
काठमाडौँ- नेपाली कांग्रेस पार्टीभित्र रहेको दुई धार नेविसंघमा पनि देखा परेको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि दुई समूहले अलअलग संघ दर्ता गराएका हुन्। स्ववियु निर्वाचनअन्तर्गत सोमबार संगठन दर्ता गर्ने कार्यतालिका थियो।
नेविसंघको संस्थापन पक्ष दुजाङ शेर्पाको निर्णयलाई अस्वीकार गर्दै शेर्पा इतर पक्ष विद्यार्थीले छुट्टै विद्यार्थी संगठन दर्ता गर्न सम्बन्धित क्याम्पसमा निवेदन दिएका छन्। अध्यक्ष शेर्पा पार्टी सभापति शेरबहादुर देउवा निकट हुन्। पार्टी नेता शेखर कोइराला निकटस्थ नेताले छुट्टै निवदेन दर्ता गराउन निर्देशन दिएका हुन्। उनीहरूले संघ सभापति शेर्पाप्रति असन्तुष्टि पोख्दै निवेदन दर्ता गराउन निवेदन दिएको बताएका छन्। शेखर समूहले यसअघि विद्यार्थी नेत्री प्रेमिका थापा मगरको नेतृत्व समानान्तर गतिविधि गर्दै आएको छ।
प्रेमिका समूहले अहिले क्याम्पस क्याम्पसमा छुट्टै नेविसंघ दल दर्ता गरेको छ। स्ववियुका लागि निवेदन दिँदा नेविसंघका तर्फबाट दुई निवेदन परेको हो। प्रेमिका समूहका नेताहरूका अनुुसार देशभरका ८० प्रतिशत क्याम्पसमा दल दर्ता गरिएको छ। अनुसार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा समेत प्रेमिका समूहले किशोर भण्डारीको नेतृत्वमा संगठन दर्ता गरेको हो।
‘हामीले त्रिविमा समेत निवेदन दियौँ भने अन्य क्याम्पसमा नदिने कुरा हुँदैन,’ प्रेमिका समूहका नेता धर्मराज शाहीले हिमालप्रेससँग भने, ‘दुजाङजीले टिकट वितरणमा अंकुश लगाउनुभयो। सक्रिय विद्यार्थीलाई पाखा लगाउने काम भएपछि हामीले छुट्टै गठन गरेका हौँ।’
शाहीले समानान्तर गतिविधि अघि बढाउनुका विषयमा पनि स्पष्ट पारे। उनका अनुसार दुजाङले ‘फिल्ड’ मा नभेटिने विद्यार्थीलाई च्यापेको र लोकप्रिय विद्यार्थीलाई ‘अंकुश’ लगाएका कारण समानान्तर गतिविधि बढाइएको हो। संस्था दर्ता मात्र नभई समानान्तरबाटै उम्मेदवारी दर्ता गर्नेसमेत तयारी छ।
दुजाङ निकट समूहले पनि संगठनमा समानान्तर गतिविधि बढेको स्वीकारेको छ। ‘केही साथीले नेविसंघका नाममा संस्था गर्न लैजानुभएको छ’, नेविसंघका प्रवक्ता सुरज सेजुवाल भन्छन्, ‘तर अब सबै खारेज हुन्छ। किनभने आधिकारिक निर्णय भएको पत्रबाहेक क्याम्पसले निर्णय लिन मिल्दैन।’ सेजुवालका अनुसार एकै नामका दुई संगठन दर्ता नहुने भएकाले केन्द्रीय समितिको चिठीलाई आधिकारिक मान्नुपर्छ।
‘जति नै समानान्तर चलाए पनि एउटै संगठन दर्ता हुने हो। त्यसमा आधिकारिक निर्णय लागु गर्नुपर्छ। त्यो भनेको दुजाङजी हो’, सेजुवालको दाबी छ। उनी नेविसंघमा अहिले मात्रै यस्तो समस्या नआएको दाबी गर्छन्। ‘यो विगतबाटै समस्या थियो। स्ववियुमा बाहिर आएको हो। यसमा संस्थापन पक्ष साथीहरूको पनि असन्तुष्टि रहन सक्छ,’ सेजुवाल थप्छन्, ‘यो ठूलो समस्या होइन। समाधान हुन्छ।’
शेखरको असन्तुष्टि विद्यार्थी संगठनमा
पछिल्लो समय पार्टीभित्र शेखर कोइराला असन्तुष्ट देखिँदै आएका छन्। कांग्रेसको बुटवलस्थित लुम्बिनीमा जारी क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षणमा समेत शेखर अनुपस्थित छन्।
पार्टीभित्र वरीयता विवादले कोइरालाले कार्यक्रम बहिष्कार गरेको उनी निकट नेताहरूको दाबी छ। कोइारालाले पार्टीमा सभापतिमा पराजित (दोस्रो मत ल्याएको) लाई वरिष्ठ नेता बनाउनुपर्ने माग राख्दै आएका छन्। कांग्रेसमा विगतमा पराजित भएकालाई वरिष्ठ नेता मनोनीत गर्ने परिपाटी थियो। सभापति शेरबहादुर देउवाले हालसम्म शेखरलाई नियुक्त गरेका छैनन्।
कोइरालाले सरकार र पार्टी नेतृत्वको समेत खुलेर विरोध गरिरहेका छन्। नेताहरूका अनुसार पार्टी नेतृत्वको परिपाटीप्रति असन्तुष्ट बन्दै उनले समानान्तर गतिविधि बढाएका हुन्। कोइरालाले आफू पार्टी नेतृत्व र सरकारविरुद्ध खबरदारी गरिरहेको बताउने गरेका छन्।
पार्टीको संस्थापन पक्षले भने यसलाई सामान्य मान्दै आएको छ। नेविसंघमा भने शेखर पक्षले गत पुसमै समानान्तर गतिविधि बढाएको थियो। शेखर निकट नेता शाहीका अनुसार यो समूहले जिल्ला प्रतिनिधि पनि छुट्टै खटाएको थियो। उसले देशभरका ७७ जिल्लामै आफू पक्षीय नेतालाई प्रतिनिधि पठाएको थियो।
कांग्रेस नेता एवं नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर भने समस्या लामो समय नरहने दाबी गर्छन्। ‘महामन्त्री (विश्वप्रकाश शर्मा)को नेतृत्वमा समिति गठन गरिएको छ। छलफल हुन्छ। समाधान भइहाल्छ’, महरले भने।
नेविसंघको लागि कांग्रेसले खटायो कमान्डर
कांग्रेसले सातै प्रदेशमा स्ववियु जिताउन कमान्डर खटाएको छ। चुनावमा आफू पक्षधर विद्यार्थी जिताउन कांग्रेसले पार्टीका सात नेतालाई ७ प्रदेशमा खटाएको हो। नेविसंघ प्रवक्ता केजुवालका अनुसार कोशीमा सहमहामन्त्री भीष्मराज आङ्देम्बे, मधेशमा सहमहामन्त्री महेन्द्र यादव, बागमतीमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) र गण्डकीमा सहमहामन्त्री जीवन परियारलाई खटाएको हो।
लुम्बिनीमा केन्द्रीय सदस्य चन्द्र भण्डारी, कर्णालीमा केन्द्रीय सदस्य जीवनबहादुर शाही र सुदूरपश्चिममा केन्द्रीय सदस्य एनपी साउदलाई समन्वय गर्ने गरी खटाइएको छ।