
काठमाडौँ– आगामी शनिबार अर्थात् फागुन २४ गते शनिबार भक्तपुरको सल्लाघारीमा गायक सुशान्त केसीको कन्सर्ट आयोजना गरिएको छ। साढे दुई वर्षपछि पहिलोपटक काठमाडौँ उपत्यकामा ‘सुशान्त केसी लाइभ इन नेपाल’ नामक कार्यक्रम राखिएको हो।
यो कन्सर्टका लागि सुशान्त यतिबेला तयारीमा जुटेका छन्। १५ हजारभन्दा धेरै दर्शक सहभागी गराउने लक्ष्य रहेको कन्सर्टमा अन्य चर्चित व्यक्तिहरूलाई पनि उपस्थित गराउने तयारी गायक केसीको छ।
यसैबीच, काठमाडौँ महानगरका मेयर बालेनलाई पनि कन्सर्टमा उपस्थित हुन गायक केसीले निम्तो दिएका छन्। आफूले बालेनलाई निम्तो दिएको र उनी कन्सर्टमा सहभागी हुने आशा राखेको सुशान्तले जानकारी गराएका छन्।
गायक केसीले बालेनसँगको भेटबारे सामाजिक संजाल फेसबुकबाट जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘मेयर बालेन शाहसँग राम्रो कुराकानी भयो।र्यापदेखि जिम्मेवारीसम्म। वास्तवमै लिजेन्ड। काठमाडौँ कसरी अझ जीवन्त र सुन्दर शहरमा विकसित हुँदैछ भनेर प्रशंसा गर्न पाउँदा सम्मानित महसुस भयो। आशा छ कन्सर्टमा भेट्नेछु।’