
काठमाडौँ- पछिल्लो समय विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी उत्पादन क्षेत्रमा लागेको छ।‘आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता एवम् कार्यकर्ता’ नारासहित नेकपा अहिले कर्णालीका बाँझो जमिनमा खेती अभियानमा सक्रिय छ।
जुम्ला, कालिकोट, मुगु, हुम्लालगायतका जिल्लामा स्याउ, ओखर खेती र भेडापालन अभियान सञ्चालन भइरहेको छ।
गत फागुन ११ गते जुम्लाको हिमा गाउँपालिका-७, धौलापानीमा करिब १३ हजार वर्गमिटर क्षेत्रफलमा २ हजार स्याउका बिरुवा तथा ४ सय दाँते ओखरका बिरुवा रोपिएको छ। यसका लागि सहिद परिवारकी कृष्ण कौरा शाहीको जग्गा २० वर्षका लागि लिजमा लिइएको छ।
कालिकोटमा गत फागुन १२ गते तिला गुफानगरपालिकास्थित फोईमा १ हजार स्याउ र ५ सय दाँते ओखर रोपिएको छ। नेकपाले गत वर्ष पनि त्यहाँ २ हजार स्याउ रोपेको थियो।
हुम्ला, मुगु, सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिमका विभिन्न क्षेत्रमा पनि धान, कोदो, दाल तथा अन्य बाली लगाइएको छ। नेकपाले कालिकोटको रुप्सा गाउँका रामबहादुर बोहोराबाट २० लाखमा ९० भेडा खरिद गरेको थियो।
हाल भेडाको संख्या १ सय १८ पुगेको छ। ती भेडाको रेखदेख ध्रुव सीको अध्यक्षतामा पाँच जनाको टोलीले गरिरहेको छ। शनिबार मात्रै विप्लवले त्रिवेणी साझेदारी भेडा फार्म उद्घाटन गरेका छन्। ‘विप्लव’ले कपिलवस्तु जिल्लाको शिवपुरमा रहेको ‘सी गार्मेन्ट’को उद्घाटन गरेका छन्।
उनले सिलाइ मेसिनमा कपडा सिलाएर उद्घाटन गरेका हुन्। गार्मेन्टका सञ्चालक सन्तोषी विश्वकर्माले युवाहरूलाई स्वरोजगार गराउँदै आत्मनिर्भर बनाउने उद्देश्यका साथ उद्योग सञ्चालन गरिएको जानकारी दिइन्।
उनले स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्दै युवा पलायन रोक्न गार्मेन्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा महासचिव विप्लवले देशमा आर्थिक नीति स्पष्ट हुन नसक्दा अर्थतन्त्र कमजोर बनेको बताए।
उनले देशभरका युवा रोजगारीको खोजीमा विदेशिनु दुखद् रहेको भन्दै स्वदेशमै स्वरोजगार बन्ने वातावरण सिर्जना गर्न व्यवसायिक सोच आवश्यक रहेको बताए। पार्टी देशभर विभिन्न ठाउमा उत्पादन र स्वरोजगार मुलक काम गरेको जिकिर गरे।
लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले उद्योग जस्ता सकारात्मक कार्यको प्रशंसा गर्दै यसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग गर्ने धारणा राखे। शिवराज नगरपालिकाका प्रमुख अजय थापाले युवामैत्री र स्वरोजगारमूलक उद्योगलाई स्थानीय सरकारको पनि साथ रहने बताए।
राजधानीमा खोलियो ‘सी व्यापार केन्द्र’को पसल
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीले उत्पादन गरेको कृषि तथा पशुजन्य उत्पादन बिक्री गर्न राजधानीमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ ।
विभिन्न जिल्लामा रहेका नेकपाका ७५ वटा उत्पादन केन्द्रबाट उत्पादित चामल, दाल, तेल, मसला, मह, माछा तथा मासुजन्य, दूग्धजन्य र रैथाने उत्पादन तथा दैनिक उपभोग्य सामग्री बिक्रीमा राखिएको छ ।