएको तथ्यांकमा तीन लाख ८७ हजार नेपाली छन्। उनीहरू सुरक्षा गार्ड, उत्पादन कम्पनी, कृषि र सेवाजन्य क्षेत्रमा काम गरिरहेका छन्। चिकित्सा, नर्सिङ, सूचना प्रविधि क्षेत्रमा काम गर्ने नेपाली पनि छन्। सामान्य व्यापार गरेर बस्ने नेपाली पनि छन्। यहाँको हावापानी राम्रो छ भने कामदारको पारिश्रमिक पनि राम्रै छ। कतिपयले गलत सूचना पाउने हुनाले समस्या भएको हो। सही सूचना पाएर आएका कामदारलाई मलेसियामा समस्या छैन।

यहाँ समस्या भनेको बिदा नपाउने हो। सुरक्षा गार्डले ३० दिन १२ घण्टा सुरक्षा दिनुपर्छ। त्यसो गर्दा कामदार मोटाउने र अल्छी हुँदा रहेछन्। कतिपय स्थानमा दुई वर्षका लागि भनेर कामदार ल्याइन्छ। दुई वर्षसम्म बिदा नदिँदा ‘होम सिक’ हुने पनि छन्। कतिपयले जोखिम क्षेत्रमा पनि काम गरेका छन्। काठ उद्योग र कृषिमा काम गर्नेहरू डराईडराई गर्छन्। कृषिमा काम गर्नेहरू सर्पको भयमा छन् भने जंगलमा काम गर्दा अन्य जंगली जनावरको त्रास हुन्छ।

नेपालीलाई मलेसियामा पर्ने समस्याचाहिँ के होला?

नेपाली कामदारलाई भाषाको समस्या धेरै छ। मलाया र अंग्रेजी नजान्ने बढी समस्यामा हुन्छन्। नेपाली र हिन्दी भाषा मात्र जान्नेलाई पनि समस्या छ। एउटा क्षेत्रमा काम लगाउँछु भनेर अर्कोमा लैजाने र मासिक पारिश्रमिक म्यानपावरका एजेन्टहरूले बढाएर भनिदिने हुनाले कतिपय नेपाली डिप्रेसनमा गएर आत्महत्या गर्न बाध्य छन्। निधन भएका व्यक्तिको शव मलेसिया एयरलाइन्सले मात्र लैजाने हुँदा पालो पर्खेर पठाउन परिरहेको छ।

नेपाली कामदार यहाँ आइसकेपछि केही महिनामा घर जान खोज्छन्। तत्काल बिदा पाउँदैनन्। त्यसले गर्दा बिस्तारै डिप्रेसनमा जान्छन्। कामदार बिरामी भएपछि अकुपन्ञ्चर गराउने पनि गरेको देखियो। एकोहोरिएर बसेका कामदारलाई अकुपन्चर गर्दा झनै कठिन हुँदो रहेछ। कतिपय स्थानमा दुईतीन जनालाई बिदा दिलाएर पठाएको छु। बिदामा गएपछि सहज अनुभूति गर्ने र आएर राम्रोसँग काम गर्ने गरेको देखिन्छ। आएको दुई वर्ष कतिपय स्थानमा तीन वर्ष फर्कन नपाउने बन्डिङ हुने रहेछ। यस्तो त दासत्व भयो, यसमा सोच्न आवश्यक छ।

मलेसिया आउनुअघि जागिर पाउने ग्यारेन्टी र न्यूनतम पारिश्रमिक निश्चित हुनैपर्छ। १२ घण्टा ३० दिन काम गर्ने सुरक्षागार्ड एकै स्थानमा बसेर दुई तीन वर्ष काम गर्दा शरीर बिग्रनु स्वाभाविकै हो। बरु कृषिमा काम गर्नेहरूको शारीरिक अभ्यास हुनेछ।

समस्या लिएर दूतावास आउने नेपाली कति छन्? अनि उनीहरूका समस्या केकस्ता हुन्छन्?

भनेजति पारिश्रमिक र बिदा नपाएको गुनासो बोकेर दूतावास आउने गरेको देखिन्छ। कामबाट निस्केर घर फर्कन पाऊँ भन्दै दूतावासमा आउने पनि छन्। हामीले कसले ल्याएको र कसरी आएको सबै अध्ययन गरेर मिल्ने सम्म मिलाउने र नमिल्ने अवस्थामा फर्काउने गरेका छौँ।

कतिपय कम्पनी टाट पल्टेर बन्द भएका हुन्छन्। केही नेपाली म्यानपावरले त्यसमा श्रम स्वीकृत दिलाएर कामदार पठाएका हुन्छन्। कतिपयलाई महिनाको २२ सय रिंगेट हुन्छ भनेर पठाइँदो रहेछ। उसले १२–१३ सयमात्र पाउँदो रहेछ। यसरी ठगिएको अनुभूति गर्दै दूतावासको शरणमा आउँछन्। बिदा नपाउने समस्या धेरै रहेछ। त्यसमा पुनर्विचार आवश्यक छ।

सुरक्षा गार्डको चाहिँ सहज रहेछ होइन त?

त्यति सहज त छैन। उनीहरू झन् रोगी शरीर लिएर घर फर्किएका छन्। ३० दिनसम्म दैनिक १२ घण्टा एकै स्थानमा काम गर्दा साह्रै गाह्रो हुने रहेछ। त्यसैले एक दिन बिदा दिने बिहान ध्यान गराउने जस्ता अभ्यास आवश्यक छ। यस्ता सानासाना समस्या समाधान गर्न सकेमा यहाँ धेरै नेपाली आएर केही रकम बचाएर नेपालमा काम गर्ने स्थान तय गर्न सक्नेछन्। अर्थात् योग्य नागरिकका रूपमा नेपाल फर्कन सक्छन्। गर्मीमा लामखुट्टेले टोक्ने र डेंगु लाग्ने जस्ता समस्या छ।

नेपालमा जग्गा बाँझो राखेर यहाँ यस्तो गाह्रो गरी काम गर्न आएको देख्दा दिक्क लाग्दैन तपाईँलाई?

लाग्छ नि, तर के गर्नु? नेपालमा उत्पादन गरेको वस्तुले बजार पाउँदैन। किसान रोइरहेका छन्। त्यस्तो भोगेर यता आएका युवाले श्रम के हो बुझ्छन् जस्तो लाग्छ। कृषिमा काम गर्नेहरू त सर्पसँग आम्नेसाम्ने गर्छन्। पचास केजीभन्दा बढीको पाम आयलको झुप्पा लोड-अनलोड, जंंगल र घाममा काम गर्दा श्रम बुझेका हुन्छन्। अनि फर्केर केहीले नेपालमा राम्रो गरेका पनि छन्। उदाहरण त तपाईँकै सञ्चारमाध्यममा पनि पढेको छु।

यहाँ डिभोर्स (सम्बन्धविच्छेद) को केस पनि त आउला वारेसनामाका लागि?

नेपालमा रहेका श्रीमतीबाट कागज पठाउने र यहाँ रहेका श्रीमान्‌ले वारेस दिन आउँछन्। यस्ता कागज लिएर दैनिक लगभग तीनजना आउँछन्। महिनाको ६०/६५ सम्बन्धविच्छेदको वारेसमा हस्ताक्षर गर्ने गरेको छु। धेरै युवा भन्छन्, ‘म आएको यतिका वर्ष भयो श्रीमती म अन्तै जान्छु भनेपछि कसरी रोक्ने?’ अनि कतिपय महिलाले आफ्ना श्रीमान्‌ले मलेसियामा इन्डोनेसियन केटीहरूसँग बिहे गरेको थाहा पाएर पनि उताबाट पत्र पठाउँदा रहेछन्।

यस्तो समस्या समाधान गर्न के गर्नुपर्ला?

युवा पुस्तालाई नेपालमा राखेर मुलुक निर्माणमा लगाउन आवश्यक छ। मलेसिया जस्तो मुलुक समृद्ध छ। हाम्रो मुलुकमा किन नसक्ने त? तर हामीले युवालाई स्वदेशमा टिकाउन सकेका छैनौँ। उत्पादन कम्पनीहरू नेपाल लैजाने, त्यसलाई अघि बढाउने, कृषिमा आधुनिकीकरण गर्ने, लगानी भित्र्याउने र सूचना प्रविधिका क्षेत्रमा शिक्षित युवालाई लगाएर मुलुक अघि बढ्न सक्छ। हामीले दीर्घकालका लागि यस विषयमा सोच्नै आवश्यक छ। अन्यथा रेमिट्यान्ससँगै आराम गर्नुपर्ने व्यक्ति र शव भित्र्याएर मुलुकको विकास हुँदैन।

हामीलाई मलेसियालगायत अन्य मुलुकले खासै प्राथमिकतामा राख्दैनन् भनिन्छ। मलेसियाले नेपालमा कार्यवाहक राजदूतबाट काम चलाएको छ। श्रमिक पठाउने राष्ट्र त हो भनेर हेर्ने दृष्टिकोण फरक हुन्छ रे हो?

नेपालमा राजदूत नपठाएको त लामो समय भयो। चार्ज डी अफेर्यस स्तरबाट चलाउँदै आएको छ। यहाँ हामीलाई प्राथमिकतामा राखेको छ। सबै कार्यक्रममा बोलाउँछन्। दुईपक्षीय कुराकानी खुला रूपमा हुने गरेको छ। त्यसैले प्राथमिकतामा नराखेको भन्ने होइन। आसियानको अध्यक्ष भएकााले दक्षिणपूर्वी एसियाली मुलुकको समग्र समस्यामा यो मुलुक केन्द्रित हुनुपर्ने अवस्था छ। त्यसमा पनि हाम्रो सल्लाहसुझाव लिने गरेको देखिन्छ। मलेसिया आफैँ विकसित मुलुकको हाराहारीमा भइसकेकाले नेपालले सहकार्य गरेर अघि बढ्न सकेमा धेरै राम्रो हुनेछ। यसो गर्दा पर्यटन, कृषि र निर्माणका क्षेत्रमा सहकार्य हुने देखिन्छ।

दुईपक्षीय सहकार्य र लगानीका विषयमा कुरा हुँदैन कि चासो राख्दैनन्?

मैले एक चरण मलेसियाका उच्चस्तरीय नेतासँग भेटवार्ता गरेँ। त्यसमा नेपाललाई निकै महत्त्व दिएको पाएँ। सडक निर्माण, गलत र भ्रामक सूचना नियन्त्रणमा सहकार्य गरेर काम गर्ने, मलेसिया काउन्सिल र नेपालको काउन्सिलबीच सहकार्य गराउने जस्ता विषयमा छलफल हुने गरेको छ। मलेसियाले युरोपेली मुलुकको जस्तो हैसियत बनाउँदै गएको देखिन्छ। लगानीको वातावरण बनेमा मलेसियाका अर्बपतिहरू नेपाल आउन तयार छन्।

मलेसियासँग नेपाल जोड्ने सम्भावना देख्नुभएको छ?

मलेसियामा बौद्धमार्गी धेरै छन्। उनीहरूलाई नेपालसँग जोड्न आवश्यक छ। बौद्धमार्गीले मायादेवी मन्दिर जाने क्रममा अन्य मन्दिरको पनि पूजाअर्चना गर्छन्। त्यसलाई अझ जोड्न केही दिनअघि एक अभियन्ता आवश्यक छ। हामीले नेपालमा सम्बन्धित निकायसँग यस विषयमा छलफल गरेर दायरा फराकिलो भएको स्पष्ट पार्न आवश्यक छ।

कसरी जोड्नुहुन्छ यहाँले?

यहाँ ठूलाठूला बौद्ध फाउन्डेसन छन्। यहाँ २६८ मिटर अग्लो बुद्धमूर्ति बनाउने योजना छ। बुद्ध भिलेज बनाएर लुम्बिनीसँग जोड्नुपर्छ। लुम्बिनी बुद्ध जन्मस्थल हो भनेर भावनात्मक सम्बन्ध भएका मलेसियाली धेरै रहेछन्। मलेसियामा हिन्दु मन्दिर पनि धेरै छन्।

मलेसियाबाहेक अन्य मुलुक पनि हेर्नु हुन्छ नि? मलेसियाले किन सिंगापुर हेर्दैन र थाइल्यान्डले हेर्छ?

म मन्त्रालयले छुट्ट्याएको सहप्रमाणीकरणको पाटो मात्र हेर्छु। मैले मलेसियाबाहेक फिलिपिन्स, इनडोनेसिया, ब्रुनाई र इस्ट टिमोरलाई हेर्ने गरेको छु। सबैका मुलुकमा नेपालको उपस्थिति छ। कतै विज्ञका रूपमा छन्। कहीँ नेपाली काम गर्न पुगेका छन्। नेपालीले आफ्नो नाम पनि राखेका छन्। मलेसियाले सिंगापुर किन हेर्दैन भन्ने जानकारी हामीलाई हुने कुरा भएन। हामीले जोड गर्ने भन्दा पनि मन्त्रालय आफँैले अध्ययन गरेर तय गरेको होला। यसमा मलाई भन्दा मन्त्रालयलाई नै सोध्ने कि?

प्रकाशित: २३ फागुन २०८१ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast