लुम्बिनीमा पाँच सयजनाको प्रव्रज्या [तस्बिरहरू]

विनोद परियार २० फागुन २०८१ १६:२९
38
SHARES
लुम्बिनीमा पाँच सयजनाको प्रव्रज्या [तस्बिरहरू]

लुम्बिनी- बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सयजनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रव्रज्या कार्यक्रम सुरु गरिएको छ। मायादेवी मन्दिर परिसरमा पाँच सय जनालाई बौद्ध धर्मगुरुहरुबाट पहेलो चीवर प्रदान गरी श्रामणेर प्रव्रज्यामा सहभागी गराइएको हो। अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाहरूको सहआयोजनामा मंगलबार कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको छ।

संघनायक बोधीसेन महास्थविर, अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष महास्थविर धम्म शोभन, थाई धम्मदूतका फरा उपाझ्याए पभनासहित बौद्ध धर्मगुरुहरूले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरेका छन्। प्रव्रज्या समारोहलाई सम्बोधन गर्दै नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो अवसर भएको बताए। उनले यसमा थाइल्यान्ड सहकार्य गर्न सधैँ तयार रहेको बताए।

प्रव्रज्या समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई छोटो अवधिका लागि भए पनि व्यवहारमा लागू गर्ने कार्यक्रम महत्त्वपूर्ण रहेको बताए। उनले बुद्ध दर्शन समुदाय, व्यक्तिविशेष नभई मानवजीवनका लागि भएकाले यसलाई जीवनमा लागू गर्न खोज्ने कार्यमा सहभागी भएकोमा बधाईसमेत दिए। उपाध्यक्ष डा. लामाले बुद्धदर्शन मानवदर्शन भएको बताउँदै प्रव्रज्यामा रहेकाहरुले जीवनको महत्त्वपूर्ण इतिहासमा रेकर्ड गराउन सफल भएको बताए।

यसैगरी अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु निग्रोधले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई व्यवहारमा लागू गराउनका लागि भिक्षु, लामा, गुरुहरु आवश्यक पर्ने बताउँदै त्यसैका लागि प्रव्रज्या कार्यक्रम राखिएको बताए। उनले बुद्धजन्मभूमि लुम्बिनीमा भएको पाँच सय जनाको प्रव्रज्याले बुद्धको उपदेशलाई विश्वभर फैलाउन समेत सहयोग गर्ने बताए।

अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ। सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशील पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले आगामी चैत ३ गतेसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्नेछ। भिक्षु बन्नका लागि भने २२७ वटा नियम पालना गर्नुपर्ने हुन्छ। फागुन १४ गतेदेखि सुरु भएको प्रव्रज्यामा फागुन १६ गते ललितपुरस्थित अक्षेश्वर महाविहारमा केश मुण्डन गरेका थिए। मंगलबार पहेँलो चीवर लगाउन योग्य भएका श्रामणेरहरुले आफूहरुले पहेलो चिवरण ग्रहण गर्न पाउदा निकै खुसी लागेको बताएका छन्।

चीवर प्राप्त गरेका १२५० जनालाई पञ्चशिल, अष्टशील र विनयपिटकका बारेमा जानकारी दिने र दैनिक ध्यान गराइने आयोजकले जनाएका छन्। लुम्बिनीमा गरिएको अल्पकालीन भिक्षु बनाउने कार्यले बुद्धको शिक्षा र बुद्धधर्मको प्रचारमा सहयोग पुग्ने लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए।

सन् २०११ मा एक हजार जना, २०१५ मा एक हजार ११२ जना, सन् २०१९ मा एक हजार ११९ जना, सन् २०२३ मा ५ र सन् २०२४ मा १२५० जनालाई प्रव्रज्या गराइएको थियो।

प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य श्याम रोक्का, राजेश शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्रचार्य, राजकीय थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोथलगायतको उपस्थिति थियो। प्रव्रज्याअन्तर्गत बिहीबार भिक्षाटन, फागुन २४ गते लुम्बिनी उद्यानमा दीप प्रज्वलन, चैत ३ गते प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ।

 

प्रकाशित: २० फागुन २०८१ १६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast