
काठमाडौँ– नेपालको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले जर्मनीको बर्लिनमा नेपाल पेभेलियन स्थापना गरिएको छ। मंगलबारदेखि सुरु भएको विश्वकै ठूलो पर्यटन व्यापार मेला आईटीबी बर्लिन–२०२५ मा पभेलियनमार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिएको हो।
नेपाल पर्यटन बोर्डले आईटीबी बर्लिनमा स्थापना गरेको नेपाल पभेलियन उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे गरेका छन्। उनले नेपालका अद्वितीय पर्यटकीय सम्भावना उजागर गर्दै नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार र प्रवर्द्धन गरिने बताए।
नेपालको पर्यटन प्रवर्द्धनका लागि आईटीबी बर्लिन–२०२५ एक बृहत् अन्तरराष्ट्रिय मञ्च भएको उनको भनाइ छ। मन्त्री पाण्डेले नेपालको दिगो पर्यटन प्रतिबद्धता विश्वसामु प्रस्तुत गर्ने अवसरका रूपमा सदुपयोग गरिने विश्वास व्यक्त गरेका छन्।
जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीलगायत नेपाल र विभिन्न देशका पर्यटन व्यवसायीको त्यहाँ सहभागिता रहेको छ। पर्यटन बोर्डले नेपाललाई विश्वभरका पर्यटकको आकर्षणको केन्द्र बनाउन आईटीबी बर्लिन–२०२५ मा २८ प्रतिष्ठित एडभेन्चर टुरिजम, सांस्कृतिक अन्वेषण, ट्रेकिङ र प्रिमियम आतिथ्य सेवाजस्ता पर्यटन व्यवसायीको सहभागिता गराएको जनाएको छ।
बोर्डले नेपाललाई एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा प्रस्तुत गर्ने उद्देश्यले देशका अद्वितीय प्राकृतिक सौन्दर्य, साहसिक पर्यटकीय क्षेत्र, समृद्ध सांस्कृतिक धरोहरलगायत क्षेत्रलाई नेपाल पभेलियनमा प्रस्तुत गरिने जनाएको छ।
आईटीबी बर्लिनजस्तो प्रमुख अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कम्पनीहरूको सहभागिताले नेपालका पर्यटकीय आकर्षणलाई प्रवर्द्धन गर्ने एउटा सुनौलो अवसर भएको बोर्डका सीईओ जोशीले बताए।
सन् १९९६ बाट सुरु भएको आईटीबी बर्लिन विश्वको प्रमुख यात्रा व्यापार मेला हो। आईटी बर्लिन–२०२५ मा विश्वभरका एक सय८० देशबाट १० हजारभन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहनेछ। नेपालले यस मेलामा निरन्तर सहभागिता जनाउँदै आएको छ। यस मञ्चलाई नेपालका हिमालमा ट्रेकिङ, सांस्कृतिक अन्वेषण र साहसिक पर्यटनजस्ता विशिष्ट अनुभवलाई विश्वभर चिनाउनको लागि सदुपयोग गर्दै आएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ।