
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चर्काचर्कीपछि युक्रेन र अमेरिकाबीच फेरि एकपटक वार्ता हुने भएको छ।
युक्रेनका राष्ट्रपति ब्लादिमिर जेलेन्स्कीले आगामी साता अमेरिकासँग वार्ता हुन लागेको जानकारी गराएका हुन्। उनले साउदी अरबमा अमेरिकासँग वार्ता हुने बताएका छन्।
जलेन्स्कीले यो ‘महत्वपूर्ण बैठक’ हुने विश्वास व्यक्त गरेका छन्। उनी खाडी मुलुकमै भए पनि वार्तामा सहभागी नहुने बताइएको छ। जेलेन्स्कीले युक्रेन यथासम्भव चाँडो स्थायी शान्तिका लागि काम गरिरहेको बताएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत स्टीव विटकौफले अमेरिका रूस–युक्रेन युद्ध अन्त्य गर्न शान्तिको खाकामाथि चर्चा गर्न चाहिरहेको बताएका छन्।
गत शुक्रबार व्हाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच वार्ताका क्रममा चर्काचर्की भएको थियो। चर्काचर्कीपछि जेलेन्स्की वार्ता छोडेर व्हाइट हाउसबाट बाहिरिएका थिए। त्यस क्रममा ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्की लडाइँ अन्त्य गर्न तयार नभएको प्रतिक्रिया दिएका थिए।
यसैबीच अमेरिकाले युक्रेनलाई प्रदान गर्दै आएको सैन्य सहायता उपलब्ध गराउन बन्द गर्नुका साथै गोप्य जानकारी साझा गर्न समेत छोडेको छ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यो घटनाप्रति खेद प्रकट गर्दै सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकाका साथ सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन्।
ट्रम्पका विशेष दूत विटकौफले जेलेन्स्कीले पत्र पठाएर ‘माफी’ मागेको बताएका छन्।
रूसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्ण रूपले आक्रमण गरेको थियो र यतिबेला युक्रेनको लगभग २० प्रतिशत हिस्सा आफ्नो कब्जामा गरेको छ।