
इटहरी– सोमबार बिहान सप्तरी डिभिजन वन क्षेत्र नजिकमा पर्ने फत्तेपुर बजारमा बाघ पसेको सूचना आयो। वन्यजन्तु बस्तीमा पसेसँगै सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षले उद्धार गर्दै आएको छ। कोशी टप्पु वन्यजन्तु आरक्षमा सूचना आएपछि सुरुमा चितुवा भन्ने आकलन गरियो। तस्बिरहरू प्राप्त भएपछि भने पाटे बाघ रहेको पुष्टि भयो। आरक्षबाट प्राविधिकसहितको टोली घटनास्थलमा पुग्दा मानिसको भीडले घेरिसकेको थियो।
स्थानीयहरू भनिरहेका थिए, ‘यो बाघलाई कुनै पनि हालतमा मार्नुपर्छ। यसले मान्छेलाई सखाफ पार्छ।’ स्थानीयको प्रतिवादमा कुरा गर्दा आरक्षका कर्मचारी र सुरक्षाकर्मीमाथि नै दुर्व्यवहारसम्मको अवस्था आयो। जसकारण बस्तीमा देखापरेको बाघको उद्धार गर्न झण्डै १२ घण्टा लाग्यो।
राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार बाघ जंगलबाटै आएकाले फेरि फर्केर जाने वातावरण नहुँदा गोठभित्र लुकेर बसेको थियो। दिनभर बाघ गोठमै पसेपछि घटनास्थलबाट सुरक्षाकर्मी र स्थानीयले होहल्ला गरे। स्थानीय भरत विष्टको घरभित्रै बाघ पसेको थियो। घरभित्र थुनेर राखिएपछि ‘डार्ट’ प्रविधिको प्रयोग गरी बाघका उद्धार गरिएको हो।
उक्त बाघलाई स्थानीयवासीले भने कुनै पनि हालतमा मार्नुपर्ने जिकिर गरिरहेका थिए। सयौँको भीडले उद्धार टोलीलाई घेरेको थियो। उनीहरूलाई सम्झाइबुझाइ गर्नै सकस हुँदा बाघको उद्धार गर्न समस्या भएको थियो। गौतमका अनुसार अन्दाजी सात वर्षको उक्त बाघ पोथी हो।
उद्धार गरिएको उक्त बाघ कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमै राखिएको छ। बाघको सुरक्षाका लागि नेपाली सेना खटिएका छन्। फत्तेपुरमा भेटिएको बाघ एक सय ३१ केजीको छ। उक्त बाघलाई आरक्ष क्षेत्रभित्र फलामको बाक्सभित्र थुनेर राखिएको छ। तत्कालका लागि बाघलाई पानी मात्रै खान दिइएको छ। एउटा बाघले सिकार गरेको एक सातादेखि १० दिनसम्म उसलाई सिकार आवश्यक नपर्ने गौतम बताउँछन्। ‘बाघले एकपटक आहारा गरेपछि सात दिनदेखि १० दिनसम्म नखाइकन बस्न सक्छ,’ उनले भने, ‘त्यसबीचमा बाघले प्रायः सिकार गर्दैन। पहिल्यै गरेको सिकार खाने गर्छ।’
बाघको उद्धारमा खटिएका संरक्षण अधिकृत मिथिलेश महतोले बाघलाई कोशी टप्पुमै राख्ने वातावरण नहुँदा कहाँ लैजाने भन्नेबारे निर्णय हुन बाँकी रहेको बताए। ‘अन्य राष्ट्रिय निकुञ्जमा पनि पठाउने वा कहाँ लैजाने भन्नेबारे निर्णय हुन बाँकी छ,’ उनले भने।
खर्चिलो प्रविधि डार्ट
बस्तीमा पसेर मानिसलाई आक्रमण गर्नसक्ने जोखिम भएपछि प्राविधिक टोलीले वन्यजन्तुको उद्धार गर्छ। बस्तीमा पसेको वन्यजन्तुलाई बन्दुकबाट औषधि ‘पास’ गरेर लठ्याइन्छ। औषधिको मात्राअनुसार धेरैमा एक घण्टासम्म लठ्याउन सकिन्छ। लठ्याएर उद्धार गरेपछि ‘एन्टी डट’ दिएर ब्युँझाइन्छ। ‘वन्यजन्तुबारे कुनै काम समयमै गर्नुपर्छ,’ संरक्षण प्रमुख गौतम भन्छन्, ‘लामो समय बेहोस बनाउनै मिल्दैन, तत्कालै ‘एन्टी डट’ दिएर ब्युँझाइन्छ। ‘डार्ट’ प्रविधि भनेको खर्चिलो प्रविधि हो। एकपटक ‘डार्ट’ प्रयोग गर्दा महँगो खर्च आउँछ।’
उनका अनुसार ‘डार्ट’ प्रविधिका लागि प्रयोग हुने औषधि नेपालमा पाइँदैन। नेपालमा उपलब्ध नहुँदा बाहिरबाटै औषधि ल्याउनुपर्दा बढी खर्च हुन्छ। सोमबार पनि उक्त बाघ तत्कालै ‘डार्ट’ प्रयोग गरेर नियन्त्रणमा लिन कुनै ठूलो कुरा भने थिएन। तर घटनास्थलमा भएको भीड र मानिसको व्यवहारले प्राविधिक टोलीले तत्कालै बाघको उद्धार गरेन। ‘डार्ट’ प्रयोग गरेको अवस्थामा वन्यजन्तुलाई कसैले हिर्कामा तत्काल निधन हुन सक्छ। बाघ संरक्षणका लागि आरक्षको टोलीले सावधानी अपनाउँदा उद्धार सफल भएको गौतम बताउँछन्।
फत्तेपुरमा कहाँबाट पुग्यो बाघ?
अनुसन्धानकर्ताहरूका अनुसार पछिल्लोपटक मधेश प्रदेशको रौतहटमा मात्रै बाघ देखा परेको छ। सन् २०२१ मा पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको रौतहटका जंगलमा चारवटा पाटे बाघ देखा परेका थिए। राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको अध्ययनअनुसार रौतहटभन्दा पूर्वमा हालसम्म बाघ देखा परेको थिएन। फत्तेपुर क्षेत्रमा बाघ देखिनु अनौठो हो। यतिमात्रै होइन, कोशी प्रदेशका १४ र मधेशका २ जिल्लामध्येमा यहाँ पहिलोपटक बाघ देखा पर्नु अनुसन्धानकर्ताहरूका लागि नयाँ कुरा रहेको संरक्षण केन्द्रका प्रमुख गौतमले बताए।
बाघले सहजै तत्कालै मानिसलाई आक्रमण गर्दैन। उसलाई जिस्काएको अवस्थामा वा जंगलमा भेट भएको अवस्थामा वा मानिस निहुरिएर काम गरिरहेको अवस्थामा मात्रै आक्रमण गर्ने गौतम बताउँछन्। ‘बाघले सकभर मान्छेको सिकार गर्दैन। मान्छेको सिकार बाघका लागि सजिलो हुन्छ। मान्छेलाई जंगलमा जम्काभेट गरेको अवस्थामा, मान्छे घोप्टिएर बसेको अवस्थामा र दुईवटा बाघ जुधिरहेको अवस्थामा डिस्टर्ब गर्दा आक्रमण गर्न सक्छ,’ गौतम भन्छन्, ‘बाघले सिकार खाइरहेको अवस्थामा डिस्टर्ब गर्नु हुँदैन। बच्चा सानो भएको अवस्थामा पनि बाघले आक्रमण गर्न सक्छ।’
चौपायालाई किन आक्रमण गरेन?
फत्तेपुरमा सोमबार भेटिएको पाटेबाघले आक्रमण गरेको होइन। उक्त बाघले आक्रमण गरेको भए, जहाँ गोठमा लुकेको थियो, त्यहाँ खसी, बाख्रा र भैँसी पनि थिए। तर बाघले आक्रमण गरेन। विभिन्न अनुसन्धानअनुसार स्वस्थ बाघले सीधै मानिसलाई वा बस्तीमा पसेर आक्रमण गर्दैन। उसको आफ्नै आहारा हुन्छ। बाघको आहारा भनेको जंगली जनावर हो। ‘स्वस्थ बाघले बस्तीमा बसेर मानिसलाई आक्रमण गर्दैन,’ गौतमले भने, ‘बुढो बाघ र अस्वस्थ बाघले मात्रै आक्रमण गर्छ। आक्रमणको पहिलो सिकार मान्छे नै हो किनभने, मान्छेलाई आक्रमण गर्नजस्तो सजिलो केही हुँदैन।’
जंगलमा बस्ने बाघको आयु १५ देखि २० वर्षको हुन्छ भने चिडियाखानामा पालेको बाघको आयु न्यूनतम २० देखि २५ वर्षसम्मको हुने गौतमले सुनाए। बस्तीमा पसेको बाघलाई उद्धार गर्नु ठूलो कुरा नभए पनि मानिसको भीडका कारण प्रभावित हुने उनको भनाइ छ।