
काठमाडौँ- नेपालस्थित जापानी दूतावास र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले सार्क–जापान विशेष कोषको संशोधित सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौतापत्रमा सार्कका महासचिव मोहम्मद गोलाम सरवार र नेपालका लागि जापानी राजदूत माएडा तोरुले हस्ताक्षर गरेका हुन्।
यो सम्झौता सार्क सचिवालय र काठमाडौँस्थित जापानी दूतावासबीच लामो समयदेखि चलिआएको ‘जेनेसीस’ युवा आदानप्रदान कार्यक्रमको एक भाग रहेको दूतावासले जनाएको छ।
‘जेनेसीस जापान’ र सार्क देशहरूबीचको युवा आदानप्रदान कार्यक्रम जापान सरकारद्वारा सार्क सचिवालयको सहयोगमा कोष प्रदान गरी कार्यान्वयन गरिन्छ।
यस कार्यक्रमअन्तर्गत सार्क देशका सहभागीहरूलाई जापान भ्रमण गर्ने र जापानको विकास, आर्थिक समृद्धि, अत्याधुनिक उच्च प्रविधि, सभ्यता, परम्परागत संस्कृत, सामाजिक मूल्यलगायताका विषयमा जानकारी प्रदान गर्ने अवसर दिइन्छ।
यो कार्यक्रमले जापान र सार्क देशका युवाहरूबीच पारस्परिक समझदारी बढाउन, दक्षिण एसियाको विकासमा योगदान दिनुका साथै दक्षिण एसिया र जापानबीचको सम्बन्धलाई थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको दूतावासले विश्वास लिएको छ।