‘राजागंज’ मा मधेसको कथा

हिमाल प्रेस २२ फागुन २०८१ १०:५७
18
SHARES
‘राजागंज’ मा मधेसको कथा

काठमाडौँ- नेपाली फिल्म निर्देशन गरेर अन्तर्राष्ट्रिय रूपमा परिचित निर्देशक दीपक रौनियार निर्देशित ‘राजागंज’ मधेसको कथामा बनेको छ। पत्रकार सम्मेलनमा निर्देशक रौनियारले आफूले झण्डै आठ वर्षअगाडि सोचेको कथालाई फिल्ममा ल्याएको बताए। उनले भने, ‘यो मेरो भोगाइ पनि हो तर यसलाई प्रहरीको कथामा पटकथा तयार गरेको छु। यसमा मधेसको संस्कृति, विविधता, विभेदलगायत घटनाक्रमलाई देखाइएको छ। यो एउटा महिला प्रहरी अधिकृतको कथा हो।’

निर्देशक रौनियारले फिल्मको विषय सोचेपछि धेरै महिला प्रहरीलाई भेटेर गरिएको कुराकानीकै आधारमा ‘पूजा’ नामक पात्रको निर्माण गरिएको बताए। उनले नेपालबाहिर ‘पूजा सर’ कै नाममा प्रदर्शन गर्दैछन्। फिल्ममा सात महिला पात्र केन्द्रीय भूमिकामा छन्। ‘फिल्ममा मधेसमा महिला कार्यकारी हुँदाको परिस्थिति र उसले भोग्नुपर्ने समस्यालाई देखाउने कोसिस गरेका छौँ। विश्वका ठूलाठूला महोत्सवमा छानिएको फिल्म बल्ल हामीले नेपाल ल्याएका छौँ। यो हाम्रो समाजकै एउटा कथा वा घटना हो’, उनले भने।

फिल्मको केन्द्रीय भूमिकामा रहेका कलाकारमध्ये एक अभिनेता दयाहाङ राई छन्। उनले व्यावसायिक सफल फिल्म ‘कबड्डी’ र ‘जारी’ सँगै अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छानिएका ‘हाइवे’, ‘सेतो सूर्य’, ‘गाउँ आएको बाटो’ लगायतमा पनि काम गरिसकेका छन्।

कलात्मक र व्यावसायिक दुवै किसिमका फिल्ममा अभिनय गर्न आफूले सोहीअनुसार तयारी गरेको अभिनेता राईले बताए। ‘एकै किसिमको फिल्ममा प्रस्तुत भएमा त्यसले विविधता दिन सक्दैन। हामीले केही समययता अब्बल फिल्म बनाइरहेका छौँ, जसले अन्तर्राष्ट्रिय महोत्सवमा वाहवाही पाइसकेको छ। त्यस्ता फिल्ममा मलाई सुहाउँदो पात्र लिएर आउने निर्माता र निर्देशकलाई म नकार्न सक्दिनँ किनकी देशबाहिर फिल्म होस् या खेलकुद देशलाई प्रतिनिधित्व गरेर गइरहेका हुन्छौँ’, उनले भने।

अभिनेत्री ऋचा शर्माले फिल्ममा आउनैपर्ने मधेसको एउटा कथा आएको बताइन्। उनले भनिन्, ‘यो विषयमा फिल्म बन्नु आवश्यक थियो। मधेसको कथामा केन्द्रित रहेर फिल्ममा केन्द्रीय भूमिकामा महिला छन्, सात महिलाले कथा भनेका छौँ। यसले मधेसको विविधतालाई फिल्ममार्फत धेरै दर्शकसम्म पु¥याउँछ।’

फिल्ममा अभिनेता राईसँगै आशा मगराती, विजय बराल, गौमाया गुरुङ, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, नीरज श्रेष्ठलगायत कलाकारको अभिनय छ। नेपालमा सार्वजनिक प्रदर्शन अगावै भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘राजागञ्ज’ छनोट भएर प्रदर्शन भइसकेको छ।

नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथा पनि समेटिएको निर्मातामध्येका एक रामबाबु गुरुङले जानकारी दिए। उनले भने ‘तराईको सौन्दर्य, संस्कृतिसँगै त्यहाँ भएको एउटा घटनाक्रमलाई हामीले फिल्मको विषय बनाएका छौँ। यसलाई घटेका घटनाहरूबाट प्रेरित भएर तयार गरेका हौँ। विश्वभर महोत्सवमा सहभागी भएर रुचाइएको फिल्म नेपाली दर्शकको प्राथमिकतामा पर्नेछ भन्ने विश्वस्त छौँ।’ यो फिल्म निर्माणमा भारतीय निर्देशक अनुराग कश्यप, निर्देशक रामबाबु गुरुङ, अभिनेता दयाहाङ राईले सहकार्य गरेको उनले बताए।

फिल्म आगामी चैत १ देखि हलमा लाग्नेछ।

प्रकाशित: २२ फागुन २०८१ १०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast