
काठमाडौँ- अस्ट्रेलिया क्रिकेट टिमका कप्तान स्टिव स्मिथले एकदिवसीय क्रिकेटबाट संन्यास लिएका छन्। च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारतसँग पराजित भएसँगै स्मिथले एकदिवसीय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका हुन्।
मंगलबार दुबईमा खेलिएको च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई चार विकेटले हराएको थियो। क्रिकेट अस्ट्रेलियाले विज्ञप्ति निकालेर मंगलबार भारतविरूद्ध आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा सर्वाधिक रन बनाएका स्मिथले एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्।
स्मिथले भारतविरूद्धको म्याच सकिएसँगै टिमका सदस्यहरूमाझ आफूले सन्यास लिने जानकारी गराएका थिए। एकदिवसीय क्रिकेटबाट सन्यास लिए पनि स्मिथ अन्तर्राष्ट्रिय टेस्ट र टी–२० म्याच भने खेल्ने छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘मेरो ओडीआई अध्याय समाप्त गर्ने समय आइसकेको छ। पहेँलो जर्सी लगाउने र दुई विश्वकपमा यो टिमबाट सहभागी भएकोमा मलाई गर्व छ। समर्थन गर्ने सबैलाई धन्यवाद।’