
काठमाडौँ– प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई सोधिएको स्पष्टीकरणबारे जानकारी माग गर्दै त्यसबारे सभामुखमार्फत रुलिङको माग गरेका छन्।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बुधबारको बैठक सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित सबै प्रतिपक्षी दल उठेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्ने समय दिएका थिए।
उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोधिरहेको तथा मूल्यांकनमा शून्य नम्बर दिएको कुरा के हो, त्यस विषयमा सभामुखमार्फत सरकारसँग जानकारी माग गरे।
उनले प्राधिकरणलाई नाफामा लगेका कार्यकारी निर्देशकसँग सोधिएको स्पष्टीकरण र कार्यसम्पादन मूल्यांकनका विषयमा सरकारको भनाइ आउनुपर्ने माग गर्दै यस सन्दर्भमा स्पष्ट जवाफ नआउँदासम्म प्रतिपक्षी दलहरूको तर्फबाट विरोध जारी रहने स्पष्ट गरे।
प्रतिपक्षी दलहरूले माग गरेपछि सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठकको आकस्मिक, शून्य र विशेष समयमा प्रतिपक्षी दलहरूले उठाएका विषयमा जानकारी दिन रुलिङ गरे।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम २ को व्यवस्थाबमोजिम सम्बन्धित मन्त्रीको सभामुखले गम्भीर ध्यानाकर्षण गराएका हुन्। साथै उठेका विषयलाई सभामा जानकारी गराउन पनि सभामुख घिमिरेले सरकारलाई निर्देश गरेका छन्।