
काठमाडौँ- मलेसियाले नेपालका लागि सुरक्षा गार्डको रोजगारी पूर्ण रूपमा खुलाएको छ। मलेसियाको गृह मन्त्रालयले फागुनदेखि नेपालबाट १० हजार सुरक्षा गार्ड लैजाने मागपत्र जारी गरेको छ। उत्पादन, कृषि र सेवा क्षेत्रसँगै मलेसियाले सुरक्षा गार्डको क्षेत्रमा नेपाली कामदारलाई अवसर दिएको हो।
मलेसियाले आफ्नो श्रम बजारमा कोटाभन्दा बढी विदेशी कामदारको आवागमन भएपछि गत वर्षको चैत १८ (मार्च ३) देखि कलिङ भिसा जारी गर्न बन्द गरेको थियो। एक वर्षपछि मलेसियाले सुरक्षा गार्डको रोजगारीका लागि पूर्ण रूपमा नेपाली कामदारको माग गरेको कुरा वैदेशिक रोजगार व्यवसायी लक्ष्मण पौडेलले बताए।
उनका अनुसार अहिले नेपालका रोजगार व्यवसायी मलेसियाको परराष्ट्र मन्त्रालयअन्तर्गतको केडीएनमार्फत डिमाण्ड लिन थालेका छन्। मलेसियाले पहिलो चरणमा १० हजार सुरक्षा गार्डको माग गरेको उनले जानकारी दिए।
‘मलेसिया नेपालबाट १० हजार सुरक्षा गार्ड लैजाने तयारीमा छ। यसका लागि नेपालमा देखिएका स्वास्थ्य परीक्षणका समस्याहरू सरकारले तुरुन्त समाधान गर्नुपर्छ,’ उनले भने। सरकारले मलेसियाको रोजगारी खुल्नासाथ नेपालमा देखिएका समस्याहरूलाई तत्काल समाधान नगरेमा अर्को समस्या सिर्जना हुन सक्ने उनको भनाइ छ। मलेसिया सुरक्षा गार्डका लागि नेपाली कामदार मात्र लैजाने तयारीमा छ। मलेसियामा सुरक्षा गार्डको मासिक तलब दुई हजार रिंगिटभन्दा बढी छ।
नेपाल स्वास्थ्य व्यवसायी महासंघको सिण्डिकेटका कारण सुरक्षा गार्डसँगै अन्य क्षेत्रमा नेपाली कामदार लैजाने मलेसिया सरकारको निर्णय रोकिएको थियो। मलेसिया सरकारले सुरक्षा गार्डका लागि मागपत्र खुलाउँदा सरकारबाट मान्यता प्राप्त सबै स्वास्थ्य मेडिकल केन्द्रमा स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था गरिएको छ।
अब मलेसिया जाने कामदारले सबै स्वास्थ्य मेडिकल संस्थामार्फत स्वास्थ्य परीक्षण गराउन पाउनेछन्। यससँगै मलेसियाको स्वास्थ्य क्षेत्रको सिण्डिकेट पनि अन्त्य भएको छ। नेपालका स्वास्थ्य संस्थाहरू जो महासंघमा आवद्ध थिए उनीहरूले मात्र मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गराउँदै आएका थिए।
मलेसिया नेपाली श्रमिकको प्रमुख गन्तव्य हो। मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा पाम आयल, गार्मेन्ट, गरगहना र नाई क्षेत्रका लागि विदेशी श्रमिक ल्याउने निर्णय गरेको छ। यस आधारमा अहिले डिमाण्ड बढ्न थालेको वैदेशिक रोजगार महासंघले जनाएको छ। मलेसियामा चार लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन्।