बस्तीमा पसेको बाघ ‘डार्ट’ प्रयोग गरी नियन्त्रणमा

विवेक विवश रेग्मी १९ फागुन २०८१ २१:४९
252
SHARES
बस्तीमा पसेको बाघ ‘डार्ट’ प्रयोग गरी नियन्त्रणमा

इटहरी – मधेश प्रदेशको सप्तरीस्थित सप्तरी डिभिजन वन क्षेत्र नजिकमा पर्ने फत्तेपुरको बस्तीमा पसेको बाघलाई ‘डार्ट’ प्रयोग गरी नियन्त्रणमा लिइएको छ।

सप्तरी डिभिजन वन कार्यालयनजिकै रहेको खोरिया टोलको बस्तीमा सोमबार बिहान करिब ७ बजेतिर पसेको बाघलाई साँझ ६ बजेतिर मात्रै नियन्त्रणमा लिइएको हो

बस्तीमा बाघ पसेपछि सो क्षेत्र झण्डै १२ घण्टा तनावग्रस्त बन्यो। बाघको आक्रमणमा परी केही व्यक्तिहरू घाइते भएपछि र पुनः आक्रमण गर्ने शंकाले उक्त क्षेत्र तनावग्रस्त बनेको थियो।

तर, कोशी टप्पु वन्यजन्तु आरक्षवाट पुगेको टोलीले बस्तीमा पसेको बाघलाई डार्ट प्रयोग गरी नियन्त्रणमा लिएको कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले जानकारी दिए।

दिनभर भीडका कारण बाघलाई नियन्त्रणमा लिन तनाव भएपछि साँझको समयमा मात्रै नियन्त्रणमा लिइएको उनले बताए। उनका अनुसार डार्ट प्रयोग गरेर बेहोस बनाइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिने व्यवस्था मिलाइएको छ।

बाघ जंगलबाटै आएकाले फेरि फर्केर जाने वातावरण नहुँदा गोठभित्र लुकेर बसेको थियो। दिनभर बाघ गोठमै पसेपछि घटनास्थलबाट सुरक्षाकर्मी र स्थानीयबासीले होहल्ला गरेपछि स्थानीय भरत विष्टको घरभित्रै बाघ पसेको थियो।

घरभित्रै बाघ पसेपछि स्थानीयले भने थुनेका थिए। त्यसपछि कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको प्राविधिक टोलीसहित सुरक्षाकर्मीले डार्ट प्रयोग गरेर बाघ नियन्त्रणमा लिन सफल भएको हो।

‘दिनभर अत्यधिक भीडका कारण डार्ट हानेर नियन्त्रणमा लिनसमेत समस्या भयो,’ गौतमले भने, ‘भीडमा काम गर्ने अवस्था भएन। तर, साँझमा भने डार्ट प्रयोग गरी बाघलाई नियन्त्रणमा लिइएको छ।’

उनका अनुसार उक्त बाघ रौतहटतिरबाट आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

उक्त बाघ अन्दाजी आठ वर्षजतिको रहेको गौतमको भनाइ छ। सोमबार बिहान उक्त बाघले आक्रमणको प्रयास गर्दा तीनजना घाइते भएका छन्। आक्रमणमा स्थानीय ४३ वर्षीय कृष्ण विष्ट, ५५ वर्षीय गणेश खत्री र रिजना गोसाईँ घाइते भएका हुन्। उनीहरूलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। उनीहरूको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

गौतमका अनुसार अहिले उक्त बाघ पोथी हो। उक्त बाघलाई कोशी टप्पु आरक्ष कार्यालयकै नियन्त्रणमा राखिएको छ।

‘पूर्वाञ्चलमै पहिलोपटक यसरी बाघ नियन्त्रणमा लिइएको हो,’ गौतमले हिमाल प्रेससँग भने, ‘बिहानै उद्धार गर्न खटिएपनि मानिसलाई सम्झाईबुझाई गर्नै समस्या भएकाले साँझ मात्रै नियन्त्रणमा लिइएको हो।’

उक्त बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाइने वा कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमै राख्ने भन्नेबारे मंगलबार निर्णय हुने गौतमले जानकारी दिए।

प्रकाशित: १९ फागुन २०८१ २१:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast