महोत्तरीको बलवामा बहुउद्देश्यीय पोलिटेक्निकल इन्स्टिच्युट निर्माण हुँदै

हिमाल प्रेस २२ फागुन २०८१ ११:२३
12
SHARES
महोत्तरीको बलवामा बहुउद्देश्यीय पोलिटेक्निकल इन्स्टिच्युट निर्माण हुँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय। फाइल तस्बिर

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र विस्तार गर्ने अभियान सुरु गरेको छ।

पहिलो चरणमा मधेस प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयअनुसार फागुन २० गते भूमिसुधार तथा मालपोत कार्यालय, महोत्तरी, र मन्त्रालयबीच सम्झौतामा हस्ताक्षर भई जग्गा प्राप्त भएको मन्त्रालयले जनाएको छ।

यसै क्रममा, साउदी सरकारले उपलब्ध गराएको १० लाख अमेरिकी डलरको आर्थिक सहयोग र अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको प्राविधिक सहयोगमा महोत्तरीको बलवा नगरपालिकामा बहुउद्देश्यीय पोलिटेक्निकल इन्स्टिच्युट स्थापनाको प्रक्रिया अघि बढाइएको हाे।

मन्त्रालयले प्रतिष्ठान मातहतका विभिन्न व्यावसायिक प्रशिक्षण केन्द्रमार्फत श्रम बजार लक्षित सीपमूलक तालिम सञ्चालन गर्दै दक्ष जनशक्ति उत्पादन, सीप परीक्षण, स्तरीकरण तथा प्रमाणीकरणलाई प्राथमिकता दिएको छ। साथै, प्रमुख श्रम गन्तव्य मुलुकहरूसँग द्विपक्षीय संवाद र समन्वयलाई निरन्तर अघि बढाउने मन्त्रालयको योजना रहेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयको नीति निर्देशनअनुसार प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्रहरूको विस्तारलाई प्राथमिकतामा राखेको छ। यसले श्रम बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्दै आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर वृद्धि गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

प्रतिष्ठानका कार्यकारी निर्देशक रमेशकुमार बखतीका अनुसार यो कार्य प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, उद्योग संघसंस्था तथा स्थानीय समुदायहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने योजना रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast