
भेषराज कार्की/ रासस
काठमाडौँ- निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण फिल्मप्रति आकर्षण बढेको पाइन्छ। कारण बेलाबखतमा फिल्ममा नयाँ अनुहारको आवश्यकता खड्किने गर्छ। एक दशकअघि देखि नयाँ पुस्ताका रूपमा प्रदीप खड्का, अनमोल केसी, सलोन बस्नेतको आगमन भएको कारण नयाँ पुस्ता चलचित्र भवनसम्म पुगे। उनीहरूले आफ्नो पुस्तालाई मुख्य कलाकारका रुपमा मात्र पाएनन्, आफ्नो कथा, लवज र जीवनशैली पनि पाए।
नेपाली फिल्ममा नयाँ अनुहार ल्याउने श्रेय ‘होस्टेल’ शृङ्खलालाई जान्छ। प्रदर्शन भइसकेको ‘होस्टेल’ र ‘होस्टेल रिट्न्स’ बाट फिल्ममा ‘डेब्यु’ गरेका अभिनेता/अभिनेत्री अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेनलगायत अहिले स्थापित भइसकेका छन्।
यसपटक फिल्म निर्माण, निर्देशनदेखि अभिनय गरेका कलाकार सबै नयाँ छन्। विशेषतः यसलाई ‘नयाँ पुस्ता’को फिल्म भन्न सकिन्छ। ‘होस्टेल ३’ मार्फत अभिनयमा होमिएका पदम तामाङ भारतको सिक्किममा बस्छन्। आफ्नै युट्युब च्यानलमार्फत विभिन्न हास्य व्यङ्ग्यात्मक कार्यक्रम निर्माण गरिरहेका तामाङले ती सब छाडेर अभिनय रोजे। ‘मलाई बेलाबखतमा फिल्ममा अभिनय गर्ने प्रस्ताव आउँथ्यो तर केहीमा कथा र केही पात्रमा आफूलाई पाउन सकेको थिइनँ। साथै, मैले निर्माण गर्ने ‘कन्टेन्ट’लाई युट्युबमा दर्शकले रुचाउनु भएको थियो, मसँग जोडिएका सबैले बल्ल मेहनत फल पाउनुभएको थियो। हाम्रो भर्खरै राम्रो दिन सुरु हुँदै थियो। ती सब छोडेर नेपाल आएर फिल्ममा अभिनय गर्ने आँट आएको थिएन’, अभिनेता तामाङले भने।
‘होस्टेल ३’ बाट प्रस्ताव आएपछि उनका सहकर्मी र परिवारलेसमेत नयाँ यात्रा सुरू गर्न प्रोत्साहन गरे। अवसरलाई प्राथमिकता दिँदै तामाङले नयाँ परिचयको सुरु गर्ने आँट गरे।
यस्तै, कथा नव कलाकार सिम्रन पन्तको पनि छ। उनी पनि यही फिल्मबाट डेब्यु गर्दैछिन्। बेलाबखतमा परिवारसँग फिल्म हेर्न हल पुग्दा उनलाई खुसी मिल्ने रहेछ। आफ्नो इच्छास्वरुप उनले उच्च शिक्षासँगै कलात्मक पाटोलाई बढाउँदै लगिन्। अडिसनमार्फत उनी होस्टेल ३ को मुख्य भूमिकामा छनोट भइन्। ‘मैले अभिनयको प्रशिक्षण पनि लिएकी थिएँ। यसअगाडि केही फिल्ममा काम गर्ने तय भए तापनि त्यो बनेन्। फिल्मको प्रस्ताव आउनु मेरो लागि नयाँ थिएन । होस्टेलको तेस्रो शृङ्खला बन्दैछ भन्ने थाहाँ पाएपछि म खुसी भएँ। मैले अभिनय गर्दैछु भन्ने तय भएको दिनको उत्साहलाई मैले शब्दमा बयान गर्न सक्दिन’, पन्तले भनिन्। उमेरले चालिस पुगेका कलाकारहरुको भीडमा आफ्नै पुस्ता फिल्ममा पाउँदा उनी पन्त दङ्ग परिन्।
फिल्ममा युवाको होस्टेल जीवन मात्र नभई ‘टिन एज’ मा आउने उतारचढावसमेत समावेश गरिएको छ।
तेस्रो शृङ्खला अर्थात् ‘होस्टेल ३’ मा नयाँ पुस्तासँगै जोडिएको विषय भएपछि टिकटकमा कुल ब्वाईका नामले परिचय बनाएका पारसबम ठकुरी ठूलो पर्दामा अभिनय गर्न सहमत भए। ‘स्क्रिप्ट पढेपछि प्रस्ताव गरिएको पात्र आफू झैँ लाग्यो। आफ्नै जस्तो कथा लागेपछि फिल्ममा काम गर्ने सोच बनाएको हुँ। फेरि कुनै न कुनै समयमा आफूलाई भिन्न परिचय दिनु नै थियो। म सानो क्यामेराबाट यहाँसम्म आइपुगेको छु। म परिचय फेर्न त आएको हुँ, तर धरातल नछाडेर। आफूले सपना देखियो र त्यसलाई पूरा गर्न इमान्दारिताका साथ लागियो भने निश्चय सफलता पाइन्छ भने उदाहरण बन्न सकूँ जस्तो लाग्छ’, ठकुरीले भने।
उनलाई फिल्ममा काम गर्न सहज लाग्नुको कारण नै आफ्नै उमेर समूहका कलाकार तथा प्राविधिक थिएँ। सबै नयाँ र उस्तै उमेर समूहले फिल्म बन्यो। सामाजिक सञ्जालमा दर्शकले फिल्मको प्रचार सामग्री रुचाएपनि हलमा आउने हो कि होइनन् भन्ने सबैलाई डर छ। तर, आफूले गरेको कामप्रति सबै ढुक्क छन्।
यही फिल्ममार्फत अभिनय सुरु गर्ने अर्का कलाकार छन्, आशिष घिमिरे । छ वर्षको उमेरदेखि हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’ मा ‘धुन्धुकारी’ को भूमिकामा अभिनय गरिरहेका घिमिरे कलाकार केदार घिमिरेका छोरा हुन्।
बुबा टेलिशृङ्खला र फिल्ममा स्थापित भए पनि अभिनेता घिमिरेले केही सांगीतिक श्रव्यदृश्यमा लेखक र निर्देशन समूहमा रहेर काम गरिसकेका छन्। साथै आरोहण गुरुकुल नाटकघरमा नाट्यकर्मी सुनिल पोखरेलसँग अभिनय पनि सिकेका छन्। उनले नाट्यकर्मी पोखरेलको निर्देशनमा बनेको ‘गच्छामि’ र रामभजन कामतले निर्देशन गरेको ‘काल’ नाटकमा अभिनय गरिसकेका छन्। ‘फिलम बन्दैछ र चाहिएको पात्र म गर्न सक्छु भन्ने लागेपछि ‘अडिसन’ दिएँ। धेरै पटक अडिसन दिएपछि म छनोट भएको हुँ। म मेरो बुबाको नाम र पहिचानभन्दा पनि आफ्नै कामले चिनिन चाहन्थे। त्यसैले आफूले सक्दो मेहनत गरेर फिल्ममा प्रवेश गरेको हुँ’, घिमिरेले भने।
अभिनेता घिमिरेसँगै अन्य तीन कलाकारको पनि पहिलो फिल्म भएकाले नर्भस, उत्साह र डर सबैमा थियो। सबै एकआपसमा घुलमिल भइसकेका थिए। उनीहरुलाई छायांकनको पहिलो डर थियो। आफ्नो कारणले फिल्म निर्माण गर्न तयार प्राविधिकसहितको टिमको काम बिग्रिन्छ भन्ने भान गर्थे। ‘हामी सबैको उस्तै उस्तै मनोभाव रहेछ। छायांकन अगाडि हामीले होस्टेल शृङ्खलामा अभिनय गर्नुभएका पुराना कलाकारलाई भेटेर उहाँहरुको अनुभव सुनेका थियौँ, त्यसले हामीलाई आत्मविश्वास बढाउन मदत ग¥यो’, कलाकार ठकुरीले भने।
सिम्रनले भने ‘होस्टेल’मा अभिनय गर्ने अभिनेता गौरव पहाडी र सलोन बस्नेतले सुनाएको अनुभव आफ्नो भन्दा फरक पाइनन्। नयाँमा सबैको उही मनोविज्ञान हुने थाहा पाएपछि सबै कलाकारलाई थप ऊर्जा प्राप्त भयो। त्यही ऊर्जाले उनीहरूलाई छायांकनमा आफ्नो भूमिकालाई जीवन्त बनाउन मदत ग¥यो।
फिल्ममा अन्य ‘डेब्यु’ कलाकार रिहान गिरी, हिना नगरकोटी र समा पराजुली पनि छन्। सबै कलाकार फिल्मको सार्वजनिक प्रचार सामग्रीमा आत्मविश्वासी देखिएका छन्। दर्शकले पनि उनीहरुलाई जीवन्त अभिनय गरेकाे प्रतिक्रिया दिइरहेको छन्।
दर्शक प्रतिक्रियाकै कारण कलाकार तामाङ अब अभिनयलाई निरन्तरता र युट्युबमा नयाँ ‘कन्टेन्ट’ तयार गर्ने तयारीमा छन्। ‘म आगामी दिनमा हास्य कलाकारकै रुपमा देखिन्छु भन्ने लागेको छ। यसमा पनि मेरो पात्रले गर्ने गतिविधीले दर्शक हाँस्नु हुन्छ। साथै, आफ्ना रोकिएको कामको पनि सुरुवात गर्छु’, तामाङले भने।
व्यावसायिक सुरक्षाका कारण प्रायः निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिन्छ। नयाँ अनुहार र नयाँ पुस्ताकै कथाले फिल्ममा दर्शक तान्न सक्ने भएको र विषयवस्तुसँगै ‘होस्टेल’ शृङ्खलाको ‘लिगेसी’लाई अगाडि बढाउन फिल्म बनाएको निर्देशक सशान कँडेलले बताए। ‘म आफैँ निर्देशकका रुपमा नयाँ हुँ। मैले प्रतिभा भएका र मेहनत गर्नसक्ने नयाँ पुस्तालाई फिल्ममा ल्याएको छु। उहाँहरू सबै आउँदो केही वर्षमा सर्वाधिक खोजिने कलाकारका रुपमा परिचित बन्नुहुनेछ भन्ने मलाई लागेको छ। तर, अहिलेको जस्तै मेहनत र सरल भने रहन सक्नुपर्छ’, निर्देशक कँडेलले भो।
यसअगाडिका ‘होस्टेल’ का दुई शृङ्खलाले नयाँ पुस्तालाई कलाकारितामा स्थापित गराउनुका साथै व्यावसायिक सफलता पनि हासिल गरेको थियो। ‘होस्टेल ३’ को व्यापार आउँदो केही सातामा थाहा हुनेछ। यस फिल्मबाट डेब्यु गरेका नयाँ पुस्ताको चर्चा भने बढिरहेको छ।