
कञ्चनपुर- बङ्क–नायल–बुडर सडक कालोपत्रको ठेक्का भएको चार वर्षपछि निर्माण व्यवसायीले काम अघि बढाउने प्रतिबद्धता जनाएका छन्। सडक निर्माणको ठेक्का लिएको सन्तोषी थेगिम जेभीले पूर्वाधार विकास कार्यालयमा लिखित रूपमा सडक कालोपत्र गर्ने प्रतिबद्धतापत्र बुझाएको हो। कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुनबहादुर साउदको दबाबमूलक कार्यक्रम पछि निर्माण व्यवसायी सम्पर्कमा आएका हुन्।
वडाध्यक्ष साउदले पाँच दिनदेखि सडक कालोपत्रको माग गर्दै वडाको सेवा प्रवाह गर्दै सडकको प्रवेश बिन्दुमै टेबुल र कुर्सी राखेर दबाब दिएका थिए। ‘सडक कालोपत्र गर्ने ठेक्का सम्झौतासमेत गरेको व्यवसायी सम्पर्कविहीन भएपछि हामीले दबाबमूलक कार्यक्रम सञ्चालन गरेका हौं,’ उनले भने, ‘पूर्वाधार विकास कार्यालयदेखि प्रदेशका कार्यालयसम्म पुग्यौँ, आश्वासन पाइरहेका थियौँ तर काम अगाडि बढेन।’
सडक खाल्डा र धुलाम्मे भएर स्थानीय बासिन्दाले आवतजावत गर्न कठिनाइ महसुस गर्दै आएका थिए। वडाध्यक्ष साउदले भने,‘स्थानीयहरूले पनि सडक कालोपत्रको लागि दबाब दिइरहेका थिए, त्यसैले रचनात्मक आन्दोलनका रुपमा हामी सडकमा बसेर वडाको सेवा दिन थालेपछि निर्माण व्यवसायी काम अघि बढाउन सहमत भएका छन्।’
निर्माण व्यवसायीले प्रतिबद्धतासहित काम सुरु गरेका कारण वडाध्यक्ष साउदले तत्कालका लागि दबाबमूलक कार्यक्रम स्थगन गरेका छन्। निर्माण कम्पनीले कालोपत्र गर्नका लागि गिटी राख्न थालिसकेको छ। निर्माण कम्पनीले पूर्वाधार विकास कार्यालयलाई पठाएको प्रतिबद्धतापत्रअनुसार आउँदो चैत २० गतेसम्म सडकको बेस राख्ने र चैत २१ गतेबाट कालोपत्रको काम सुरु गर्ने बताइएको छ।
पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्र अधिकारीले म्याद थपेर निर्माण कम्पनीले प्रतिबद्धता पत्र पठाएको जानकारी दिए। सडक निर्माणको म्याद विसं २०७७ साउन २० मा सम्झौतासाथ सुरु भएको थियो र म्याद विसं २०८१ वैशाखमा सकिएको थियो। त्यसपछि म्याद विसं २०८२ चैत ३० गतेसम्म थप गरिएको छ। अहिलेसम्म सडक निर्माणको प्रगति ३५ प्रतिशत मात्रै भएको छ। बङ्कदेखि दोमिल्लासम्म सात किलोमिटर सडक कालोपत्रको ठेक्का ११ करोड ८६ लाखमा भएको थियो।