कुश्मा नगरपालिकाका स्वास्थ्य संस्थामा औषधी अभाव, सेवाग्राही समस्यामा

हिमाल प्रेस २१ फागुन २०८१ १३:०५
10
SHARES
कुश्मा नगरपालिकाका स्वास्थ्य संस्थामा औषधी अभाव, सेवाग्राही समस्यामा

पर्वत- कुश्मा नगरपालिकाअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरू चार महिनादेखि औषधीविहीन बनेका छन्। नगरपालिकाभित्र रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र र सहरी स्वास्थ्य केन्द्रमा औषधीको अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन्।

नगरपालिकाले समयमा औषधी खरिद गर्न नसक्दा सर्वसाधारण सरकारले वितरण गर्ने ९८ प्रकारका औषधी प्राप्त गर्नबाट वञ्चित भएका छन्। चालु आर्थिक वर्षका लागि औषधी खरिद गर्न नगरसभाबाट बजेट पारित भए पनि जनप्रतिनिधि र स्वास्थ्य सेवाका कर्मचारीको लापरबाहीका कारण आठ महिनासम्म औषधी खरिद गर्न सकिएको छैन।

सर्वसाधारणलाई निःशुल्क वितरण गर्नुपर्ने औषधीको अभाव भएको चार महिना बितिसक्दा पनि औषधी खरिद गर्ने तयारी गरिएको छैन। औषधी खरिदका लागि संघीय स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयबाट प्राप्त सशर्त रकम १६ लाख रुपैयाँ र नगरपालिकाको निशर्त ८ लाख रुपैयाँ गरी २४ लाख रुपैयाँ बजेट छ।

बजेटको अभाव नभई खरिद प्रक्रिया ढिलाइ भएकाले औषधीको अभाव भएको नगरपालिकाको स्वास्थ्य शाखाकी सिनियर अनमी दुर्गा सापकोटाले बताइन्। विगतका वर्षहरूमा पनि औषधी अभाव र म्याद नाघेका औषधी भेटिने गरेको थियो। कुश्मा नगरपालिकाभित्रका १४ वडामा रहेका १७ वटा स्वास्थ्य संस्थामा उपचारका लागि आउने नागरिकहरूले औषधीको अभावका कारण रित्तो हात फर्किनुपरेको जानकारी दिएका छन्।

सामान्य रोगदेखि जटिल र दीर्घरोगीसमेत निःशुल्क औषधी पाइने आशामा स्वास्थ्य संस्थामा आएका नागरिकलाई रित्तो हात फर्काउन परेको कुश्मा–१२ ठूलीपोखरीका प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण सुवेदीले बताए। वडा नं १४ का आर्थर डाडाँखर्क स्वास्थ्यचौकीका प्रमुख चन्द्रकान्त गौतमले निःशुल्क उपलब्ध गराउनुपर्ने औषधी नहुँदा बिरामीलाई रित्तो हात फर्काउनुपर्ने अवस्था आएको बताए। उनले चार महिनासम्म औषधी खरिद गर्न नसक्नु नगरपालिकाको कमजोरी भएको बताए।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यमप्रसाद शर्माले औषधी खरिदमा ढिलाइका कारण स्वास्थ्य संस्थामा औषधी समयमै पठाउन नसकेको बताए।

प्रकाशित: २१ फागुन २०८१ १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast