
काठमाडौँ- अमेरिकाबाट ‘डिपोर्ट’ भएका ९ जना काठमाडौँ आइपुगेका छन्। उनीहरू नेपाल एयर लायन्समार्फत आज बिहान काठमाडौँ उत्रिएका हुन्। उनीहरूलाई नेपाल प्रहरीले अमेरिकाबाट डिर्पोट सोधपुछ गरेको छ।
नेपाल फर्काइएपछि प्रहरीको मानव बेचविखन अनुसन्धान व्युरो पुर्याएर उनीहरूलाई सोधपुछ गरिएको हो। अमेरिका गएको प्रक्रियाका विषयमा उनीहरूसँग बुझ्ने काम भएको व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए।
प्रारम्भिक सोधपुछका क्रममा ब्राजिल हुँदै अमेरिका पुगेको र सो क्रममा अध्यागमन कानुन उल्लंघन गरेकाले फर्काइएको अनुसन्धानबाट खुलेको बताएका छन्।
त्यस्तै उनीहरूले अमेरिका पठाउनेमाथि मुद्दा दर्ता गर्न इच्छा नदेखाएको प्रवक्ता कुँवरले जानकारी दिए। बुधबार अमेरिकाबाट चार्टर्ड विमानमार्फत ८ जना र कतार हुँदै १ जनालाई नेपाल फर्काइएको हो। सोधपुछ सकिएपछि उनीहरूलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।