आर्थिक शक्तिमा निरन्तर फड्को मार्दै चीन

अजय अलौकिक २१ फागुन २०८१ १६:०२
10
SHARES
आर्थिक शक्तिमा निरन्तर फड्को मार्दै चीन बेइजिङको केन्द्रीय व्यापार क्षेत्र। तस्बिर साभार : ग्लोबल टाइम्स

बेइजिङ- चीनको १४औँ राष्ट्रिय जनकांग्रेसको तेस्रो अधिवेशन बुधबार चीनको राजधानी बेइजिङमा सुरु भएको छ। राष्ट्रपति सी चिनफिङलगायतका नेतागण सहभागी उद्‌घाटन समारोहमा प्रधानमन्त्री ली छ्याङले सरकारी कार्य प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रधानमन्त्री ली छ्याङले राज्य परिषद्का तर्फबाट सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्दै सन् २०२४ मा भएका कामका उपलब्धिहरूको सारांश तथा सन् २०२५ का लागि आर्थिक तथा सामाजिक विकास लक्ष्य र प्रमुख कार्य व्यवस्थालाई स्पष्ट पारेका छन्।

प्रतिवेदनमा एक वर्षयता बाह्य दबाव वृद्धि हुँदै गर्दा आन्तरिक कठिनाइ थपिए तापनि चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको नेतृत्वमा जनताले धेरै कठिनाइको सामना गरी आर्थिक सञ्चालन स्थिरका साथै प्रगति हासिल भएको उल्लेख छ। प्रधानमन्त्री लीले गत वर्ष चीनको आर्थिक सामाजिक विकासको मुख्य लक्ष्य पूरा भएर चीनको आर्थिक शक्ति, प्राविधिक शक्ति र सर्वतोमुखी शक्ति निरन्तर वृद्धि भएको बताएका छन्। प्रधानमन्त्री लीका अनुसार हाल चीनको आर्थिक परिमाण स्थिरका साथ विस्तृत हुँदै आन्तरिक उत्पादन मात्रा १३४९ खर्ब चिनियाँ युआन पुगेर आर्थिक वृद्धि दर ५ प्रतिशत छ।

सरकारी कार्य प्रतिवेदनका अनुसार सुधार र खुलापनमा नयाँ सफलता प्राप्त भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी २०औँ केन्द्रीय समितिको दोस्रो र तेस्रो पूर्ण सत्रको सुधार व्यवस्थाहरू ठोस र प्रभावकारी रूपमा कार्यान्वयन गरिएका छन्। संस्थागत सुधार पूर्ण रूपमा सम्पन्न भएको छ।

एकीकृत राष्ट्रिय बजार निर्माण गर्ने र वैधानिक अवकाश उमेरलाई बिस्तारै बढाउने जस्ता प्रमुख सुधारका उपाय एकपछि अर्को गरी सुरु गरिएको छ। उत्पादन क्षेत्रमा विदेशी लगानी पहुँचमा रहेका सबै प्रतिबन्ध हटाइएको छ, ‘बेल्ट एन्ड रोड’ को संयुक्त निर्माणमा व्यापार र लगानी सहयोग निरन्तर विस्तार र स्तरोन्नति गरिएको छ।

स्थानीय अवस्थाअनुसार नयाँ गुणस्तरीय उत्पादकत्व विकास गरिनेछ। उद्योगमा लगानी बढाउन संयन्त्र स्थापना गरिनेछ। यसैगरी बायोम्यानुफ्याक्चरिङ, क्वान्टम टेक्नोलोजी, इम्बोडेड इन्टेलिजेन्स, ६ जी जस्ता भविष्यका उद्योगहरूको विकास गरिने भएको छ।

चीनले सन् २०२५ का लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर करिब ५ प्रतिशत कायम गरेको छ। प्रतिवेदनले सन् २०२५ का लागि मुख्य अपेक्षित विकास लक्ष्य प्रस्ताव गरेको छ। जसअनुसार करिब ५ प्रतिशत जीडीपी वृद्धि, सहरी सर्वेक्षणमा गरिएको बेरोजगारी दर लगभग ५.५ प्रतिशत र एक करोड २० लाखभन्दा बढी नयाँ सहरी रोजगारी, उपभोक्ता मूल्य वृद्धि लगभग दुई प्रतिशत, जनताको आय र आर्थिक वृद्धि, अन्तर्राष्ट्रिय भुक्तानीको आधारभूत सन्तुलन, ७ खर्ब किलोग्रामको अन्न उत्पादन, जीडीपीको प्रति एकाइ ऊर्जा खपत लगभग ३ प्रतिशतले ऋणात्मक र पारिस्थितिक वातावरण गुणस्तरमा निरन्तर सुधार गर्दछ।

१४औँ राष्ट्रिय जनकांग्रेसको तेस्रो अधिवेशनको उद्घाटनमा प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ली छ्याङले करिब पाँच प्रतिशतको लक्ष्य देशको मध्य र दीर्घकालीन विकास लक्ष्यसँग राम्रोसँग मिल्दोजुल्दो रहेको र कठिनाइहरूको सामना गर्ने र पूरा गर्न कडा प्रयास गर्ने संकल्पलाई जोड दिने बताएका छन्।

यस वर्षको कुल गार्हस्थ्य उत्पादन वृद्धि दर निर्धारण गर्ने क्रममा चीन सरकारले धेरै कारकतत्त्वहरूलाई ध्यानमा राखेको विज्ञहरूको बुझाइ छ। उच्चगुणस्तरीय विकासको मुख्य रेखामा केन्द्रित रहेको प्रतिवेदनले आधुनिक औद्योगिक प्रणाली निर्माण गर्ने, घरेलु माग विस्तार गर्ने, हरित र कम कार्बन रूपान्तरणलाई प्रवर्द्धन गर्ने जस्ता मुख्य कार्यहरू प्रस्ताव गरेको छ। प्रतिवेदनले ‘नवप्रवर्तन’ र ‘सुधार’ लाई प्रमुख स्थानमा राखेको छ। साथै प्रतिवेदनले दोहोर्‍याएको छ कि चीनले एक चीन सिद्धान्तको पालना गर्नेछ। ताइवान स्वतन्त्रता र विभाजनको विरोध गर्नेछ र बाहिरी संसारका लागि उच्चस्तरीय खुलापनलाई गहिरो बनाउनेछ।

यसैबीच मार्च ४ तारिख अपराह्न ३ बजेबाट चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) को चौधौँ राष्ट्रिय समितिको तेस्रो अधिवेशन पनि जन बृहत् सभा भवनमा सुरु भएको छ। आर्थिक, सांस्कृतिक, शैक्षिक र वातावरणीय स्रोतलगायत ३४ वटा क्षेत्रका २१०० भन्दा बढी सदस्यहरूले भेला भई चिनियाँ शैलीको आधुनिकीकरण लक्ष्यको कार्यभारलाई अघि बढाउने सन्दर्भमा आआफ्नो रायसुझाव प्रस्तुत गरिरहेका छन्।

यसरी चीनका दुई महत्त्वपूर्ण वार्षिक अधिवेशन एकै समयमा हुने भएकाले समग्र रूपमा दुई अधिवेशन पनि भन्ने गरिन्छ।

प्रकाशित: २१ फागुन २०८१ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast