मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार निलम्बित

हिमाल प्रेस २१ फागुन २०८१ १६:५१
12
SHARES
मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार निलम्बित

जनकपुर– मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई पदबाट निलम्बित भएका छन्।

विश्वविद्यालयसभा (सिनेट) बैठकले उपकुलपति महतो र रजिष्ट्रार ठाकुरलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको हो।
मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले सिनेटको बैठकले दुवै जनालाई निलम्बन गर्ने निर्णय गरेको जानकारी दिइन्।

विश्वविद्यालयका कुलपतिसमेत रहेका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितमा जनकपुरधाममा भएको सिनेटको बैठकबाट बहुमतले पारित भएपछि महतो र ठाकुरलाई निलम्बन गरिएको शिक्षामन्त्री तिवारीले बताइन्।

प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्यीय समितिले गत असोज ७ मा बुझाएको प्रतिवेदनका आधारमा दुवैजना विश्वविद्यालयको अनाधिकृत गतिविधिमा संलग्न रहेको पाइएकाले सिनेटबाट दुवैलाई निलम्बन गर्ने निर्णय भएको जनाइएको छ।

मंगलबार अबेर रातिसम्म चलेको बैठकमा विश्वविद्यालयका कुलपति एवं मुख्यमन्त्री सिंह, सहकुलपति एवं शिक्षा तथा संस्कृतिमन्त्री तिवारीलगायत विश्वविद्यालय सिनेटका पदाधिकारी तथा सदस्यहरू सहभागिता थियो।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि बैठकबाट पारित भएको थियो। लामो समयदेखि सभा नहुँदा विश्वविद्यालयमा आर्थिक कारोबार ठप्प भएपछि विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले तलब पाउन सकेका थिएनन्।

सेवा प्रदायकहरूले बक्यौता रकम नपाउँदा शैक्षिक सामग्री, इन्धन, विद्युत्, पानी, सञ्चारलगायत सेवा अवरोध गरेका छन् भने यहाँ अध्ययनरत कृषि विज्ञानका दुई सेमेस्टरका एक सय विद्यार्थीको नियमित पढाइ भएको छैन।

नियमित पठनपाठन गराउने तथा विद्यमान समस्या समाधान गर्नका लागि यो बैठक बसेको बताइएको छ। बैठकले गरेका निर्णय कार्यान्वयन भएसँगै विस्तारै समस्या समाधान हुँदै जाने मन्त्री शर्माले विश्वास व्यक्त गरिन्।
यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सरोज यादव नेतृत्वको सरकारले कृषि विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरेका थिए। यादव मुख्यमन्त्री रहेकै बेला जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको राजविराजस्थित कृषि विश्वविद्यालय भवनको शिलान्यास गरेका थिए।
त्यो बेला जनमत पार्टीबाट सरकारमा शिक्षामन्त्रीलाई विश्वविद्यालय शिलान्यासका कार्यक्रममा जसपा नेपालका अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाइएकोमा जनमतले विरोध जनाएको थियो।

प्रकाशित: २१ फागुन २०८१ १६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast