
काठमाडौँ- नेपाल राष्ट्र बैंकले १० वटा वाणिज्य बैंकहरूको विस्तृत सम्पत्ति गुणस्तर समीक्षा (ऋणको समीक्षा) गर्न ६ वटा लेखापरीक्षण फर्मलाई प्रारम्भिक छनोट सूचीमा राखेको छ। छनोट गरिएका कम्पनीहरूमा श्रीलंका, भारत र बंगलादेशका साथै नेपालका लेखापरीक्षण फर्म समावेश छन्।
राष्ट्र बैंकका अनुसार श्रीलंकाका डेलोइट पार्टनर्स, बंगलादेशका हौलादार युनुस एन्ड कम्पनी र भारतका केपीएमजी इन्स्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज र एमएसकेए एन्ड एसोसिएट्स १० वटा बैंकहरूको ऋण समीक्षाका लागि प्राराम्भिक छनोटमा परेका हुन्।
त्यस्तै दुई संयुक्त उपक्रम संस्थाहरूका प्रस्ताव पनि प्रारम्भिक सूचीमा समावेश छन्। जसमा नेपालको सुवेदी एन्ड एसोसिएट्सको नेतृत्वमा भारतका मेहरा गोएल एन्ड कम्पनी र जेकेएसएस एन्ड एसोसिएट्स, भारतको एसआर बटलिबोई एन्ड एसोसिएट्सको नेतृत्वमा नेपालको बीके अग्रवाल एन्ड को समावेश छन्।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) नेपाललाई विस्तारित ऋण सुविधा स्वीकृत गर्दा राखेको सर्तबमोजिम राष्ट्र बैंकले अन्तर्राष्ट्रिय लेखापरीक्षण फर्म छनोट प्रक्रिया सुरु गरेको हो। प्रमुख बैंकहरूबाट वितरित ऋणको गुणस्तर, त्यससँग जोडिएका सम्भावित जोखिम र देशको वित्तीय स्थिरतामा तिनले पार्ने समग्र प्रभावप्रति चासो राख्दै आईएमएफले नेपालका प्रमुख बैंकहरूको ऋण गुणस्तर मूल्यांकनलाई आफूले गर्ने सहयोगको एक सर्तका रूपमा राखेको थियो।
गत आर्थिक वर्षको असार मसान्तसम्म सबैभन्दा बढी ऋण प्रवाह गरेका १० वटा वाणिज्य बैंकहरूको ऋण छनोट गरिएको लेखापरीक्षण फार्मद्वारा मूल्यांकन गरिनेछ। जसमा ग्लोबल आईएमई, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, प्रभु बैंक र कृषि विकास बैंक समावेश छन्।
यी बैंकहरूले गत वर्षको मध्य जुलाईसम्म कुल २,८९६ अर्ब रुपैयाँ ऋण वितरण गरेका थिए।