
काठमाडौँ- नेपाली आप्रवासन तथा विदेशमा अध्ययनरत विद्यार्थीका समस्या समाधानका लागि समन्वयात्मक प्रयास गर्न सरकारले गम्भीर छलफल अघि बढाएको परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बताएकी छन्।
आज परराष्ट्र मन्त्रालयमा आयोजित उच्चस्तरीय बैठकमा परराष्ट्रमन्त्री देउवासहित गृहमन्त्री रमेश लेखक, श्रम तथा रोजगारमन्त्री शरत सिंह भण्डारी साथै परराष्ट्र, गृह तथा श्रम मन्त्रालयका सचिवहरू सहभागी भएका थिए। बैठकमा नेपाली श्रमिक तथा विदेशमा अध्ययनरत विद्यार्थीहरूका समस्या समाधानबारे विस्तृत छलफल गरिएको थियो।
परराष्ट्रमन्त्री देउवाका अनुसार सरकारले प्रतिबन्ध लगाए पनि केही नेपाली महिलाहरू अवैध रूपमा मध्यपूर्वी देशहरूमा घरेलु कामदारका रूपमा गइरहेकाले उनीहरूको सुरक्षासम्बन्धी विषयलाई विशेष चासोका साथ हेरिएको छ। आगामी दिनमा यस्तो प्रतिबन्धको पुनरावलोकन गर्ने विषयमा समेत छलफल गरिएको छ।
उनले विदेशमा रहेका नेपालीहरूको उद्धार तथा सहयोगका लागि परराष्ट्र मन्त्रालयलाई धेरै कठिनाइ भइरहेको बताउँदै अब समन्वयात्मक रुपमा गृह, श्रम तथा अन्य सम्बन्धित निकायहरूसँग मिलेर काम गरिने बताइन्।
बैठकले आप्रवासनसम्बन्धी समस्या समाधानका लागि नीति सुधार, अवैध आप्रवासन रोकथाम तथा श्रमिक अधिकारको सुनिश्चिततामा सरकार अझ प्रभावकारी रूपमा अघि बढ्ने निष्कर्ष निकालेको छ।