
बैतडी- नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला समिति बैतडीले जिल्लाका सम्पूर्ण विद्यालय कर्मचारीलाई यही फागुन मसान्तभित्र अनिवार्य रूपमा सदस्यता नवीकरण गर्न आग्रह गरेको छ।
परिषद्को माघ १९ गतेको बैठकको निर्णयअनुसार सदस्यता नवीकरणको प्रक्रिया तोकिएको समयसीमाभित्रै सम्पन्न गर्नुपर्ने बताइएको छ। समितिले पालिका कमिटीका अध्यक्षहरूसँग पटक–पटक समन्वय गरे पनि केही विद्यालय कर्मचारीहरूबाट अझै कुनै प्रतिक्रिया प्राप्त नभएको गुनासो आएको छ।
परिषद्ले सबै विद्यालय कर्मचारीलाई शीघ्र सदस्यता नवीकरण गर्न आग्रह गर्दै शिक्षक महासंघको वर्तमान आन्दोलनलाई सफल बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ।
परिषद्का अध्यक्ष धन सिंह ठगुन्नाले विद्यालय कर्मचारीका माग सम्बोधन गर्न सबै एकताबद्ध हुनुपर्ने भन्दै ‘सरकारसित लड्नुको सट्टा आफ्नै कर्मचारी खोजिरहनुपर्ने अवस्था सिर्जना हुनु दुःखद् हो,’ भने।
विद्यालय कर्मचारीहरूको हकहित र संघीय शिक्षा ऐन जारी गराउन परिषद् लामो समयदेखि संघर्षरत रहेको बताउँदै उनले कर्मचारीहरूले आफ्नो जिम्मेवारी पूरा गरी आन्दोलनलाई सशक्त बनाउन सहयोग गर्नुपर्ने बताए।