
काठमाडौँ- उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्य सभामा प्रयागजमा हालै सम्पन्न महाकुम्भको एउटा सफलताको कथा पेस गरेका छन्। उनका अनुसार डुंगाका मालिक र उनको परिवारले ४५ दिनमा ३० करोड भारतीय रुपैयाँ कमाएका छन्। ती व्यक्तिसँग १३० वटा डुंगा थिए। हरेक डुंगाले औसतमा २३ लाख रुपैयाँ कमाएको दाबी मुख्यमन्त्री आदित्यनाथको छ।
मुख्यमन्त्री योगी आदित्यनाथले भने, ‘१३० डुंगाका मालिक रहेको एक परिवारले महाकुम्भका ४५ दिनमा कुल ३० करोड रुपैयाँ कमायो। यसको अर्थ प्रत्येक डुंगाले ४५ दिनमा २३ लाख कमायो,जसअनुसार प्रतिदिन ५० हजारदेखि ५२ हजार रुपैयाँ आम्दानी भएको देखिन्छ।’
मुख्यमन्त्रीले मंगलबार विधानसभामा २०२५-२६ को वार्षिक बजेटमाथिको छलफलका क्रममा यस्तो कथा पेस गरेका हुन्। उनले महाकुम्भको आर्थिक प्रभावलाई समेत प्रकाश पार्दै भने, ‘महोत्सव १०० भन्दा बढी देशका मानिसको सहभागिताले जाति, क्षेत्र र धर्मका विभाजनलाई पार गर्दै परम्परा र प्रगतिबीचको उत्कृष्ट संयोजनको उदाहरण प्रस्तुत गर्यो।’
मुख्यमन्त्रीले महाकुम्भमा भेदभाव भएको आरोपलाई खण्डन गरे। उनले भने, ‘प्रतिपक्षीले गलत सूचना फैलाउने प्रयास गरे पनि भक्तजनको आस्था अटल रह्यो। कुम्भका क्रममा ६६ करोडभन्दा बढी भक्तजन र साधुले संगममा पवित्र स्नान गरे।’ हिन्दुस्तान टाइम्सबाट