संगठनको आकार घटाउने एमाले निर्णयले ल्याएको तरंग

किरण पौडेल २२ फागुन २०८१ ६:१८
106
SHARES
संगठनको आकार घटाउने एमाले निर्णयले ल्याएको तरंग फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको पछिल्लो एउटा निर्णयले पार्टी नेता र जनवर्गीय संगठनमा तरंग ल्याएको छ। पार्टी मुख्यालय च्यासलमा आइतबार बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको सचिवालय ९ सदस्यमा झार्ने निणय गरेको थियो। बैठकले स्थायी कमिटी खारेज गरेको छ। बैठकले अन्य केन्द्रीय संरचना पनि चुस्त बनाउन निर्देशन दिएको छ। जनवर्गीय संगठनको संरचना घटाउन र हटाउन गरिएको यो निर्णयपछि पार्टीमा खैलाबैला मच्चिएको हो।

एमालेको जनवर्गीय संगठनमा अध्यक्ष एक, उपाध्यक्ष एक महिलासहित दुई, महासचिव एक, उपमहासचिव एक, सचिवहरूलाई जिम्मेवारी दिने गरी (प्रचार, विदेश मामिला र संगठन हेर्ने गरी र आर्थिक जिम्मेवारी हेर्ने गरी कोषाध्यक्षको व्यवस्था गर्ने) नौजना पदाधिकारी रहनेछ।

पार्टीको सचिवालय बैठकले संगठनहरूमा केन्द्रीय कमिटी र केन्द्रीय सचिवालयमात्रै कायम गर्ने निर्णय गरिएको छ। केन्द्रीय कमिटीसमेत १५५ सदस्यीय बनाउने एमालेको निर्णय छ। जनवर्गीय संगठन छरितो बनाउने नाममा एकअंकीय कमिटी बनाउने निर्णयको प्रत्यक्ष असर अनेरास्ववियु र युवा संघ नेपालमा परेको छ।

यी दुवै एमालेका सक्रिय संगठनमध्येमा पर्छन् भने तत्कालै महाधिवेशनसमेत गर्दैछन्। अखिलले आउँदो जेठमा महाधिवेशन तोकेको छ भने युवा संघको महाधिवेशन वैशाखसम्ममा गर्ने तयारी छ। यद्यपि युवा संघको महाधिवेशन तोकिएको छैन। महाधिवेशनमुखी सरगर्मी चलिरहेका बेला एकाएक संगठन कसिलो बनाउने निर्देशनले केन्द्रीय पदमा आकांक्षा राख्नेमाथि प्रश्नचिह्न खडा भएको छ।

‘प्रदेशबाट केन्द्रमा जाने आकांक्षा राखेर मत माग्न थालियो तर संरचना सानो हुँदा कता जाने अन्योल देखियो,’ अखिलका एक आकांक्षी भन्छन्, ‘कसिलो प्रतिस्पर्धा हुने भयो। काठमाडौँबाहिर भएकालाई प्रतिनिधिले नचिन्न सक्छन्। यसले अब लड्ने–नलड्नेमै अन्योल भयो।’

पार्टीले अब केन्द्रीय कमिटी १५५ सदस्य र पदाधिकारी ९ सदस्य बनाउन निर्देशन दिएको छ। यद्यपि हाल अखिलको पदाधिकारी १७-१७ सदस्यीय छ। पार्टीले सचिवालयसमेत छरितो बनाउन निर्देशन जारी गरेको छ। हाल दुवै संगठनको सचिवालय २० सदस्य (तीन विभागीय प्रमुख) सहित छ। यसबाहेक केन्द्रीय कमिटी घटाउँदा अधिकांश दाबेदार विस्थापित हुने सम्भावना छ।

अहिले दुवै संगठनको केन्द्रीय कमिटी पनि जम्बो छ।  अब भने तोकेरै १५१ सदस्य बनाउने पर्ने प्रावधान पार्टीले ल्याएको छ। यसको असर अब हुने महाधिवेशनमा पर्ने नेताहरू सुनाउँछन्। अहिले जुन संरचनाको नेतृत्व थियो, त्यही संरचनाअनुसारको तयारीमा आकांक्षी लागेका थिए। संरचना नै घट्दा मारमा पछिल्लो पुस्ता पर्ने निश्चित छ।

‘यसले सकारात्मक प्रभाव पारेको छ। अब पदकै लागि संगठनमा बस्ने परिपाटी घट्छ भन्ने लागेको छ,’ युवासंघका सचिव निरोज पौडेल भन्छन्, ‘सक्रिय भएमा भूगोलबाट जितेर आउँदा जित्ने सम्भावना छँदैछ। भूगोल नभए त कहीँ पनि अटिँदैन।’

अखिलमा समेत नेतृत्वका लागि प्रतिस्पर्धा हुने सम्भावना छ। अब भने झनै प्रतिस्पर्धा बढाउने अखिलका एक नेता बताउँछन्। पौडेलले भने, ‘पहिले कतिपय पदमा सर्वसम्मति हुन सक्थ्यो। अब एकै पदका आकांक्षी धेरै हुँदा कडा प्रतिस्पर्धा हुने भयो।’ नेताहरूका अनुसार अब पार्टीले कसैलाई भूमिका नदिने र प्रतिस्पर्धाबाट चुनिन तयार हुनुपर्ने सन्देश दिएको हो।

केन्द्र तोकेका आकांक्षी : अब प्रदेशतिर नभए पार्टीतिर

अधिवेशनको संघारमा पार्टीले केन्द्रीय संरचना छरितो बनाउँदा आकांक्षी कता जाने अनिश्चित छ। अब कसैले प्रदेशतिर जाने कि त पार्टी राजनीति गर्ने बताउन थालेका छन्। उनीहरू संगठनको नयाँ संरचनामा प्रतिस्पर्धा गर्न डराएका कारण अन्यत्र पाइला चाल्न चाहिरहेका निकट नेताहरू सुनाउँछन्।

यसअघि अखिलभित्र चार उपाध्यक्ष पदमा १६ जनाबीच प्रतिस्पर्धा भएको थियो। अब उपाध्यक्ष पद दुई मात्र हुनेछ। जसमा एक महिला अनिवार्य छ। अखिलभित्र अब एकै पदमा दुई दर्जनभन्दा बढी आकांक्षी हुनेछन्। यता युवा संघमा समेत हालत यस्तै छ।

‘पार्टी राजनीति गर्नु उपयुक्त हुन्छ। भूगोल भनेको भूगोल हो। पार्टीले भूगोल चिन्न अनिवार्य गरेको हो,’ अखिलका नेता जीबी गजल भन्छन्। आकांक्षी भने प्रतिस्पर्धाको सहज बाटो देख्न थालेका छन्।

उनीहरू केन्द्रबाट प्रदेशको नेतृत्वतिर समेत आकांक्षा राख्न थालेको नेताहरू बताउँछन्। यसरी संरचना घट्दै जाँदा अधिकांशले पार्टी राजनीति गर्नुपर्ने सुझाव आउन थालेको छ। एमालेले यसअघि ‘एक व्यक्ति, एक पद’ को अवधारणा ल्याएको थियो। तर त्यो सक्रिय संगठन गर्नेका हकमा मात्र लागू भयो।

पार्टीको जिल्ला कमिटीमा बसेको तर भ्रातृ संगठनमा समेत रहेकाको हकमा भने पुरानो निर्णय अस्पष्ट थियो। युवा संघका सचिव पौडेल भने अब भने दुईतिर रहेकालाई एकतिर मात्र रहेर राजनीति गर्न समेत यो निर्णय उपयुक्त रहेको बताउँछन्।

‘हामी जनवर्गीय संगठनमा भए पनि पार्टीको कुनै पदमा हुन्छौँ नै। जनवर्गीय संगठनमा नअट्ने हो भने पार्टीमै सक्रियता जनाउने नि। किन अरूतिर बस्ने?’ पौडेल भन्छन्।

पार्टीको केन्द्रीय संरचनासमेत घटाउने संकेत

एमालेले जनवर्गीय संगठनमा यस्ता प्रावधान बनाउँदा जनवर्गीय संगठनको संरचना कस्तो बनाउँछ चासोको विषय बनेकोे छ। अहिले नेताहरूले संरचनाबारे बोलिहालेका छैनन्। किनभने पार्टी महाधिवेशन आउन अझै दुई वर्ष बाँकी छ।

केन्द्रीय पदाधिकारीको संरचना कस्तो बनाउने निर्णय विधान महाधिवेशनले गर्नेछ। एमालेले आउँदो भदौमा विधान महाधिवेशन गर्ने तयारी गरेको छ। एमाले नेताहरूका अनुसार पार्टीका केन्द्रीय पदाधिकारी र सबै संरचना छरितो बनाउने पक्षमा नेताहरू लागेका छन्। यसअघि पनि एमालेमा छरितो संरचना बनाउने प्रचलन थियो। नेकपा माओवादी केन्द्रसँगको एकतापछि संगठन भद्दा बन्दै गएका थिए।

अब भने एमालेले आवश्यक पदमात्र राख्न चाहेको संगठन विभागका प्रमुख काशीनाथ अधिकारी बताउँछन्। ‘बैठक बस्दासमेत पार्टी प्यालेस रिजर्भ गर्नुपर्ने अवस्था नओस् भन्ने पक्षमा छौँ,’ उनी भन्छन्, ‘जति सानो संगठन त्यति छरितो र चलायमान हुने बुझाइ छ।’ अधिकारीका अनुसार सानो संरचना हुँदा नेताहरूमा जिम्मेवारीबोध बढी हुनेछ।

अधिकारीले भने, ‘यो दुई संगठनमा मात्र केन्द्रित हुँदैन। २३ भ्रातृ संगठनमै हुन्छ। पार्टीमा पनि यसबारे छलफल हुन्छ।’ अहिले पार्टीको केन्द्रीय पदाधिकारी १९ सदस्यीय, स्थायी समिति ४३ सदस्य र पोलिट्ब्युरो ९४ सदस्यीय छ। केन्द्रीय कमिटी सदस्य त झन्डै ३ सय सदस्य छ।

प्रकाशित: २२ फागुन २०८१ ६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast