भाष्कर-तेजश्री प्रतिष्ठानको समन्वयमा सातै प्रदेशका शिक्षकलाई यौन दुर्व्यवहार रोकथामसम्बन्धी प्रशिक्षण

हिमाल प्रेस २० फागुन २०८१ १३:४४
24
SHARES
भाष्कर-तेजश्री प्रतिष्ठानको समन्वयमा सातै प्रदेशका शिक्षकलाई यौन दुर्व्यवहार रोकथामसम्बन्धी प्रशिक्षण

काठमाडौँ- भास्कर-तेजश्री स्मृति प्रतिष्ठानले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको साझेदारीमा नसर्ने रोग र लैंगिक असमानता तथा यौन दुर्व्यवहार रोकथामसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम दिइरहेको छ। प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सातै प्रदेशबाट तीनतीनजना प्रशिक्षक तथा रोस्टर प्रशिक्षक सहभागी छन्। निरोगी एवम् समतामूलक समाज निर्माणका लागि तालिमको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

तालिमका क्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले उपचार गरेर केही बिरामीलाई निको पार्न सकिए पनि रोग लाग्न नदिन सचेतना एवम् सशक्तीकरण अत्यावश्यक रहेको बताए। उनले कुनै पनि कुरा समाजमा पुर्‍याउने मेरुदण्ड भनेको विद्यालय र बालबालिका भएको हुँदा नसर्ने रोग र लैंगिक असमानता तथा यौन दुर्व्यवहार रोकथामसम्बन्धी जनचेतना जगाउन विद्यालय रोजेको र शिक्षकलाई यसको प्रशिक्षक बनाउन तालिम दिएकोमा भाष्कर-तेजश्री प्रतिष्ठानलाई धन्यवाद दिए। काप्रीले सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न प्रशिक्षक शिक्षकहरूलाई निर्देशन समेत दिए।

भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा.डा. रीता थापाले नवयुवा भनेको भोलिको नेतृत्व र समृद्धि भएको हुँदा उनीहरूलाई स्वस्थ राख्न र समतामूलक एवम् दुर्व्यवहारमुक्त समाज निर्माण गर्न पहल गर्नु प्रतिष्ठानको उद्देश्य रहेको बताइन्। थापाले समाजमा दुर्व्यवहार गर्ने आफैँले चिनेका व्यक्ति हुने भएको हुँदा नवयुवालाई सशक्तीकरण गर्नु यसको न्यूनीकरण एवम् रोकथाम भएको बताइन्।

स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. सङ्गीता मिश्रले स्वास्थ्य र शिक्षाको सम्बन्ध अत्यन्त पारस्परिक हुने भएको हुँदा शिक्षाको माध्यमबाट नसर्ने रोग र लैंगिक असमानता तथा यौन दुर्व्यवहार रोकथामसम्बन्धी सचेतना कार्यक्रम गर्नु भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानको महत्त्वपूर्ण कार्य भएको बताइन्। उनले बालिकाको संवेदनशीलता बुझिदिन शिक्षक प्रशिक्षकलाई आग्रह समेत गरिन्। डा. मिश्रले बालिकाले एक अर्कासँग सम्बन्धित नभएका ८/१० थरीका गुनासा गरे भने त्यहाँ यौन दुर्व्यवहार भएको बुझ्नुपर्ने पनि बताइन्। साथै कुनै पनि ठाउँमा महिलाको संख्यात्मक सहभागी ठलो होइन, गुणात्मक सहभागी हुनुपर्ने डा. मिश्रको भनाइ थियो।

चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले ७४ प्रतिशत मान्छे नसर्ने रोगका कारण मरिरहेको बताए। उनले नसर्ने रोगबाट बच्ने उपाय भनेको खनपान र जीवनशैली नै भएको बताए। खानपान जीवनशैलीमा सुधार शारीरिक व्यायाम गर्ने हो भने ५८ प्रतिशत मधुमेह त निकोसमेत हुने अग्रवालको भनाइ थियो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक चन्द्रकान्त भुसालले भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानसँग शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नसर्ने रोग र लैंगिक असमानता तथा यौन दुर्व्यवहार रोकथामसम्बन्धी सचेतना कार्यक्रम विद्यालय लेबलबाट अभिभावकसमक्ष पुर्र्याउन सम्झौता गरिएको बताए। विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा. संभाजी राव पाण्डवले नसर्ने रोगबाट बच्ने र बचाउने भनेको जागरण एवम् सशक्तीकरण रहेको बताए। विद्यालय तहबाट जीवनशैलीप्रति बालबालिकालाई सचेत र शक्तीकरण गराउन सकेमा नसर्ने रोगको मृत्युदर घट्न सक्ने उनको भनाइ थियो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक महेन्द्र पराजुलीले भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानले गर्न खोजेको कामको गम्भीरता बुझेर प्रतिष्ठानसँग केन्द्रले सहकार्य गरेको बताए। सहकार्य समाजका लागि उपयोगी हुनेमा विश्वस्त रहेको पराजुलीको भनाइ थियो।

केन्द्रका निर्देशक गौरीशंकर पाण्डेले स्वास्थ्य र सामाजिक विषयसँग सम्बन्धित तालिम भएको हुँदा स्वास्थ्य शारीरिक र सामाजिक विषयका सातै प्रशिक्षक र रोस्टर प्रशिक्षकलाई तालिममा सहभागी गराइएको जानकारी दिए।

प्रकाशित: २० फागुन २०८१ १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast