
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जति भ्रम फैलाए पनि कोहीसँग नझुक्ने बताएका छन्। आफ्नोबारे भ्रम फैलाएको भन्दै मेयर शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो बताएका हुन्।
आफू दुश्मन नभएर विकासको साझेदार रहेको बताउँदै उनले विकासमा साझेदारी गर्न आग्रह गरेका छन्।
‘हामीले गरे जति विकासका सबै काम पनि तपाईँकै कार्यकालमा भएका हुन् भनिदिउँला। तर, त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पूर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरी त्यो दाबी गर्ने सक्ने ल्याकत बनाउने जिम्मा तपाईँकै हो,’ शाहले सामाजिक सञ्जालमा लेखेका छन्,‘अनि जति भ्रम फैलाए पनि हामी तपाईँको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ। महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन।’
अहिले देशका लागि सुशासन र भ्रष्टाचारविरूद्धको लगाइँ महत्वपूर्ण रहेको उल्लेख गर्दै शाहले यसका लागि जोसुकैसँग जुध्न तयार रहेको बताएका छन्।
मेयर शाहले भ्यू टावरको नक्सा पासको स्वीकृति मेयरले दिएको भनेर भ्रम फैलाएको उल्लेख गरेका छन्। पीपीपी मोडेलमा तयार भएको भ्यू टावरको नक्सा पास गर्ने अधिकार मेयरसँग नभइ कार्यपालिकासँग भएको उनले प्रस्ट पारेका छन्।
त्यस्तै कार्यकारी प्रमुख नटिक्नेबारे पनि भ्रम फैलाउन खोजिएको उनको भनाइ छ। अहिलेसम्म चार जना कार्यकारी प्रमुख आएकोमा दुई जनालाई सरकारले फिर्ता बोलाएको र दुई जना भ्रष्टाचारमा संलग्न भएकाले हटाइएको मेयर शाहले बताएका छन्।